१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

निसानामा बालिका : परिवारमै असुरक्षित

नेपालगन्ज/बुटवल — बोल्दा काँपिरहिन् । आत्तिएर वाक्य पूरा हुँदैनथ्यो । घरि एउटा, फेरि अर्को कुरा गर्थिन् । बाँकेको खजुराकी १५ वर्षीया किशोरी पहिले हक्की स्वभावकी थिइन् । पढाइ राम्रो थियो । चार दिदीबहिनीमा उनी माइली हुन् । मजदुरी गरे मात्र परिवारको गुजारा चल्छ । परिवारलाई सघाउने जिम्मेवारी थियो । त्यही बेला नचिताएको भयो । बाबुबाट यौन दुर्व्यवहार भोगिन् । त्यसले मनोबल खस्क्यो । त्यसपछि व्यवहारमा असामान्य परिवर्तन देखियो ।

निसानामा बालिका : परिवारमै असुरक्षित

तीन वर्षअघि बर्दियाबाट परिवार बसाइँ सरेर खजुरा आएको थियो । सहर नजिकै बस्दा मजदुरीका अवसर हुन्छन् । त्यसले गुजारा चलाउन सहज हुने विश्वास थियो । आमा आफन्तको घर गएको मौका छोपेर बाबुले उनीमाथि दुर्व्यवहार सुरु गरे । उनको शरीरभरि बाबुका औंला सल्बलाए । ‘त्यो दिन/रातभर सुत्न सकिनँ,’ उनले भनिन्, ‘छुटकारा पाउन रातभरि ट्वाइलेटमा बसें ।’ बाबुको डरले १२ घण्टा शौचालयमा बिताएको उनले बताइन् । बाबुको त्यस्तो व्यवहारबारे काकाकी छोरीलाई भन्दा नपत्याएपछि उनी निराश भइन् ।


‘घटना भुल्न खोजे पनि बाउको व्यवहारमा परिवर्तन आएन,’ उनले भनिन्, ‘प्रतिकार गर्न खोज्दा उल्टै आमालाई मारिदिन्छु भन्नुभयो । त्यसपछि नियमित दुर्व्यवहार सहें ।’ घटना सुनाउँदा आमाले उनलाई नै सम्झाइन् । बाबुलाई कानुनी दायरामा ल्याउन परिवारले मानेन । गाइँगुइँ सुरु भएपछि बाबु भागेर भारत पसेका छन् । ‘अहिले घर फर्किने कुरा पनि गर्छन्,’ किशोरीले भनिन्, ‘मलाई डर लाग्न थालेको छ ।’ उनले आमालाई पीडाबाट मुक्ति दिलाउन राजी गराएकी छन् । बाबु फर्किएमा आमाले प्रहरीको जिम्मा लगाउने बताएको उनले सुनाइन् । ‘एक वर्षसम्म पीडा सहें,’ उनले भनिन्, ‘अब सहन्नँ ।’


बाँकेकै आठ वर्षीया एक बालिकाको पीडा पनि उस्तै छ । उनी आफ्नै बाबुबाट बलात्कृत हुन् । पतिपत्नीबीच झगडा भएपछि छोरी बोकेर आमा माइत गइन् । तीन महिनापछि बाबुले छोरीलाई घर ल्याए । छोरी फिर्ता ल्याएपछि रेखदेख गर्ने विश्वास थियो । उक्त विश्वास विपरीत भयो । बाबुको मायामा फुर्किनुपर्ने छोरी जबर्जस्ती करणीमा परिन् । बालिकाले प्रतिकार गर्ने अवस्था भएन । एक दिन उनले विद्यालयका प्रधानाध्यापकसित घर नपठाउन आग्रह गरिन् । त्यसपछि मात्रै बालिका तीन महिनादेखि आफ्नै बाबुबाट अत्याचारमा परेको खुल्यो । स्वास्थ्य परीक्षण गराउँदा उनको गुप्तांगमा भएको घाउ पाकेको थियो । उक्त घटना अध्ययन गरेकी अधिकारकर्मी पुष्पा सुनार भन्छिन्, ‘अहिले बालिकालाई नियमित परामर्शमा राखेका छौं ।’ आमाले पतिविरुद्ध जाहेरी दिइन्् । उनका बाबु सजाय भोगिरहेका छन् । अहिले आमालाई मानसिक समस्या देखिएको छ । बालिका पनि सामान्य अवस्थामा छैनन् । त्यसैले सामाजिक संस्थाले संरक्षणमा सघाएको छ ।


कोहलपुर–११ का ३८ वर्षीय विजय भनिने गोविन्द दमाईले गत असार २१ मा ६ वर्षीयालाई जबर्जस्ती करणी गरेर फरार भए । प्रहरीले उनको खोजी थाल्यो । उनी भने पीडितलाई क्षतिपूर्ति भन्दै पैसा दिएर घटना मिलाउने प्रयासमा लागे । पीडित परिवारका अनुसार घटनापछि गोविन्दको परिवारले क्षतिपूर्ति लिएर बारम्बार मिलापत्र गर्न दबाब दिएको थियो । घटना थामथुम पार्न पीडक पक्ष तीनदेखि चार लाख रुपैयाँ दिन तयार भएको सार्वजनिक भयो । मिलापत्रका लागि गाउँका अगुवाले समन्वय गरे । पीडितका बाबुले आरोपी गोविन्दका परिवारले क्षतिपूर्ति लिएर मिल्न दबाब दिए पनि आफू सहमत नभएको बताए । गोविन्दविरुद्ध जबर्जस्ती करणी र मिलापत्रका आरोपीलाई सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेमबहादुर शाहीले बताए ।


अधिकारकर्मीहरूका अनुसार धेरैजसो जघन्य अपराधका घटनामा अगुवाले नै मिलापत्र गराउन खोज्ने प्रवृत्ति रहेको पाइएको छ । एकातिर पीडक पक्राउ नपर्दा बालिका असुरक्षित हुन्छन्, अर्कोतर्फ यौन हिंसाले बालिकामा दीर्घकालीन असर पुग्ने गरेको छ । मनोविमर्शकर्ता विमला काउचाले यौन हिंसाले बालबालिकालाई दीर्घकालीन असर गर्ने बताइन् । ‘यौन हिंसामा परेकालाई खुसीसाथ जीवनयापन गर्ने वातावरण मिलाउन जरुरी छ,’ उनले भनिन्, ‘नकारात्मक विचार आउने हुन्छ । आफैंले बढी ख्याल गर्नुपर्छ ।’

दुई वर्षयता प्रहरीमा बालिका हिंसामा परेका उजुरी धेरै छन् । आर्थिक वर्ष २०७५/७६ मा जिल्ला प्रहरी कार्यालय बाँकेमा जबर्जस्ती करणीका ५६ उजुरी दर्ता भएका छन् । तिनमा बाल यौन दुर्व्यवहारका १७ वटा घटना छन् । गत साउनयता त्यस्ता दुईवटा घटनाका उजुरी दर्ता भएका छन् । आफन्तबाट बालिका तथा शारीरिक रूपमा अक्षम व्यक्ति असुरक्षित रहेको तथ्यांकले देखाएको छ । विभिन्न प्रविधिको विकाससँगै विकृति भित्रिएकाले बालिका पीडित भएको प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए ।


नौ वर्षीया अलपत्र

लगातार बलात्कारमा परेकी पश्चिम नवलपरासीको सुनवल–४ की नौ वर्षीया बालिका अलपत्र परेकी छन् । लगातार करणीमा परेको जानकारीपछि स्थानीयले उद्धार गरेर गत साउन १३ मा उनलाई प्रहरीको जिम्मा लगाएका थिए । विपन्न परिवार भएकाले घर पठाउने स्थिति छैन । सरकारी संयन्त्रले बेवास्ता गर्दा समस्या भएको छिमेकी विमला अर्यालले बताइन् ।


जिल्ला प्रहरीको आग्रहमा ती बालिकालाई ३५ दिनसम्म अल्पकालीन सुरक्षित आवासगृहमा राखिएको थियो । गृहले त्यसभन्दा धेरै दिन राख्न नमिल्ने जनायो । स्थानीयले रूपन्देहीमा रहेको मानव सेवा आ श्रममा ल्याए । आ श्रमले बेवारिसेलाई मात्र राख्ने बतायो । बुटवल उपमहानगरको जितगढीमा बालगृह छ, जहाँ बेवारिसे र अति विपन्न बालबालिकालाई राखिन्छ । छिमेकी अर्याललगायत अधिकारकर्मी त्यसमा राख्न सकिन्छ कि भन्ने कोसिसमा लागे तर सफल भएनन् । ‘त्यसको प्रक्रिया लामो र झन्झटिलो रहेछ । संघीय सरकारमै पुगेर सिफारिस स्वीकृत गराउनुपर्दो रहेछ,’ अर्यालले भनिन्, ‘बालिकालाई कहाँ पठाउने, के गर्ने समस्या भएको छ ।’ बालिका हाल बुटवलको कदम नेपालको आ श्रममा छिन् । आ श्रमलाई आर्थिक अभाव छ । त्यसैले कति दिन बालिकालाई यसरी राख्ने भन्ने समस्या भएको आ श्रम अध्यक्ष इन्दिरा आचार्यले बताइन् ।


प्रहरीका अनुसार गत साउन १३ मा बालिका रगताम्य अवस्थामा भेटिएकी थिइन् । बाबुले छोरी महिनावारी भएको र पेट दुखेर रोएको ठाने । त्यसपछि सेनेटेरी प्याड र कट्टु किन्न गए । नौ वर्षीया बालिका महिनावारी नहुने बरु अरू समस्या हुन सक्छ भन्दै पसले आफैं बालिकालाई भेट्न आए । सोधपुछमा बालिकाले तीन जनाले पालैपालो करणी गरेको बताइन् । त्यसपछि स्थानीय मिलेर प्रहरीमा उजुरी दिए । स्वास्थ्य परीक्षण गराए । पटकपटक बलत्कारमा परेको पुष्टि भएपछि आरोपीलाई पक्राउ गरी कानुनी कारबाही थालिएको छ । पक्राउ पर्नेमा सुनवल–४ का ६० वर्षीय नारायण श्रेष्ठ, ४१ वर्षीय लोकबहादुर क्षत्री र ५० वर्षीय शिव श्रेष्ठ छन् । तीनै जनालाई अहिले पुर्पक्षका लागि थुनामा राखिएको जिल्ला प्रहरीका अनुसन्धान अधिकृत डीएसपी विक्रम सुवेदीले बताए ।


बालिकाको स्वास्थ्य जटिल थियो । एक महिना रगत बग्यो । फुल्लिएको पाठेघर नसुक्दा हिँडडुल गर्न सकिनन् । अहिले स्वास्थ्य सामान्य बन्दै छ । ‘रगत बग्न रोकिएको छ,’ आ श्रमकी सहजकर्ता सुष्मा अर्यालले भनिन्, ‘तर तल्लो पेट दुख्यो भनेर मुर्च्छा पर्न रोकिएको छैन ।’ पाठेघरमा घाउ लागेकाले समस्या भएको चिकित्सकले बताए । पारिवारिक अवस्था दयनीय छ । उनी तीन वर्षकी हुँदा आमाले दोस्रो बिहे गरिन् । आमाले छोरी लगे पनि बाबुले अर्को वर्षै फर्काएका थिए । त्यसपछि अलपत्र सानी छोरी अहिले आफन्तका घरमा छिन् । बलात्कारमा परेकी ठूली छोरी बाबुसँगै थिइन् ।

प्रकाशित : आश्विन ६, २०७६ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?