कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

जितिया पावैन बड भारी...

श्यामसुन्दर शशि

(जनकपुर) — ‘जितिया पावैन बड भारी, धीयापूताके ठोकि सुतौलनि, खएलनि, भरि थारी...’ 
जितिया पर्वको दोस्रो दिन मिथिला क्षेत्रभरि यस्ता गीत सुनिए । अर्थ हो– ‘जितिया गाह्रो पर्व हो ।

जितिया पावैन बड भारी...

व्रतालुहरू बालबालिकालाई सुताएर आफैं पेटभरि खान्छन् ।’ दोस्रो दिन सूर्य उदाउनुअघि अङोठन (च्युरा, दही, अमोटलगायत खानेकुरा) खाई पुनः व्रत बस्ने प्रक्रियालाई गीतले व्याख्या गर्छ । गाउँदा गाउँदै लोकगीत बनेका यी पंक्तिको आशय अङोठन खानेबेला बालबालिकाले अशुद्ध नगरून् भन्ने पनि लाग्छ ।


यही कारण मिथिलाञ्चलमा जितियालाई निकै कठिन पर्वको संज्ञा दिइन्छ । पण्डित दीगम्बर झाका अनुसार ‘छठी महापर्व पनि कठिन नै मानिन्छ तर छठमा व्रत भंग भयो भने अर्को वर्ष बस्न पाउँछन् तर जितिया त्यो सुविधा छैन । व्रतको अवधिमा दाँतले सिन्कोसम्म टोक्यो भने पनि आजीवन व्रत बस्न पाउँदैनन् । यहाँसम्म कि जितियाका व्रतालुहरू थुकसम्म निल्न नहुने, हँसियाले तरकारीसम्म काट्न नहुने विधान छ ।’


सन्तानको दीर्घायुसँगै पारिवारिक सुख शान्तिको कामनासाथ प्रत्येक वर्ष आश्विन कृष्णपक्षको सप्तमीदेखि नवमी तिथिसम्म हुने यस पर्वको मुख्य आकर्षण भने अष्टमीका दिन जलायशमा स्नान गरी ‘जिमुतवाहन’ भगवान्को कथा श्रवण गर्नु हो ।


पण्डित झाका अनुसार जितियाका व्रतालु सप्तमी तिथिदेखि निराहार व्रत सुरु गर्छन् र अष्टमी तिथिको समाप्तिपछि पार्वन अर्थात् अन्न जल ग्रहण गर्छन् । यस वर्ष तिथि क्षयका कारण व्रतालुले ३६ घण्टाभन्दा लामो अवधि निराहार बस्नुपर्‍यो । व्रतालुहरूले शुक्रबार पर्व आरम्भ गरेका थिए । व्रतअघि पवित्र जलाशयमा स्नान गरी खाने तेल र पिना चढाएका थिए । स्नान गर्नुपूर्व कपालमा पिना राखेर स्नान गर्ने चलन पनि छ ।


स्नानपछि माछ–मरुवा (माछा र कोदोको रोटी) खाने चलन छ । त्यसैले व्रतको पहिलो दिनलाई स्थानीय भाषामा ‘माछ–मरुवा’ पनि भनिन्छ । ‘अन्य पर्वमा माछा, मासु, लसुन, प्याजसमेत वर्जित हुने भए पनि यस व्रतमा भने कोदाको रोटीसँग खाने चलन रहेको’ मैथिली संस्कृतिका जानकार सुनील मल्लिकले बताए । ‘यो लोक पर्व हो,’ उनले भने, ‘त्यही भएर लोक आहारलाई महत्त्व दिइएको हो ।’


पछिल्लो समय भने माछा, मासु, लसुन, प्याजलगायत गरम भोजन गर्नेको संख्यामा कमी आएको व्रतालु संगीता देवीले बताइन् । ‘मुखबाट पानी आए वा बान्ता भए आजीवन व्रत बस्न अयोग्य भइन्छ । यसैकारण व्रतालुहरू अचेल गरम भोजन खान रुचाउँदैनन्,’ उनले भने । पछिल्लो समय तीजजस्तै जितिया पर्वको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम पनि हुने क्रम बढेको छ । व्रतालुहरू सुस्वादु भोजनसँगै नाचगान गर्न थालेका छन् ।


जनकपुर उपमहानगरपालिकाकी उपमेयर रेणुकुमारी झाको उपस्थितिमा मूल समारोह नै भयो । जनकपुर–१ की निर्मला साह भने जितिया पर्वलाई तीजजस्तै तडकभडकबाट जोगाउनुपर्ने राय दिन्छिन् । ‘आधुनिकताका नाममा पर्वलाई विकृत बनाउनु उचित होइन,’ उनले भनिन् ।


जितियाको कथा :

भविष्य पुराणमा वर्णन भएअनुसार नर्मदा नदीको किनारमा बाहुट्टार नामक मरुस्थल थियो । मरुस्थलमा एउटा पाखरको रुख थियो । रुखको जरामा एउटा स्याल र फेदमा चिल बस्थे । दुवैमा घनिष्ठ मित्रता थियो । एक दिन दुवै मित्रले नर्मदा नदीमा महिलालाई पवित्र स्नान गरेको देखेछन् अनि सोधेछन्– तिमीहरू के गर्न लागेका ? आफूहरू जिमुतवाहन भगवान्को व्रत बस्न लागेका तथा यसबाट सन्तानको आयु लामो हुने कुरा पनि उनीहरूले सम्झाएछन् अनि दुवै जनाले नुहाइधुवाइ गरी व्रत बस्ने निधो गरेछन् । यसपछि स्यालले भोक खप्न नसकेकाले उसको अनिष्ट भएको कथामा वर्णन छ ।


प्रकाशित : आश्विन ६, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?