कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

विद्यार्थी भर्ना रोकेर मेडिकल कलेज संचालकहरुले बुझाए प्रधानमन्त्रीलाई साँचो

सुदीप कैनी

काठमाडौँ — निजी मेडिकल कलेज संचालकहरुले सुरु हुन लागेको शैक्षिक सत्रमा विद्यार्थी भर्ना नलिने चेतावनी दिएका छन् । प्रवेश परीक्षा सकिएर विद्यार्थी भर्ना हुने चरणमा रहेका बेला कलेज संचालकहरुले एमबीबीएस र बीडीएसमा विद्यार्थी भर्ना नलिने अडान लिएका हुन् ।

विद्यार्थी भर्ना रोकेर मेडिकल कलेज संचालकहरुले बुझाए प्रधानमन्त्रीलाई साँचो

यथास्थितिमा शैक्षिक सत्र २०७६/०७७ का लागि विद्यार्थी भर्ना नलिने निजी कलेजहरुको छाता संगठन एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालको भनाई छ । सरकारले एकपक्षिय ढंगले मेडिकल कजेलहरुलाई पेल्न थालेकाले बन्द गराउने निर्णयमा पुगेको एसोसिएसनका अध्यक्ष बिसरुद्दीन अन्सारीले जनाए ।

‘सरकार सरोकारवालाहरुसँग छलफल नगरी अघि बढ्न थाल्यो, शुल्क र सिट संख्या पनि घटाउँदै जान थालियो, अब कलेज चलाउन सक्दैनौं,’ उनले भने ।

प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीलाई कलेजहरुको साँचो बुझाएको अन्सारीले जनाए । उनले भने, ‘सरकार आफैंले कलेजहरु चलाओस्, नेपाली विद्यार्थीलाई निःशुल्क पढाओस्, बिरामीको उपचार पनि निःशुल्क गरोस्, हामी यस्तो गर्न सक्दैनौं ।’ शिक्षा र गृहमन्त्रालयले कलेजहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउने निर्णय गरे लगत्तै संचालकहरुले विद्यार्थी भर्ना नलिने जनाएका हुन् ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार चिकित्सा शिक्षा आयोगले गठन भइसक्दा पनि शुल्क, सिट निर्धारण, साझा प्रवेश परीक्षा, विदेशी भर्नाका सम्बधमा ठोस निर्णय हुन सकेकोमा एसोसिएसनको असन्तुष्टि छ ।

ज्ञापनपत्रसहित प्रमलाई भेटेर उनीहरुले असन्तुष्ट राखेका हुन् । यथास्थितिमा विद्यार्थी भर्ना गर्न असमर्थ रहेको ज्ञापनपत्रमा उल्लेख छ । सरकार मेडिकल कलेजहरुलाई धरासायी बनाउन लागि परेको एसोसिएसनको आरोप छ । विद्यार्थीका भर्नाका लागि त्रिभुवन र काठमाडौं विश्वविद्यालयले प्रवेश परीक्षा संचालन गरेर नतिजा सार्वजनिक गरिसकेको छन् ।

बढी शुल्कका विषयमा आन्दोलित चिकित्सा शिक्षाका विद्यार्थीले पनि पुरानो शुल्क फिर्ता र नयाँ शुल्क निर्धारण नभएसम्म भर्ना प्रक्रिया अघि नबढाउन चेतावनी दिदैं आएका छन् ।


प्रकाशित : आश्विन ८, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?