३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

माथिल्लो डोल्पावासीको सडक सपना : नाका खुला, दुनैसम्म सडक 

अब्दुल्लाह मियाँ

(धो तराप, माथिल्लो डोल्पा) — डोल्पा सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिएको एक वर्ष मात्रै भएको छ । माथिल्लो डोल्पावासीका लागि सडक सपनै छ । तिब्बतका मरिम ला र क्याटो नाका उनीहरुका ‘लाइफलाइन’ हुन् । यी नाका औपचारिक रुपमै खोल्नुपर्ने र उत्तर–दक्षिण सडक सञ्जाल जोड्नुपर्ने उनीहरुको माग छ ।

माथिल्लो डोल्पावासीको सडक सपना : नाका खुला, दुनैसम्म सडक 

मुलुककै सबभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती– धो तराप । चार हजार मिटरभन्दा माथिको सुन्दर उपत्यका तर विकट । विकटताकै कारण त्यहाँका बासिन्दा देश–दुनियाँमा भइरहेका चामत्कारिक विकासबाट बेखबर छन् । विकासको मुख्य आधार मानिने सडक अझै उनीहरूको सपनै छ । तैपनि करिब चार हजारको संख्यामा रहेको डोल्पो समुदाय शताब्दीऔंदेखि हाँसीखुसी आफ्नै संसारमा रमाइरहेको छ ।


याक, चौंरी, भेडा, घोडापालन तथा यार्चागुन्बु बिक्री गरी आवश्यक खाद्यान्नका लागि तिब्बती नाका मरिम ला र क्याटो ओहोरदोहोर गर्नु उनीहरूको मुख्य दैनिकी हो ।


दुनैबाट तीन दिन पैदलयात्रापछि पुगिने यो उच्च उपत्यकामा पहिलोपटक भदौ अन्तिम साता आयोजना गरिएको ‘डोल्पो महोत्सव’ उनीहरूका लागि गुनासो सुनाउने गतिलो माध्यम बन्यो । विकास–निर्माणका चर्का बहस भए । उनीहरूले मन फुकाएर संघीय र प्रदेश सरकारसमक्ष आफ्ना माग अघि सारे । सडकलगायत पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन विकास, जडीबुटी व्यवस्थापन, व्यापार र सीमा खुला गर्न संघीय सरकारको ध्यानाकर्षण गराए । महोत्सव उद्घाटनमा रैथाने पहिरनमा सजिएर माथिल्लो डोल्पाका दर्जन गाउँका सयौं बासिन्दा सहभागी थिए । तीमध्ये सदरमुकाम दुनैसमेत नदेखेका थुप्रै थिए ।


‘मरिम ला र क्याटो नाका सञ्चालनमा ल्याउन सकियो भने हाम्रो लाइफलाइन बन्नेछ,’ माथिल्लो डोल्पाअन्तर्गत पर्ने डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसमक्ष माग राखे, ‘तिन्जेमा सुक्खा बन्दरगाह आवश्यक छ ।’ स्थानीयले डोल्पो क्षेत्रको पर्यटन गुरुयोजना, प्राचीन गुम्बाहरूको मर्मतसम्भार, विशेष पशुपालन क्षेत्र, जडीबुटीको दिगो संकलन, १५ शय्याको अस्पतालसमेत माग गरे ।


विकास निर्माण, बस्ती व्यवस्थापन, आयआर्जनका मुद्दा बढी समेटिएको ज्ञापनपत्र बुझेपछि छुबा (हिमाली पोसाक) मा सजिएका मन्त्री पोखरेल पनि विकास निर्माणकै विषयमा मात्र केन्द्रित भए । ‘मरिम ला नाका खोलिन्छ, मरिम–तिन्जे–धो–दुनै सडक पनि बनाइन्छ,’ पोखरेलले माथिल्लो डोल्पालीलाई आश्वस्त पारे, ‘यहाँ (धो तरापमा) हिमाली सहर बनाइनेछ र पर्यटन प्रवर्द्धनका लागि पर्याप्त पूर्वाधार विकास गरिनेछ ।’


विशाल हिमशृंखलाहरूले घेरिएको धो तराप विश्वकै पाँचौं उच्च भागको बस्ती हो । उपत्यकामा हजारौं वर्ष पुराना गुम्बा छन् । शे, साम्लिङ बोन, याङ्जेर, झ्याम्बा गुम्बा यस क्षेत्रका पुराना र प्रख्यात गुम्बा हुन् । अलग्गै भेषभूषा, भाषा, कला, संस्कृति, जीवनशैली र डोल्पो जाति मुख्य आकर्षण हुन् । तिब्बती संस्कारबाट अघि बढिरहेको यो क्षेत्र पर्यटकको मुख्य आकर्षण हो ।


क्रिस्टल माउन्टेन आधारभूत विद्यालयमा महोत्सव चलिरहँदा कार्यक्रमस्थलभन्दा करिब दुई किलोमिटर परको ताक्सीमा दुइटा डोजर बाटो खन्न व्यस्त थिए । रसुवागढीबाट केरुङ नाका हुँदै ल्याइएका ती डोजर मरिम ला नाकाबाट माथिल्लो डोल्पा पुर्‍याइएको हो । स्थानीयको मुख्य चाहना सडक र नाका खुलाउनुपर्ने बुझेपछि मन्त्री पोखरेलले तिब्बतको सीमाबाट सदरमुकाम दुनैसम्म संघीय सरकारले सडक बनाउने प्रतिबद्धता जनाए ।


तीनवटा गाउँपालिका रहेको माथिल्लो डोल्पा क्षेत्रमा संघीय सरकारबाट सबैभन्दा माथिल्लो तहको राजनीतिक नेतृत्व उपस्थित भएको यो पहिलोपटक थियो । यसअघि स्थानीयले आफ्नै क्षेत्रबाट दोस्रो पटक चुनाव जितेर पर्यटन राज्यमन्त्री बनेका धनबहादुर बुढाको मात्र अनुहार देखेका थिए ।


डोल्पो बुद्ध गाउँपालिकाको सीमाबाट तिब्बतको मरिम ला जोडिन्छ भने शे–फोक्सुन्डो गाउँपालिकाको साल्दाङसँग तिब्बतको क्याटो जोडिन्छ । यी दुई नाका माथिल्लो डोल्पाका करिब चार हजार जनसंख्याको ‘लाइफलाइन’ हुन् । अहिले यहाँका स्थानीय मरिम लासम्मै मोटरसाइकलमा आउजाउ गर्न सक्ने भएका छन् । वर्षमा एकपटक अगस्ट महिनामा १५ दिन यी दुवै स्थानमा बजार लाग्छ ।


केरुङ नाकाबाट पुर्‍याइएको ट्र्याक्टर । तस्बिर: अब्दुल्लाह/कान्तिपुर

त्यतिबेला माथिल्लो डोल्पालीले आवश्यक सामान भित्र्याउने गरेका छन् । पछिल्ला केही वर्षयता दुवै स्थानबाट माथिल्लो डोल्पालीले यार्चागुन्बु बेचेर घरका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडासहित मोटरसाइकल किन्ने गरेका छन् । यातायातका लागि घोडाभन्दा मोटरसाइकल सस्तो र सहज हुने उनीहरू बताउँछन् । उत्तरी नाका खुला गरिए र सुक्खा बन्दरगाह बनाइयो भने आफूहरूलाई थप लाभ पुग्ने स्थानीय बासिन्दाको बुझाइ छ । त्यसैले मन्त्री पोखरेल, नेकपा कर्णालीका इन्चार्ज जनार्दन शर्मालगायत नेता र प्रदेशका मन्त्रीसमक्ष पहिलोपटक माग तेर्स्याए । ‘धो तरापमा एकीकृत बस्ती, विमानस्थल र दुनैसम्म सडकमार्गले जोडियोस्,’ डोल्पो बुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ र युवा नेता ग्याल्पो थापा भोटेले माग पेस गरे, ‘विद्युत् प्रसारण लाइन नजोडिएकाले सोलार ग्रिड स्थापना होस् ।’


शे–फोक्सुन्डो गाउँपालिकाको साल्दाङबाट धो–छार्का हुँदै मुस्ताङको जोमसोमसम्म सडक जोड्नुपर्ने माग डोल्पालीको छ । अहिले पनि स्थानीयहरू कारोबारका लागि छार्का हुँदै मुस्ताङको कागबेनी आउजाउ गर्छन् । माथिल्लो डोल्पालीलाई सदरमुकाम दुनै झर्नभन्दा मुस्ताङ जान सहज छ । समय पनि उत्तिकै लाग्छ । उनीहरूले खाद्यान्न र पेट्रोलियम पदार्थलगायतका सामान कागबेनीबाट भित्र्याउँछन् । सडक नभएकाले खच्चड, घोडाको भर पर्नुपरेको छ ।

डोल्पाका सांसदसमेत रहेका पर्यटन राज्यमन्त्री धनबहादुर बुढा माथिल्लो डोल्पालाई सडकमार्गसँग जोड्न सांसद भएदेखि लागिपरेका छन् । ‘मेरो एकमात्र सपना भनेको उत्तरी नाका खोल्ने र सडक दुनैसम्म पुर्‍याउने हो,’ स्थानीयलाई रैथाने लबजमा उनी सुनाउँदै थिए, ‘तिन्जेबाट धो–दुनै हुँदै जाजरकोटसम्म सडक जोड्न सकियो भने आमूल परिवर्तन आउनेछ ।’


नाकाबाट दुनैसम्मको लम्बाइ ११० किलोमिटर छ । दुनैसम्म भने नेपालगन्जबाट सुर्खेत–जाजरकोट–रुकुम पश्चिम हुँदै गत वर्ष सडक जोडिएको छ । नेपाली सेनाले सडकको ट्र्याक खोलेको हो । राज्यमन्त्री बुढाकै पहलमा नाकाबाट दुनैसम्म सडक विस्तारका लागि आठ महिनाअघि भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र सडक विभागका अधिकारीले स्थलगत निरीक्षणसमेत गरेका थिए । ‘अस्थायी नाका खोल्दा स्थानीयले दु:ख पाउँछन्,’ बुढाले भने, ‘भन्सारलगायत अन्य सुरक्षा व्यवस्था भएपछि मात्र खोलौं भन्ने चिनियाँ पक्षको पनि भनाइ छ ।’


भौतिक पूर्वाधार विस्तार गर्ने कार्यले केही समययता तीव्रता पाएको छ । दुनैसँग जोड्ने सडकको विस्तार पनि सुरु भइसकेको छ । गाउँपालिकाहरूले पनि सडक निर्माणलाई जोड दिएका छन् । नेकपा डोल्पा इन्चार्ज हंसबहादुर शाहीका अनुसार माथिल्लो डोल्पामा पर्ने तीनवटै गाउँपालिकाले सडक विस्तारलाई मुख्य जोड दिएका छन् । ‘भएकै पदमार्गलाई स्तरोन्नति गर्न सकियो भने पनि हिमाली क्षेत्रमा आउजाउका लागि सहज हुन्छ’ शाही भन्दै थिए ।

दुइटै डोजर नाकाको तिन्जेबाट सडक खन्दै डोल्पो बुद्ध गाउँपालिका–३ को ताक्सीसम्म आइपुगेका छन् । सडक बनाइएपछि स्थानीयलाई तल–माथि आउजाउ गर्न सहज भएको छ । ताक्सीबाट धो, कलाङ, सिस्योल हुँदै सडक दुनैतिर झर्नेछ । डोल्पो बुद्ध गाउँपालिकाले पनि सिस्योलदेखि दक्षिणतिरको अन्तिम सीमा टोलटोलसम्म पदमार्ग निर्माण गरेको छ । यही पदमार्ग भएर पर्यटक धो तराप, नुमाला, बगाला हुँदै फोक्सुन्डो तालसम्मको यात्रा गर्छन् । शे–फोक्सुन्डो निकुञ्जसहित, डोल्पो जातिको पहिचान, संस्कृति, परम्परा, भेषभूषा, कला मुख्य आकर्षण हुन् ।


कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संघीय सरकारले डोल्पाको मरिम ला नाका खोल्न ढिलो गरेको गुनासो गरे । ‘नाका खोल्दा सँगै उत्तर–दक्षिण सडक सञ्जाल जोड्न सकिए समग्र डोल्पाको विकास हुनेछ,’ उनले भने, ‘यस क्षेत्रमा पर्यटन प्रवर्द्धनसँगै स्थानीयको जीवनस्तर उकास्न भौतिक पूर्वाधारको खाँचो छ ।’ मूल्यवान यार्चागुन्बुको दिगो उपयोग र त्यसको प्रशोधन गर्न सकिए समग्र प्रदेशको आर्थिक स्रोतको मुख्य आधार बन्न सक्ने भएकाले जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि पहलकदमी भइरहेको उनले बताए ।


केही वर्षयता डोल्पालाई नजिकबाट नियालिरहेका नेकपाका कर्णाली प्रदेश इन्चार्ज पूर्वमन्त्री जनार्दन शर्माले विगतका राजनीतिक नेतृत्वले ध्यान नदिँदा विकास पछि धकेलिएको टिप्पणी गरे । ‘अब आश्वासनले मात्र होइन काम गरेर देखाउनुपर्ने बेला भएको छ,’ उनले भने, ‘समग्र हिमाली क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकियो भने जीवनस्तर उकासिनेछ ।’ प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुण्यप्रसाद रेग्मीले कर्णालीका तीनवटा नाकालाई मुख्य प्राथमिकतामा राखेर पहिलो पञ्चवर्षीय योजना तयार पारिएको जानकारी दिए । ‘दुनै–धो हुँदै मरिम ला, सुर्खेत–हुम्ला हुँदै हिल्सा र दैलेख–कालीकोट–जुम्ला–मुगु हुँदै नाक्चे गरी तीनवटा नाकाबाट उत्तर–दक्षिण करिडोर जोड्ने योजना छ,’ रेग्मीले भने, ‘पूर्वाधारमा विशेष ध्यान दिएका छौं, त्यसमा पनि यातायातलाई विशेष प्राथमिकतामा राखेर योजना बनाइएको छ ।’


कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला मात्र राष्ट्रिय सडक सञ्जालसँग जोड्न बाँकी छ । अरू जिल्लामा कच्ची सडकले भए पनि छोएको छ । सबैतिर स्थानीय तहहरूले सडकलाई विशेष प्राथमिकता दिएका छन् ।

डोल्पाका पर्यटन व्यवसायी जितेन्द्र झाँक्री यातायात सहज हुन सके कर्णाली प्रदेशका सबैजसो हिमाली भागमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्छन् ।


‘त्यसैले तीनवटै सरकारले यातायात र भौतिक पूर्वाधारलाई फोकस गर्नुपर्ने देखिन्छ,’ उनले भने । माथिल्लो डोल्पाको यात्राका लागि जुफाल विमानस्थलको भर पर्नुपर्ने अवस्था छ । दुनैसँग सडक जोडिए पनि पक्की पुल बनाउन सकिएको छैन । १० वटा झोलुंगे पुल पार गरी गाडी बदलेर मात्र दुनैसम्म पुग्न सकिन्छ । जुफालसम्मको सीमित उडानका कारण पर्याप्त पर्यटक भित्रिन नसकेको स्थानीयको बुझाइ छ ।


‘यातायातको असहजताका कारण माथिल्लो डोल्पाको सौन्दर्य बिकाउन सकिएको छैन,’ डोल्पो बुद्ध गाउँपालिका १ का वडाध्यक्ष ग्याल्बो थापा भोटेले भने । ‘सन् २०२० को भ्रमण वर्षमा केही बढी पर्यटक भित्र्याउन सकिन्छ कि भनेर हामीले महोत्सवमार्फत पहल गरेका हौं,’ उनले भने ।

प्रकाशित : आश्विन ८, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?