नेकपा र सीपीसी नेताहरुबीच छलफल : ‘सी विचारधारा’ को प्रशंसैप्रशंसा

दुर्गा खनाल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेकपा नेताहरूले ‘सी चिनफिङ विचारधारा’ लाई विकास, समृद्धि र शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने नयाँ अवधारणाका रूपमा व्याख्या गरेका छन् । नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच सोमबार काठमाडौंमा सुरु ‘विचारधारात्मक छलफल’ को उद्घाटनमा नेकपाका नेताहरूले अधिकांश समय सी विचारधाराको प्रशंसा गर्दै यही अवधारणाको सरेफेरोमा नेपालले पनि चीनसँग विकास साझेदारी अघि बढाउन चाहेको बताए ।

नेकपा र सीपीसी नेताहरुबीच छलफल : ‘सी विचारधारा’ को प्रशंसैप्रशंसा

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको माहौल बनाउने उद्देश्यले आयोजित दुई दिने छलफलमा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले चीनसँग ‘शक्तिको दम्भ’ नरहेको बताए । ‘शक्तिशाली हुँदै गएपछि मुलुकहरूमा शक्तिको दम्भ हुन्छ । तर चीन शक्तिशाली भए पनि थिचोमिचो नगर्ने, शान्ति, मित्रतासाथ अघि बढेको छ,’ उनले भने । कम्युनिस्ट पार्टीले राजनीतिक क्रान्तिको नेतृत्व मात्र होइन, समृद्धि पनि हासिल गर्न सक्छ भन्ने उदाहरण चीनले प्रस्तुत गरेको उल्लेख गर्दै ओलीले यो उपलब्धिको श्रेय राष्ट्रपति सीलाई जाने धारणा राखे । राजधानीको याक एन्ड यती होटलमा नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू उपस्थित कार्यक्रममा प्रधानमन्त्री ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र स्कुल विभाग प्रमुख ईश्वर पोखरेल तीनै जनाले सी विचारधारालाई विश्व प्रभावित पार्ने अहिलेको नयाँ विचारका रूपमा चित्रण गरे ।


सीपीसीको १९ औं महाधिवेशनले पास गरेको ‘चिनियाँ विशेषतासहितको समाजवाद’ र २०१३ देखि राष्ट्रपति सीकै नेतृत्वमा अघि बढेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त, समावेशिता र साझा चासोको हितसम्बन्धी सिद्धान्तबाट निर्देशित भएको उनीहरूले बताए ।


सीपीसी विदेश विभाग प्रमुख सोङ ताओले पनि राष्ट्रपति सीको विचाराधाराबारे प्रस्ट पारे । उनले सीपीसीले सी विचारधारा र नेकपाले जनताको जनवादको नयाँ विचारबाट अघि बढेको उल्लेख गर्दै यी विचारले ‘तथ्यमार्फत सत्यको खोजी’ गर्ने बताए । ‘मार्क्सवाद जडसूत्रवाद होइन, त्यसैले हामीले सी चिनफिङ विचारधारा बनायौं,’ उनले भने, ‘नेकपाले पनि बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादबाट अहिले जनताको जनवाद विचारधारा लिएर हिँडेको छ, मार्क्सवादको यस्तो विकास धेरै महत्त्वपूर्ण हुन्छ ।’ उनले दक्षिण एसियालाई विशेषतायुक्त भूराजनीतिक क्षेत्रका रूपमा व्याख्या गर्दै त्यसैका लागि बीआरआई परियोजना अघि सारिएको उल्लेख गरे । पार्टीले जहिले पनि जनतालाई केन्द्रमा राख्नुपर्ने उनले बताए ।


कम्युनिस्ट पार्टीले गरेका कामको सफलतामाथि विदेश विभाग प्रमुख सोङको जस्तै धारणा प्रधानमन्त्री ओलीको पनि थियो । उनले कम्युनिस्टहरूले क्रान्ति गरेर आर्थिक विकासको बाटोमा लैजान्छन् भन्ने पुष्टि चीनले गरिसकेको र नेपालले पनि त्यो पाइला पछ्याइरहेको बताए । ‘कम्युनिस्ट पार्टीले क्रान्ति गर्छ तर आर्थिक उन्नति गर्न सक्दैन भन्नेहरूलाई झूटो सावित गरिदिएको छ, मार्क्सवादको रक्षाका लागि चिनियाँ अनुभव विशिष्ट खालको छ,’ प्रधानमन्त्री ओलीले भने । उनले नेपालको चीनसँग विगतदेखि नै समस्यारहित सम्बन्ध रहेको उल्लेख गर्दै एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्‍याए । नेपालको आकाश र भूमि चीनका विरुद्ध प्रयोग गर्न नदिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले चीनसँगको साझेदारीबाट नेपालले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।


नेकपा र सीपीसी दुवैले आफ्नो भूगोलअनुसार मार्क्सवादको मौलिक प्रयोग गरेको उनले बताए । चीनको तुलनामा नेपालमा मार्क्सवादको केही भिन्न प्रयोग गरिँदै आएको उल्लेख गर्दै ओलीले त्यसका लागि जनताको बहुदलीय जनवादले जग खनेको बताए । कम्युनिस्ट आन्दोलनको स्थापना, झापा आन्दोलनदेखि मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद र पछिल्लो पार्टी एकतासम्मका प्रसंग ओलीले उठाए । ‘सबैतिर एउटै अनुकरण गर्दा सफल भइँदैन, त्यसैले मार्क्सवादको मौलिक प्रयोग हुनुपर्छ, हामीले हाम्रो आफ्नै मौलिक प्रयोग गरेका छौं,’ उनले भने ।


प्रधानमन्त्री ओलीभन्दा ठीक अगाडि बोलेका अध्यक्ष दाहालले बीआरआईको फ्रेमवर्कमा रहेर उच्चस्तरको सम्बन्ध विकसित भइरहेको बताए । ‘राष्ट्रपति सी चिनफिङले अगाडि सारेको बीआरआईले नेपालका लागि पूर्वाधार विकासको अपरिहार्य आवश्यकता, कृषिको आधुनिकीकरण, औद्योगीकरण तथा सामाजिक विकासका लागि चाहिने पुँजी र प्रविधिमा पहुँच पुर्‍याउनेछ,’ उनले भने । बीआरआईको फ्रेम वर्कभित्रै विभिन्न राजनीति समझदारी भइरहेको उल्लेख गर्दै यो पृष्ठभूमिमा नेपाल सरकारले चीनको तर्फबाट उच्चस्तरीय भ्रमण गराउने बताए । उनले संसारमा कुनै पनि शासन प्रणालीले दिन नसकेको आत्मसम्मान चिनियाँ कम्युनिस्ट पार्टीले दिएको भन्दै प्रशंसा गरे । ‘राष्ट्रपति सीले कनेक्टिभिटी, साझा प्रयत्न, साझा लगानी र उपलब्धिमा साझा स्वामित्वबाट दिगो अन्तर्राष्ट्रिय सम्बन्ध तथा साझा समृद्धि हासिल गर्न सकिन्छ र हाम्रो भविष्य आत्मनिर्भर छ भन्ने दृष्टिकोण ल्याउनुभएको छ,’ उनले भने ।


छलफलको अध्यक्षता गरेका नेकपा स्कुल विभाग प्रमुख एवं उपप्रधानमन्त्री पोखरेलले सी विचारधारा र नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको व्याख्या गरे । उनले राष्ट्रपति सीले अघि सारेको बीआरआईको अवधारणा चीनको मात्र नभएर विश्वकै बहुआयामिक भन्दै प्रशंसा गरे । ‘यो इनिसिएटिभ्स्लाई चीनको मात्र नभएर विश्व समुदायको हितमा आएको एक नयाँ अवधारणाका रूपमा हामीले बुझेका छौं,’ उनले भने, ‘यसले राष्ट्रपति सीको बौद्धिकता, सैद्धान्तिक वैचारिक व्यक्तित्व र दुरदर्शितालाई प्रतिविम्बित गर्छ ।’ नेकपाले राजनीतिक व्यवस्था परिवर्तन र अधिकारको लडाइँमा सफलता हासिल गरेकाले अब आर्थिक विकास र समृद्धितर्फ केन्द्रित हुनका लागि चिनियाँ अनुभव उपयोगी हुने उनले बताए । ‘यसका लागि पार्टी स्कुलका स्थायी संरचना निर्माण, मुलुकको बदलिँदो सन्दर्भअनुसार पार्टीका नीति र कार्यक्रमका आधारमा पाठ्यक्रम र सिकाइका विधि पनि परिवर्तित हुनेछन्,’ उनले भने, ‘हामी दुई पार्टीबीच केन्द्रीय पार्टी स्कुलमा प्रयोग गरिने पाठ्यक्रम तयारी र अध्यापन विधि आदानप्रदान गरिनु आवश्यक छ ।’ उनले सीपीसीले तय गरेको पार्टी स्कुलका पाठ्यक्रम र प्रशिक्षण विधि नेपालको समृद्धि यात्रामा र पार्टी स्कुल पाठ्यक्रम निर्माणमा उपयोगी हुने बताए ।


सीपीसी विदेश विभाग प्रमुख सोङले पनि आपसी अनुभव आदानप्रदानमा नेकपालाई सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले शान्तिपूर्ण सौहार्द र समावेशी कूटनीतिक सिद्धान्त अपनाएर चीन अघि बढ्ने उल्लेख गरे । त्यसका लागि नेकपासँगको सम्बन्धलाई पनि निरन्तरता दिने बताए ।


दुई पार्टीबीच समझदारी हुँदै

नेकपा र सीपीसीबीच पार्टीगत सहयोग आदानप्रदानबारे मंगलबार दुईपक्षीय औपचारिक समझदारी हुने भएको छ । अध्यक्षद्वय ओली र दाहालको उपस्थितिमा नेकपा विदेश विभाग प्रमुख माधव नेपाल र सीपीसी विदेश विभाग प्रमुख सोङले समझदारी पत्रमा हस्ताक्षर गर्नेछन् । दुईपक्षीय भ्रमण, प्रशिक्षण, अध्ययन अनुसन्धान लगायत कामलाई पार्टी ‘च्यानल’बाट व्यवस्थित गर्न समझदारी हुन लागेको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । यसअघि पूर्वएमाले र पूर्वमाओवादीबीच सीपीसीसँग छुट्टाछुट्टै सम्बन्ध थियो । एकतापछि पनि दुवै पार्टीको फरक च्यानलबाट सीपीसीले काम गर्दै आएको थियो ।


सीको भ्रमणबारे प्रधानमन्त्रीसँग छलफल

चिनियाँ विदेश विभाग टोलीले सोमबार प्रधानमन्त्री केपी ओलीलाई छुट्टै भेटेको छ । काठमाडौं उत्रेलगत्तै औपचारिक कार्यक्रम सुरु हुनुअघि प्रधानमन्त्री ओलीलाई भेट्न टोली बालुवाटार गएको थियो । त्यहाँ ओलीसँग राष्ट्रपति सीको भ्रमणबारे कुरा भएको स्रोत जनाएको छ । सी विचारधाराको छलफलका लागि टोली आए पनि सी भ्रमणको पूर्वतयारीकै एउटा अंश भएको नेकपाका एक नेताले बताए ।


विदेश विभाग प्रमुख समेत रहेका सोङ राष्ट्रपति सीको भ्रमण हुने बेलामा अन्य मुलुकमा पनि जाने गरेका छन् । राष्ट्रपति सीको उत्तर कोरिया र फिलिपिन्स भ्रमण अघि पनि उनी त्यहाँ पुगेका थिए । विदेश विभाग प्रमुखको सिधा राष्ट्रपतिसँग सम्पर्क र रिपोर्टिङको च्यानल हुने भएकाले उनलाई सीको विश्वास पात्र समेत मानिन्छ । प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी नै नेपाल आउनु अर्थपूर्ण रहेको पनि ती नेताले उल्लेख गरे ।


प्रकाशित : आश्विन ७, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?