२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सवारी व्यवस्थापन गर्न चोक चोकमा स्वयंसेवक

सीमा तामाङ

काठमाडौँ — दसैं र तिहारमा उपत्यकामा सवारी व्यवस्थापन गर्न आइतबारदेखि पाँच सय युवा स्वयंसेवक परिचालन भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा, युवा परिषद् र अन्य संघसंस्थाको समन्वयमा ‘हामी बिनाबर्दीका ट्राफिक हौँ’ भन्दै पाँच सयभन्दा बढी युवा सडकमा परिचालन गरेका हुन् ।

सवारी व्यवस्थापन गर्न चोक चोकमा स्वयंसेवक

महाशाखाले ट्राफिक व्यवस्थापनका लागि खटिने स्वयंसेवकलाई प्रारम्भिक चरणको प्रशिक्षण दिएर खटाएको हो । ट्राफिक नियम तथा ट्राफिक व्यवस्थापनका लागि अपनाउनुपर्ने उपायका सम्बन्धमा युवालाई प्रशिक्षण दिइएको महाशाखाले जनाएको छ ।


सरकारले जेब्राक्रस र आकासेपुलको निर्माण गरिएको छ तर प्रयोग नगरी हेलचेक्र्याइँ गरी जोखिमपूर्ण यात्रा गरिररहेका हुन्छन् । स्वयंसेवकको जिम्मेवारी पैदलयात्रुलाई सुरक्षित यात्रा गराउने हो ।


‘पैदलयात्रु जोखिम मोलेर जथाभाबी बाटो काटिरहेका हुन्छन्, त्यसैले आम नागरिकलाई जेब्राक्रसिङ वा आकासे पुलबाटै बाटो काट्न आग्रह गर्छौं,’ स्वयंसेवक चुनादेवी बिडारीले भनिन् ।


उनीजस्तै अरू स्वयंसेवकले यात्रु तथा सवारीचालक दुवैलाई ट्राफिक नियमबारे जानकारी गराउनेछन् । चाडपर्वसँगै सडक तथा यातायात क्षेत्रमा विभिन्न समस्या आउने भएकाले स्वयंसेवक परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले बताए ।


चाडपर्वमा टिकटको बिचौलिया, बढी यात्रु बोक्ने सवारीसाधान, तोकेभन्दा बढी पैसा असुल्ने बसलाई पनि नियन्त्रण गर्न स्वयंसेवकले ट्राफिक प्रहरीलाई सघाउने ढकालले बताए । सरकारले यसवर्ष युवा स्वयंसेवक परिचालन वर्ष पनि घोषणा गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम गरी गृहमन्त्री रामबहादुर थापाले स्वयंसेवकलाई ज्याकेट र परिचयपत्र दिएर यो अभियान सुरु गरेका हुन् ।


ट्राफिक प्रहरी महाशाखाले बसको क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुलाई गन्तव्यसम्म नपुर्‍याई बीच बाटामा अलपत्र पारेर छाड्ने, बढी भाडा लिने, टिकट कालोबजारी गर्नेलाई कारबाही गर्ने जनाएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्त बनाउन २३ स्कुल तथा कलेज, २ युवा क्लब, १६ यातायात प्रालि, १० हास्य कलाकार, १२ एयरहोस्टेस गरी पाँच सयभन्दा बढी ट्राफिक स्वयंसेवक परिचालन गरिएको हो ।


राजधानीको दरबारमार्ग, केशरमहल, जमल, रणोद्दीप, त्रिचन्द्र कलेज, भोटाहिटी, वीर अस्पताल, जुद्ध सालिक, न्युरोड, नागस्थान, थापाथली, त्रिपुरेश्वर, कोटेश्वर, बानेश्वर पानीट्यांकी, नयाँ बसपार्क, माइतीघर, सिंहदरबार, पुतलीसडक, कुपन्डोल, पुल्चोक, कालीमाटी, महाराजगन्ज, गौशाला, बीएन्डबी हस्पिटलअगाडि, कलंकीलगायत २५ स्थानमा ठाउँमा स्वयंसेवक रहनेछन् । एक ठाउँमा २० जनाका दरले स्वयंसेक खटाइएको छ ।


१४ ठाउँमा नागरिक सहायता कक्ष

यो अभियानअनुरूप नै अलपत्र परेका यात्रुलाई सहायता कक्षमा रहेर सहयोग पुर्‍याइने ट्राफिक महाशाखाले जनाएको छ ।


त्यसका लागि उपभोक्ता संरक्षण समिति, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको सहकार्यमा उपत्यकाका १४ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गर्ने तयारी भइरहेको छ । उपत्यकाको नागढुंगा, कलंकी, स्वयम्भू हलचोक, नयाँ बसपार्क, माछापोखरी, पुरानो बसपार्क, सुन्धारा, चाबहिललगायत स्थानमा नागरिक सहायता कक्ष राख्न लागिएको हो ।


प्रकाशित : आश्विन ६, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?