कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विकराल बन्दै छाडा चौपाया

आजित भएका नगर प्रमुखहरु भन्न थालेका छन्– ‘अब हामी सक्दैनौं’
निर्मला खडायत

(धनगढी) — एक हात कम्मरमा, अर्को हातमा लौरी । नातिनातिना खेलाएर आराम गर्नुपर्ने उमेरकी मनुरा कार्की हरेक साँझ खेतको आलीमा भेटिन्छिन् । पहेंलपुर धान पाक्ने सुरसारमा छ । ‘छाडा गाईगोरुले धान खाएर सखाप पारिसक्यो । 

विकराल बन्दै छाडा चौपाया

फुलेर बाली लाग्ने बेला भइसक्यो तर राम्ररी उम्रनै पाएन,’ ७० वर्षीया मनुराले भनिन्, ‘गहुँ बाली यिनैले स्वाहा पार्छन्, खेतीपाती भित्र्याउनै समस्या भयो ।’ मनुराको घर कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ गुलरिया चोकछेउ राजमार्ग किनारमा छ ।


पश्चिम तराईका कैलाली र कञ्चनपुरमा छाडा चौपायाले खेती सखाप पार्ने समस्या २०७३ यता विकराल बन्दै छ । चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म सडक किनारका बस्ती पीडित छन् । राजमार्ग आसपासका स्थानीय तहले छाडा चौपाया व्यवस्थापनका नाममा गत वर्ष मात्रै करिब २ करोड ५३ लाख खर्च गरे । यस वर्ष पनि उत्तिकै रकम छुट्याइएको छ । तर समस्या जहाँको त्यहीँ छ । ‘त्यति ठूलो रकम खर्चिए पनि उपलब्धि शून्य भयो, गाईगोरु हट्नुको सट्टा बढे,’ छाडा चौपाया व्यवस्थापनकै नाराले जितेका भीमदत्त नगर प्रमुख सुरेन्द्र विष्टले भने, ‘हामी त अब सक्दैनौं । प्रदेश सरकारलाई गुहार्दै छौं । स्थानीय बासिन्दाले सहयोग नगरेकाले लाखौं रकम खेर गयो ।’ स्थानीय तहले मात्रै यो समस्या समाधान गर्न सक्ने अवस्था नरहेको धनगढी उपमहानगर प्रमुख नृपबहादुर वडले बताए । ‘प्रदेश सरकारको समन्वयमा कैलाली कञ्चनपुरका सबै स्थानीय तहले साझा योजना बनाएर अघि बढ्नुपर्ने देखियो,’ उनले भने ।


महिलालाई झनै सास्ती

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ की सानु बोहरा मध्यरातमा पनि टर्च बालेर खेततिर दौडनुपरेको बताउँछिन् । ‘जनप्रतिनिधि आएको २ वर्ष बितिसक्दा पनि राति आनन्दले निदाउन पाएनौं,’ उनले भनिन् । कृष्णपुर–५ का लालबहादुर खड्काले अहिले खेतमै छाप्रा हाली गाउँलेहरू मिलेर बाली रुँघ्ने गरेको बताए । कैलालीको बर्दगोरीया गाउँपालिका–१ की रामकला जोशीलाई मकै बाली छाडा चौपायाले स्वाहा पारेपछि खपिनसक्नु पीडा छ । ‘घरको काम छाडेर दिनभर हेरालु बसे पनि राति कुन बेला आएर खाइदिन्छन्,’ उनले भनिन्, ‘अब के गरी बालबच्चा पाल्नु ?’ रामकला अहिले छाडा चौपाया व्यवस्थापनकै आश्वासन दिएर भोग मागेका जनप्रतिनिधिले वास्ता नगरेको भन्दै आक्रोशित छिन् । कतिपय किसानले छाडा चौपायाकै कारण खेतीपाती गर्नै छाडेका छन् । ‘कसैले आएर यहाँको सबैभन्दा ठूलो समस्या के हो भनेर सोधे सबैको एउटै जवाफ हुनेछ, छाडा पशु चौपाया,’ कैलालीको गौरीगंगा नगरपालिका ३ का पञ्चराम चौधरीले भने, ‘यहाँका अधिकांश किसान खेतीबाटै आफ्नो वर्ष दिनको खर्च चलाउँछौं तर ३ वर्षयता छाक टार्नै मुस्किल हुन थाल्यो ।’


कोहलपुरदेखि सुरु हुन्छ छाडा चौपायाको सास्ती । मुख्य बजार क्षेत्र बाँकेको नेपालगन्ज, कैलालीको टीकापुर, लम्की, बौनिया, चौमाला, अत्तरिया, कञ्चनपुरका कृष्णपुर, वेदकोट हुँदै पश्चिम तराईको गड्डाचौकीसम्म यही समस्या छ । कैलाली र कञ्चनपुरमा मात्र ७ हजारको हाराहारी छाडा चौपाया छन् ।


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले छाडा चौपाया व्यवस्थापन जिम्मा स्थानीय तहलाई तोकेको छ । यही कानुनी प्रावधान टेकेर स्थानीय तहले व्यवस्थापनको पहल पनि सुरु गरे । लाखौं खर्चेर गौशाला बनाए । त्यहाँ राखिएका गाईगोरु खान नपाएर चिसोमा बिरामी भई धमाधम मर्न थाले । छाडा पशुहरूलाई पहाडी जिल्ला पठाउने अभियान सुरु गरे । त्यो पनि सफल भएन । कञ्चनपुरको बेतकोट नगरपालिकाले पहाड पठाउने नाममा गोदावरीसम्म पुर्‍याएका गाईगोरु अलपत्र परी बाटोमै मरे । गौरीगंगा नगरपालिकाले गौशाला बनाएर राखेका छाडा चौपाया

पनि खान नपाएरै मरे ।


कसले कति खर्चिए ?

भीमदत्त नगरले छाडा गाईगोरु व्यवस्थापन गर्न गत वर्ष १ करोड विनियोजन गरेको थियो । त्यसमध्ये ६२ लाख खर्च पनि भयो । यो रकमबाट गौशाला निर्माण, छाडा चौपाया पहाडी जिल्ला पठाउन, चौपायाका कानमा ट्याग लगाउन, पालिकामा भएका चौपायाको लगत लिन खर्चिइएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।


बेतकोट नगरपालिकाले पनि गत वर्ष गौशाला निर्माण, हेरालुलाई पारिश्रमिक र ५ सय गाईगोरु पहाडी जिल्लामा पठाउनमा ५४ लाख खर्च गरेको छ । चालु वर्ष १५ लाख छुट्याइएको छ । कृष्णपुर नगरले गत वर्ष जनचेतनाका कार्यक्रम र सडकमा बिरामी भएका चौपायाको औषधि खर्च, अवलोकन खर्च भनेर २० लाख छुट्यायो । यस वर्ष ३० लाख रुपैयाँ विनियोजन गरिएको नगरले जनाएको छ ।


धनगढी उपमहानगर गत वर्ष एउटा गौशाला निर्माण र ८ हेरालुको पारिश्रमिकमा २५ लाख ३९ हजार खर्चियो । यसपालि पनि १० लाख विनियोजन गरेको छ । गोदावरी नगरपालिकाले गत आर्थिक वर्षमा ६ वटा गौशाला निर्माण र १० जना हेरालुको पारिश्रमिकमा १५ लाख खर्च गरेको छ । कैलालीकै बर्दगोरीया गाउँपालिकाले गत आर्थिक वर्ष एउटा गौशाला निर्माण र ५ जना हेरालाको तलबमा २० लाख खर्च गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख बजेट छुट्याएको जनाएको छ । छाडा गाईगोरु व्यवस्थापनका लागि टीकापुर नगरपालिकाले २ वटा गौशाला निर्माण, ४ जना हेरालाको तलबमा गत वर्ष २० लाख खर्च गरेको छ । यस वर्ष १५ लाख बजेट छुट्याइएको नगरपालिकाले जनाएको छ ।


गौरीगंगा नगरपालिकाले पनि बर्सेनि रकम खर्च गर्दै आएको छ । लम्कीचुहा नगरपालिकाले गत आर्थिक वर्ष एउटा गौशाला निर्माण र ३ जना हेरालाको पारि श्रमिकमा साढे ५ लाख खर्च गरेको छ । यस वर्ष ३ लाख रुपैयाँ छुट्याएको छ । घोडाघोडी नगरपालिकाले ५ वटा गौशाला निर्माण र १० जना हेरालाका लागि गत वर्ष २९ लाख ८७ हजार खर्च गरेको छ । चालु आर्थिक वर्षमा १० लाख बजेट छुट्याएको नगरपालिकाले जनाएको छ ।


पुरानो समस्या होइन

पछिल्लो समय स्थानीय सरकारहरूलाई प्रमुख चुनौती बनिरहेका छाडा पशु चौपाया पुरानो समस्या होइनन् । कञ्चनपुर बेदकोट नगरपालिकाका दानबहादुर डगौंरा भन्छन्, ‘केही वर्षअघिसम्म कैलाली र कञ्चनपुरबाट अशक्त गाईगोरु सीमावर्ती भारतीय सहरमा लैजाने गरिएको थियो, भारतको उत्तरप्रदेशमा भारतीय जनता पार्टीको सरकार बनेपछि त्यहाँ गाईगोरु ओसारपसारमा रोक लगाइयो ।’


भारतीय व्यापारी गाउँघरमै पुगेर गाईगोरु किन्ने गरेका थिए । उनीहरूले लैजान छाडेपछि बुढा र अशक्त गाईगोरु सडकमा छोडिन थाल्यो । ‘उहिले जताततै जंगलमा निर्बाध गाईगोरु चराउने सुविधा थियो । बिस्तारै वनजंगल मासिँदै गयो । भएका जंगल पनि सामुदायिक वनमा परिणत भए,’ कञ्चनपुर लालझाडी–५ की पार्वती देउवाले भनिन्, ‘ती वनबाट घाँससमेत काट्न नपाउने अवस्था आएपछि बिस्तारै बस्तुभाउ पाल्न छोडेका हौं ।’


वैदेशिक रोजगारीले गर्दा घरमा बस्तुभाउ स्याहार्ने मान्छे नभएपछि भएका गाईगोरु छोड्न थालिएको कञ्चनपुरका राजेन्द्र विष्टले बताए । ‘पहिले एउटा गाई नहुने घरलाई अशुद्ध मानिन्थ्यो । अहिले मानिसहरूले धार्मिक कुरामा वास्ता गर्न छोडेपछि गाई पाल्न अनिवार्य पनि ठानेनन्’ उनले भने ।


समस्या नभई आम्दानीको स्रोत

विज्ञहरू भने छाडा चौपाया आम्दानीको गतिलो स्रोत बन्न सक्ने दाबी गर्छन् । ‘छाडा चौपाया अहिले ठूलो समस्या देखिइरहेको छ तर यसलाई उचित व्यवस्थापन गर्न सके आम्दानी बन्न सक्छ,’ सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पूर्वउपसचिव यज्ञराज जोशीले भने । उनले गाईको पिसाब प्रशोधन गरेर औषधिका रूपमा बेच्न सकिने बताए । छाडा चौपाया संकलन गरी प्रदेशस्तरमै बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरेर उद्योगकै रूपमा विकास गर्न सकिने गाई व्यवस्थापनसम्बन्धी जानकार प्रमोद पाठक बताउँछन् । प्रत्येक स्थानीय तहले समस्या समाधान गर्नुको साटो झारा टार्ने काम मात्रै भएको उनको भनाइ छ ।


‘फार्मसँगै दूधका परिकार र मरेका गाईका हड्डी तथा छालाजन्य पदार्थ प्रशोधन गरी आम्दानीको स्रोत बढाउन सकिन्छ,’ धनगढीका अगुवा व्यवसायी गोपाल हमालले भने ।



बढ्दो सडक दुर्घटना

छाडा चौपायाकै कारण साउनयता दुईवटा दुर्घटना भएका छन् । त्यस क्रममा एक जनाको मृत्यु र ३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख सरोजकुमार ठकुराठीले बताए । गत वर्ष पनि छाडा चौपायाका कारण दुर्घटना हुँदा १ जनाको मृत्यु भएको थियो ।


‘छाडा चौपायाले भएको दुर्घटनामा पनि तथ्यांक राख्दा तीव्र गति कारण देखाइन्छ,’ उनले भने, ‘ट्राफिक प्रहरीका लागि अहिले सबैभन्दा ठूलो समस्या नै छाडा चौपाया भएको छ ।’ मुख्य सडक तथा बजार क्षेत्रमा छाडा चौपाया मुक्त गर्न स्थानीय तहले सहयोग गर्नुपर्ने उनले बताए । कञ्चनपुरमा पनि छाडा चौपायाका कारण गत वर्ष एउटा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा २ जना घाइते भएको कञ्चनपुर ट्राफिक प्रहरी प्रमुख प्रकाश केसीले बताए ।


स्थानीय तहले चौपाया व्यवस्थापन गरिदिए दुर्घटना कम हुनका साथै ट्राफिक जामको समस्यासमेत हट्ने उनको भनाइ छ । ‘रातिको समयमा गाई गोरु सडकमा बस्दा सवारी चालकले नदेख्ने र ठोक्किएर दुर्घटना हुने गर्छ,’ उनले भने, ‘सामान्य दुर्घटनाको तथ्यांक हुँदैन हामीसँग ।’ सबैभन्दा बढी दुर्घटना अत्तरिया, लालपुर, चौमाला, मसुरिया, पहलमानपुर, सुखड, बौनिया तथा लम्कीमा हुने गरेका छन् ।

प्रकाशित : आश्विन ८, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?