पश्चिमोत्तरका सीमा रक्षक

वर्षमा दुईचोटि भारतीय भूमि हुँदै सकसपूर्ण बसाइँ सराइ गर्नुपरे पनि छाङरु र तिंकरी गाउँका शौका समुदायले शताब्दीयौं पुरानो चलन छाडेका छैनन् 
मनोज बडू

(छाङरु, दार्चुला) — छाङरु गाउँमा जाडो सुरु भइसक्यो । प्रकाश बोहरा परिवारसहित कुञ्जा सर्ने सुरसार गर्दैछन् । कुञ्जा सर्नु अर्थात् बेंसी झर्नु त्यति सहज भने छैन । बस्तुभाउसमेत डोर्‍याउँदै भारतीय भूभाग भएर ५ दिनको पैदल यात्रा गर्नुपर्छ । कात्तिकमा बेंसी खलंगा झरेपछि उनी वैशाखमा फेरि थातथलो फर्कन्छन् । ‘गाउँ सधैंलाई छाड्न मन मान्दैन, हिउँका कारण यहीँ (छाङरुमा) बसिरहन पनि सकिँदैन,’ उनले भने । 

पश्चिमोत्तरका सीमा रक्षक

नेपाल, चीन र भारत त्रिदेशीय सिमानामा पर्ने व्यास गाउँपालिका १, छाङरुमा बोहराको सहित १ सय २० परिवारको बसोबास छ । नजिकै अर्को गाउँ तिंकरमा ७० भन्दा बढी परिवार बस्छन् । उनीहरू सबै शौका समुदायका हुन् । प्राय: हरेक घरका व्यक्ति व्यापार–व्यवसायमा संलग्न छन् । सबैका बसाइ भने बोहराको जस्तै थातथलोमा ६ महिना मात्र हुन्छ । बाँकी ६ महिना बेंसीमा गुजार्छन् । हिमाली भेग–बेंसी बसाइँ सर्दा अनेक समस्या बेहोर्नुपर्छ तर परम्परा टुटेको छैन । ‘बाबुबाजेको पालादेखि बेंसी–हिमाल बसाइँ सर्ने चलन हो,’ बोहराले भने ।


शौका समुदाय शताब्दीयौंदेखि व्यापार–व्यवसायमा संलग्न छ । यहाँका युवा भारतबाट सामान तिब्बतको ताक्लाकोट पुर्‍याएर बेच्छन् । ताक्लाकोटमा उनीहरूका लागि व्यापार गर्न निश्चित ठाउँ नै तोकिएको हुन्छ । छाङरु र तिंकरमा बसेका बेला महिलाहरू राडीपाखी, गलैंचा बुन्छन् । उनीहरूले बुनेको राडीपाखी, गलैंचाले विभिन्न बजारमा ख्याति कमाएको छ । स्थानीय दानसिंह तिंकरीका अनुसार पहिलापहिला यहाँका युवाले भेडाबाख्रामा गुड, मिस्री, नुन ताक्लाकोट लगेर ऊनी कपडा लिएर फर्कन्थे ।


‘अहिले मिस्री, सौन्दर्य सामग्री घोडा, खच्चडमा बोकाएर लैजान्छन् । उता नगदमा कारोबार गरी फेन्सी कपडा लिन्छन् अनि नेपाल र भारतीय बजारमा बिक्री गर्छन्,’ उनले भने ।


छाङरु र तिंकरका उनीहरूको सदरमुकाम खलंगामा पनि छ । जाडो सकिएपछि थातथलो फर्कंदा सदरमुकामबाटै खानेकुरा बोकेर ल्याउँछन् । गाउँमा खेतीपाती गरे पनि उत्पादन कम हुन्छ । ताक्लाकोटनजिकै पर्ने भएकाले समेत शौका समुदायका मानिसले व्यापार–व्यवसायका लागि थातथलो छाड्न नसकेका हुन् । पशुपालनका लागि पनि उनीहरूलाई छाङरु र तिंकर सहज छ ।


शौका समुदायको कुञ्जा सराइ सकसपूर्ण हुन्छ । ‘दुई दशकअघिसम्म नेपालकै बाटो भएर खलंगा र गाउँ ओहोरदोहोर गर्न सकिन्थ्यो,’ छाङरुकी अञ्जनी बोहराले भनिन्, ‘तिंकर नाका बन्द भएपछि बाटोको मर्मतसम्भार हुन छाड्यो । नेपालपट्टि खोलामा पुल पनि छैन । अचेल भारतीय बाटो प्रयोग गर्नुपर्छ ।’


कुञ्जा सर्ने क्रममा भारतीय भूमिमा विभिन्न किसिमका दुर्व्यवहार भोग्नुपर्छ । ‘हाम्रा नेताहरू सधैं व्यास जाने पैदल बाटो बनाउँछौं भन्छन्,’ अञ्जनीले भनिन्, ‘बजेट सिध्याउनकै लागि जेठमा टालटुले बाटो बनाउँछन् । त्यो एकै वर्षातले बिग्रिन्छ ।’ चट्टानी भूभागका कारण नदी किनारमै बाटो बनाउनुपर्ने अवस्था रहेको र बर्सेनि मर्मत गरे पनि कटान र पहिरोले भत्कने गरेको गाउँपालिकाका अध्यक्ष दिलीपसिं बुढाथोकीले भने । भारतीय भूमि प्रयोग गर्दा उताको सबडिभिजन म्याजिस्ट्रेट (एसडीएम) कार्यालयले जारी गरेको बहुयात्रा अनुमतिपत्र (पास) छियालेकमा देखाएर मात्र अगाडि बढ्न पाइन्छ । छियालेकमाथिको क्षेत्रमा अनुमतिबिना जान पाइँदैन । मानिसलाई त्यही पासले हुने भए पनि पशुलाई अर्को पास बनाउनुपर्दा झन्झटिलो हुने गरेको स्थानीय वासुसिंह ऐतवालले बताए । उनका अनुसार नेपालको पशु क्वारेन्टाइनले नेपाली पशु स्वच्छ रहेको सिफारिस दिएपछि मात्र भारतले यात्राको स्वीकृति दिन्छ । शौका समुदायमा पहिला सबैले व्यापार नै गर्नुपर्छ भन्ने सोचाइ राख्थे । अहिले अन्य पेसा व्यवसायतिर आकर्षण बढिरहेको छ । ‘हाम्रो समुदायको परम्परागत र मुख्य पेसा व्यापार भए पनि अन्य काम गर्नेहरू बढ्दै गएका छन्,’ स्थानीय प्रेमसिंह बोहराले भने, ‘नयाँ पुस्ता पढाइतर्फ लागेका छन् । पढ लेखेपछि जागिर र व्यवसायका लागि नेपाल र भारतका विभिन्न ठाउँमा जान्छन् ।’ बालबालिकाले पढ्ने भनेको सदरमुकाममै हो । छाङरु र तिंकरमा जेजति सरकारी सरकारी कार्यालय छन्, ती पनि चिसो बढी नहुने ६ महिना मात्रै खुल्छन् ।


छाङरुमा कोही बिरामी परे उपचार गर्न सधैं समस्या हुने गरेको छ । गाउँमा स्वास्थ्य चौकी भए पनि औषधि र चिकित्सक नहुँदा भारतीयको भर पर्नुपरेको स्थानीय बासिन्दा बताउँछन् । स्वास्थ्य चौकीमा औषधि सधैंजसो अभाव हुन्छ । स्वास्थ्यकर्मी पनि तीन/चार दिनमा एक दिन मात्रै स्वास्थ्य संस्थामा देखिने गरेको स्थानीय बताउँछन् । गाउँमा उपचार नपाएपछि भारतका गर्ब्याङ, छियालेक, गुञ्जीलगायतका ठाउँमा गएर उपचार गराउनुपर्ने बाध्यता छ । यसअघि यो स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी जिल्ला अस्पतालमा काज मिलाएर बस्थे ।



‘सीमाका सिपाही’

शौका समुदायको बसोबास दार्च‘लामा मात्र छ । जनसंख्या दुई हजार हाराहारी छ । छाङरु समुद्र सतहबाट ३ हजार २ सय मिटर र तिंकर गाउँ ३ हजार ७ सय मिटर उचाइमा छ । सदरमुकाम खलंगाबाट २८ कोस उत्तरमा व्यास गाउँपालिका छ । शौका समुदायका रीतिरिवाज, वेशभूषा, परम्परा, चाडपर्व, संस्कृति एवं हिमालयन काष्ठकला आकर्षक मानिन्छन् । ‘भौगोलिक पर्यावरणले नै यस क्षेत्रमा विशिष्ट संस्कृति सिर्जना गरेको छ,’ प्रेमसिंहले भने ।


व्यास क्षेत्रमा बस्ने शौका समुदायलाई प्रकृतिपुत्र भनिन्छ । उनीहरू अति मिहिनेती, मिलनसार, उदार एवं समाजसेवी भावनाका हुने बुझाइ यस क्षेत्रमा छ । व्यास उपत्यका हिन्दु र बौद्धहरूको पवित्र धार्मिकस्थल कैलाश मानसरोवरको प्रवेशद्वार मानिन्छ । ‘जैविक विविधताले भरिपूर्ण व्यास उपत्यका वेशभूषा, रहनसहन, भाषा संस्कृति, कृषि र पशुपालनका दृष्टिले आफैंमा खुला संग्रहालय हो,’ स्थानीय प्रेमसिंहले भने, ‘यसको संरक्षण र प्रवर्द्धनका लागि सरकारको थप ध्यान जानु आवश्यक छ ।’


शौका समुदायको भाषा भोटे जनजातिसँग मिल्दोजुल्दो छ । छिमेकी दुवै मुलुकसित सिमाना जोडिएको हुनाले शौकाहरूलाई ‘सीमा क्षेत्रका सिपाही’ भन्ने गरिन्छ ।


भारतीय अर्धसैन्य बलले अतिक्रमण गरेको कालापानीमुन्तिरको सबभन्दा पहिलो नेपाली गाउँ छाङरु नै हो । नेपाल, भारत र चीनको त्रिदेशीय विन्दु पनि नजीकै रहेकाले यो सीमा क्षेत्र सुरक्षा दृष्टिले संवेदनशील पनि मानिन्छ । ‘सीमा क्षेत्रमा हामी वर्षौंदेखि बसोबास गर्दै आएका छौं । हाम्रो बसोबासका कारण नेपालको सीमा रक्षा भएको छ । तर राज्यले हामीलाई खासै वास्ता गरेको छैन,’ स्थानीय तिंकरीले भने ।

प्रकाशित : आश्विन ८, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?