१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कांग्रेस सत्ताबाहिर हुँदा संविधान कार्यान्वयनमा चुनौती : पौडेल

काशीराम डाँगी

रोल्पा — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनपछि आफ्नो पार्टी सत्ताबाहिरै सीमित रहनु परेकाले संविधान कार्यान्वयनमा चुनौती देखिएको बताएका छन् । कार्यकर्ता भेटघाट र जनजागरण अभियान अन्तर्गत रोल्पा आएका नेता पौडेलले कांग्रेसले सत्ताको बागडोर सम्हाल्न नपाउँदा संविधानको मर्म विपरीतका गतिविधि बढेको बताए। 

कांग्रेस सत्ताबाहिर हुँदा संविधान कार्यान्वयनमा चुनौती : पौडेल

‘निर्वाचनको परिणामबाट कांग्रेस सत्ताबाहिरै खुम्चिनु पर्‍यो । त्यसैले संविधान कार्यान्वयन गर्न कठिन भएको छ’, पूर्व उपसभापति समेत रहेका नेता पौडेलले लिबाङमा आयोजित पत्रकार भेटघाटमा भने, ‘सत्ताको बागडोर सम्हाल्दा महत्वपूर्ण भूमिका निर्वाह गर्न मिल्थ्यो र संविधानको मर्मको पालना गर्न सकिन्थ्यो ।’ मुलुकभर सञ्चालित पहिलो चरणको जनजागरण अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्न पौडेलसहितको टोली सोमबार लिबाङमा आइपुगेको हो ।


नेता पौडेलले सत्ताबाहिरैबाट सरकारलाई सचेत गराइरहेको बताए । ‘सदन र सडकबाट सत्ताधारीलाई सचेत र चेतावनी दिँदै आएका छौं’, उनले भने । नेकपालाई सरकार चलाउन जनताले ५ वर्षको म्याडेन्ट दिएकाले पुरै अवधि सरकार चलाउन र जनताको भावना बुझ्न उनले आग्रह गरे । ‘नेकपाको सरकारलाई ५ वर्षको अवधिसम्म सरकार चलाउनुस् र राम्रो काम गरेर सदुपयोग गर्नुस् भनेका छौं ।’ पौडेलले भने ।


लामो समयदेखिको आन्दोलनबाट प्राप्त लोकतान्त्रिक व्यवस्थाको टुंगो लागिसकेकाले अर्को आन्दोलन गर्नु आवश्यक नभएको नेता पौडेलले बताए । उनले अहिलेकै राजनीतिक व्यवस्था नै उपयुक्त भएकाले मुलुकको विकास गर्न विशेष योजना बनाउन आवश्यक रहेको बताए । ‘राजनीतिक व्यवस्थाको टुंगो लागिसकेको छ । अब यही लोकतान्त्रिक व्यवस्थाबाट अघि बढ्ने हो’ उनले भने । नेता पौडेलले नयाँ संविधानमा वीपीको विचार समेट्दै ‘समाजवाद’ शब्द उल्लेख गरिएको दाबी गरे ।


कांग्रेसभित्र गुट उपगुट फैलिएको बताउँदै नेता पौडेलले निकट भविष्यमा महाधिवेशन आयोजना गरेर नयाँ ढंगले पार्टी अघि बढाउन आवश्यक भएको दाबी गरे ।


नेता पौडेलले राजावादी र स्वयं पूर्व राजाले गतिविधि बढाएको जनाउँदै उनले नेपालमा राजतन्त्र फर्कन सक्ने सम्भावन नरहेको बताए ।


उनले चन्द समूहलाई हिंसात्मक गतिविधि त्याग्दै शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरे ।

प्रकाशित : आश्विन ७, २०७६ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?