जेष्ठ नागरिकको हवाई भाडा छुटमा एयरलाइन्स विभाजित

श्रीले ८५ वर्ष पुगेका नेपाली नागरिकलाई ५ सय रुपैयाँमा नै उडाउने
सुरज कुँवर

काठमाडौँ — ७० वर्षमाथि उमेर नाघेका ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिनुपर्ने विषयमा एयरलाइन्स विभाजित भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेको २६ औं दिन ( भदौ ९ गते) मा मन्त्री योगेश भट्टराईले आफ्नो पहिलो कार्यकालको १ सय ४१ वटा कार्ययोजनासहितको एक वर्षे कार्यक्रम सार्वजनिक गर्दै जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने कार्यक्रम ल्याएका थिए। लगत्तै भोलीपल्ट आन्तरिक उडानमा रहेका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ (आयोन)ले असहमति जनाएको थियो।

उक्त संस्थाले पर्यटन मन्त्री भट्टराईले आफूहरुसँग सल्लाह नै नगरी जेष्ठ नागरिकलाई छुट दिने कार्यक्रम ल्याएको भनी टिप्पणी गरेको थियो। यस संघमा हेलिकप्टरसहित १५ वटा एयरलाइन्स कम्पनी सदस्य छन्।

तर, मन्त्रीको उक्त कार्यक्रममा समर्थन जनाउँदै निजी क्षेत्रको श्री एयरलाइन्स र ध्वजाबहाक नेपाल वायुसेवा निगमले जेष्ठ नागरिकलाई छुट दिन सकिने प्याकेज सार्वजनिक गरेका छन्। श्रीका प्रबन्धक अनिल मानन्धरद्वारा सोमबार जारी विज्ञप्ती अनुसार ७५ वर्ष नाघेका यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिइने भएको छ।

नेपालबाट भारत लगायतमा छिमेकी मुलुकमा चार्टर उडान अनुमती पाइसकेको श्रीले घोषणा गरेको छुट आन्तरिक उडानका लागि मात्रै भनेको छ। श्रीले छुट फियुल सरचार्ज र विमानस्थल सेवा शुल्कमा नरहेको जनाएको छ। उसले एउटा उडानमा दुई जना जेष्ठ नागरिकलाई छुट दिने भनेको छ। तर, टिकट भने श्रीकै काउन्टरबाट खरिद गर्नुपर्ने जनाएको छ। यसैगरी श्रीले ८५ वर्ष पुगेका नेपाली नागरिकलाई ५ सय रुपैयाँमा मात्रै टिकट उपलब्ध गराउने जनाएको छ।

नेपाल वायुसेवा निगमलेअसोज १ गते विज्ञप्तीमार्फत् ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने घोषणा गरिसकेको छ। ‘निगमको निर्णय अनुसार यो व्यवस्था आसेज १ गते २०७६ देखि लागू हुनेछ,’ निगमका सहायक प्रवक्ता सुलेख मिश्रद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘जेष्ठ नागरिकले ७० वर्ष पुगेको प्रमाणित कागजात उपलब्ध गराएपछि ५० प्रतिशत छुटको टिकट निगमको कार्यालयबाट उपलब्ध गराइनेछ।’

मन्त्री भट्टराईले घोषणा गरेका कार्यक्रममध्ये ५० प्रतिशतको छुट समेत समावेश भएकाले निगमले त्यसलाई कार्यरुपमा ल्याउन ५० प्रतिशत छुटको व्यवस्था गरिएको निगमले भनेको छ।

मन्त्रीको निर्णय मान्ने दुईवटा एयरलाइन्स आओनको सदस्य एयरलाइन्स होइनन्। आओनमा सर्वाधिक जहाज अनि उडान गर्ने बुद्ध, यति लगायत ७ वटा आन्तरिक एयरलायन्स सदस्य छन्। तीनले मन्त्रीको निर्णय स्वीकार नगर्ने लिखित पत्र नै मन्त्रालयमा दर्ता गराएपछि मन्त्री भट्टराईले पूर्व पर्यटन सचिव सुरेशमान श्रेष्ठको संयोजकत्वमा भदौ २५ गते ८ सदस्यीय कार्यदल गठन गरेका छन्।

यस कार्यदलले सरोकारवालासँग छलफल गरी ७० वर्षमाथिका जेष्ठ नागरिकलाई ५० प्रतिशत हवाई भाडा छुट दिलाउन सकिने आधारसहित एक महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने छ। त्यस्तै मन्त्रीले कार्यदललाई आन्तरिक हवाई भाडा दरमा विदेशी र स्वदेशी यात्रुलाई फरक फरक भाडादर (डलर फेयर) लिने प्रचलनलाई एकरुपमा ल्याउन पनि अध्ययन गरेर प्रतिवेदन बुझाउन भनेका छन्।

मन्त्रीको निर्देशनलाई निजी क्षेत्रको सर्वाधिक यात्रु सेवा प्रदान गर्दै आएको बुद्ध एयरले अस्विकार गरेको छ। बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पर्यटन मन्त्रीले बिना अध्ययन ल्याएका दुवै प्रस्ताव लागू हुन नसक्ने भनेका छन्। यदि डलर फेयर हटाइएमा निजी एयरलाइन्सले उद्योग बन्द गरेर पर्यटन मन्त्रीलाई साँचो बुझाउनुपर्ने अवस्था हुने उनले कान्तिपुरसँग भने।

प्रकाशित : आश्विन ६, २०७६ १५:२२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अस्ट्रेलियासँग हवाई सम्झौता हुँदै

सुरज कुँवर

काठमाडौँ — नेपालले यसै साता अस्ट्रेलियासँग एयर सर्भिस एग्रिमेन्ट (हवाई सम्झौता) गर्ने भएको छ । क्यानडाको मोन्ट्रियलमा मंगलबारदेखि हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को ४० औं सम्मेलनका क्रममा सम्झौता गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

सम्मेलनमा सहभागी हुन आइतबार राति भट्टराईको नेतृत्वमा ५ सदस्यीय टोली त्यसतर्फ गएको छ । अस्ट्रेलिया उच्च शिक्षाका लागि जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा पर्ने मुलुकमध्ये एक हो ।

सीधा उडान नभएका कारण चीन, कोरिया, मलेसिया, हङकङ, थाइल्यान्ड हुँदै नेपालीहरू अस्ट्रेलिया आउजाउ गर्न बाध्य छन् । आईकाओको सम्मेलनमा सहभागी हुने टोलीले पर्यटनमन्त्रीको उपस्थितिमा अस्ट्रेलियासँग हवाई सम्झौता गर्ने पर्यटन सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । ‘नेपाली राजदूत वा सहसचिव नेतृत्वको टोलीले अस्ट्रेलियाली टोलीसँग हवाई सम्झौता गर्नेछ,’ उनले भने ।

११ दिन चल्ने सम्मेलनमा अस्ट्रेलिया पनि सहभागी हुँदै छ । कुनै पनि मुलुकमा उडान सुरु गर्नुअघि हवाई सम्झौता गर्नुपर्छ । नेपालले हालसम्म ३९ मुलुकसँग यस्तो सम्झौता गरिसकेको छ । अस्ट्रेलियाले झन्डै ७ वर्षअघि नेपालसँग हवाई सम्झौता गर्न चाहेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउँछन् तर त्यसताका उसले आफ्नो मुलुकको कुनै एयरलाइन्सबाट सीधा उडान नभई कोड सेयरिङ गर्न चाहेको थियो । तर उक्त प्रस्ताव पारित हुन सकेको थिएन ।

यसपटक अस्ट्रेलियासँग धेरै तहको छलफलपछि हवाई सम्झौता गर्ने निर्णयमा पुगेको पर्यटन मन्त्रालयले जनाएको छ । अस्ट्रेलियाअघि नेपालले कम्बोडियासँग ०७५ मंसिरमा काठमाडौंमै हवाई सम्झौता गरेको थियो । नेपालले युरोपियन युनियनका ७ वटा सदस्य मुलुकसँग हवाई सम्झौता गरे पनि तीसँगको हवाई सेवा हाल बन्द छ ।

नेपाली प्रतिनिधिमण्डलले सम्मेलनका अवसरमा युरोपियन युनियन (ईयू) सँग पनि उसले लगाएको कालोसूचीबारे छलफल गर्ने जनाएको छ । ईयूले सन् २०१३ देखि नेपाली वायुसेवा कम्पनीलाई उसका सदस्य मुलुकमा उडान गर्न रोक लगाएको छ । युरोपियन युनियनले चासो राखेको विषय नागरिक उड्डयन प्राधिकरणको संस्थागत विभाजनको प्रक्रियालाई आफू आएदेखि नै अघि बढाएको मन्त्री भट्टराईले बताए ।

‘ईयूको चासो नियामक एवं सेवाप्रदायक संस्था एउटै हुनुहुन्न भन्ने छ, यो हाम्रो पनि चासो हो,’ उनले भने, ‘मैलै मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिन पहिलो निर्णय यसैसम्बन्धी गरेको थिएँ । यससम्बन्धी विधेयक विभिन्न मन्त्रालयमा रायका लागि पठाउने मेरो निर्णय थियो ।

मन्त्रालयहरूबाट राय पनि आइसकेको छ ।’ संघीय संसद्को आगामी अधिवेशनमा प्राधिकरणलाई विभाजन गर्न बनाइएको विधेयक पठाउने तयारी रहेको उनले बताए ।

प्रकाशित : आश्विन ६, २०७६ ०८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT