कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

टिकट लिन बसपार्कको बास

नयाँ बसपार्कबाहेक अन्यत्र काउन्टर नहुँदा मध्यपश्चिम र सुदूरपश्चिम जाने यात्रुको भीड बढी 
विमल खतिवडा

काठमाडौँ — आइतबारबाट टिकट बुकिङ खुल्ने निर्णय भए पनि अघिल्लो दिन रातिबाटै काउन्टरमा यात्रुको भीड लागेको थियो । केही यात्रु टिकटकै लागि बसेका छन् । टिकट नपाइने डरले यात्रु रातिदेखि नै नयाँ बसपार्कमा टिकट काट्न लाइनमा थिए । बसपार्कमा लाइन थियो ।

टिकट लिन बसपार्कको बास

घण्टौं लाइन बस्दा पनि यात्रुले टिकट काट्न सकेनन् । यातायात व्यवस्था विभागले टिकट काट्न समस्या नहुने बताउँदै आए पनि यात्रुले कष्ट भोग्नुपरेको गुनासो गरेका छन् । बिहानै लाइन अव्यवस्थित देखिन्थ्यो । टिकट काट्न यात्रुबीच तँछाडमछाड चलेको थियो । सादा पोसाकमा प्रहरी परिचालन गर्ने भनिए पनि बिहानै आइपुगेका थिएनन् ।


लाइन बस्ने यात्रु आक्रोशित देखिन्थे ।


बझाङका कमलकुमार थापा यही भीडमा थिए । उनी टिकट काट्ने पालो पर्खिंदै लाइन बसेका थिए । बिहान ३ बजे लाइन बसेका उनले ९ बजे मात्र टिकट हात पारे । ‘१२ गतेबाट कलेज छुट्टी हुन्छ, १३ गते घर जान भनेर टिकट काट्न आएको थिएँ,’ उनले भने, ‘निकै समय लाइन बसेपछि मात्र टिकट पाइयो, म आउँदा भीड लागिसकेको थियो ।’ बिहानै पाका उमेरकाहरू पनि टिकट लिन पुगेका थिए ।


‘बर्सेनि घण्टौं लाइन लागेर टिकट काट्नुको विकल्प हुँदैन,’ उनले भने, ‘सबैतिर अनलाइनबाट बुकिङको व्यवस्था गरे यसरी लाइन लागेर बस्नुपर्ने थिएन ।’ यो समस्या उनको मात्र होइन । बसपार्कमा टिकट काट्न आउने सबैको साझा समस्या हो । यात्रुले टिकटमा बस नम्बर नराखी टिकट दिएको गुनासो गरेका छन् । नयाँ बसपार्कमा मध्यपश्चिम र सुदूरपश्चिम जाने यात्रुको भीड बढी थियो । उक्त क्षेत्र जाने यात्रुका लागि नयाँ बसपार्कबाहेक अन्यत्र काउन्टर नहुँदा भीड भएको हो ।


बिहानै टिकट काट्नेले समस्या झेले पनि पछि प्रहरी आएर लाइनलाई व्यवस्थित गर्ने काम गरेको थियो । लाइन बसेर ढिला काउन्टरमा टिकट लिन पुगेकाहरूले जहाँ जानुपर्ने हो । त्यहाँको टिकट नपाएको गुनासो गरे । पछि नजिक पर्ने जिल्लाको टिकट लिएका थिए । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल भने बुकिङ खुलेको पहिलो दिन एकैचोटि धेरै यात्रु टिकट काट्न जाँदा भीड भएको हो ।


‘बुकिङ खुला भएको दिन सबैलाई टिकट सकिन्छ भन्ने डर भयो, त्यही भएर भीड बढी भयो,’ उनले भने, ‘ढुक्क भए हुन्छ, टिकट सकिँदैन, सोमबारबाट लगातार काउन्टर खुला रहनेछन् ।’ उनले बुकिङ खुला गरेकै दिनबाट सादा पोसाकमा प्रहरी परिचालान गरिएको बताए ।


‘टिकट चाँडै सकियो भन्ने गलत कुरा हो, हामीले यसको अनुगमन गरिरहेका छौं,’ उनले भने, ‘सबै काउन्टरमा टिकट खुला गरेका छौं, टिकटमा समस्या छैन ।’ नयाँबसपार्कमा शनिबार नै नागरिक सहायता कक्ष सुरु भएको छ । ९ गतेभित्र मुख्य टिकट काउन्टर भएको उपत्यकाका १४ स्थानमा उक्त कक्ष सञ्चालनमा आइसक्ने महानिर्देशक हमालले बताए । यात्रुले टिकटमा बस नम्बर नलेखिएको भन्ने गुनासोबारे महानिर्देशक हमालले लाइनका गाडीका बस नम्बर राखिए पनि बाहिरबाट तान्नुपर्ने गाडीको नम्बर टिकटमा अहिले नहुने प्रस्ट पारे ।


‘यसमा व्यवसायीलाई पनि समस्या होला,’ उनले भने, ‘विभिन्न जिल्लाबाट ल्याइने बसका बारेमा के गर्न सकिन्छ, व्यवसायीलाई बोलाएर छलफल गर्नेछौं ।’ यात्रु लिएर जाने गाडीको शंका लागेमा कन्डिसन चेकजाँच गरिनेछ । सहायता कक्ष टिकट बुकिङ गौशाला, नयाँबसपार्क, चाबहिल, कोटेश्वर, बल्खु, कलंकी, नागढुंगालगायत स्थानमा रहनेछ । जहाँ ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागका कर्मचारी, उपभोक्ता समाजका प्रतिनिधि रहनेछन् ।


व्यवसायीले भाडा बढाएर लिन नपाउने र भाडादर बसमा यात्रुले देख्ने गरी टाँस्नुपर्ने महानिर्देशक हमालले बताए । यातायात व्यवसायीका अनुसार दसैंमा १८ देखि २० लाखसम्म यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् । अहिले टिकट बुक गर्ने यात्रुहरू घटस्थापनाबाट गन्तव्यमा जान थाल्ने छन् ।


यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार सबै काउन्टरमा यात्रुको भीड थियो । ‘पहिलो दिन भएर सबै काउन्टरमा यात्रुको भीड लागेको हो,’ उनले भने, ‘दोस्रो दिनबाट भीड कम हुँदै जानेछ ।’ उनका अनुसार सबै काउन्टरमा टिकट खुला भएकाले कतिले टिकट काटे भनेर संख्या निकाल्न सकिएको छैन ।


‘गुल्मीका लागि मात्र एकैदिनमा ३ हजारले टिकट लगिसकेका छन्,’ उनले भने, ‘महान् चाड हो, सबै आआफ्नो घर जान्छन्, त्यसैले सबैतिरको काउन्टरमा भीड लागेको हो ।’ उनले जागिरे, विद्यार्थी राति नै गएर लाइन बसेको हुन सक्ने बताए । यात्रुको भीड चाँडै लागेपछि बिहान ६ बजेबाट टिकट खुला गरिएको थियो ।


टिकटमा अहिले गाडी नम्बर उल्लेख गरिँदैन । ‘अधिकांश गाडी रोटेसनले आइपुग्छन्, बाटोको अवस्था राम्रो छैन, कुन गाडी आइपुग्छ थाहा हुँदैन,’ महासचिव सिटौलाले भने, ‘त्यही भएर टिकटमा प्रायः गाडीको टिकट नम्बर दिइएको छैन ।’ उनले लाइनमा बसेर टिकट काटिसकेपछि आफू जाने ठाउँको नाम, मागेको सिट नम्बर र जाने दिनको मिति टिकटमा भए/नभएको कुरा हेरेर मात्र लिन यात्रुलाई सुझाव दिएका छन् । यातायात व्यवसायीलाई सबैभन्दा ठूलो चिन्ता सडकको छ ।


प्रभावकारी भएन अनलाइन बुकिङ

अनलाइनबाट टिकट बुकिङ गर्न मिल्छ भन्ने जानकारी सबैमा नहुँदा लाइन लागेरै टिकट काट्नुपर्ने बाध्यता छ । अहिले पनि गत वर्षजस्तै यात्रु लाइन लागेर टिकट काट्दै छन् । बसको टिकटका लागि अहिले लाइन लाग्नुपर्ने अवस्था छैन । विभिन्न अनलाइनमार्फत घरमै बसेर टिकट बुकिङ गर्न सकिन्छ । अनलाइनमा गाडी भाडादर ठाउँअनुसार राखिएको छ । डेढ दर्जन गाडी कम्पनीहरूले अनलाइनमार्फत टिकट बुकिङ खुला गरेका छन् ।


‘केही कम्पनीले मात्र अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाएका छन्, सबै कम्पनीको छैन,’ महानिर्देशक हमालले भने, ‘आगामी वर्षबाट अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाउने छौं, यो कार्य अझै प्रभावकारी भइसकेको छैन, यसलाई प्रभावकारी बनाउनेछौं ।’ लामो दूरीका बसका लागि यो सेवा खुला गरिएको छ । यात्रुले आफू गाडी चढ्ने ठाउँ र जानुपर्ने गन्तव्य छानेर तोकिएको भाडादर तिरेर बुक गर्न सक्नेछन् ।


प्रकाशित : आश्विन ६, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?