१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कानुन मापन गर्न कार्यदल

काठमाडौँ — राष्ट्रिय सभाअन्तर्गतको ‘विधायन व्यवस्थापन समिति’ ले प्रचलित ऐन–कानुन कार्यान्वयनको अवस्था मापन तथा अध्ययन गर्न समितिका सभापति परशुराम मेघी गुरुङको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ । 

कानुन मापन गर्न कार्यदल

विधायन समितिको बैठकले आइतबार उत्तर विधायिकी परीक्षण (पोस्ट लेजिस्लेटिभ स्क्रिटिनी) का लागि कार्यदल गठन गरेको हो । कार्यदलको समयावधि तोकिएको छैन । समिति सदस्यमा सांसदहरू वृषेशचन्द्र लाल, जितेन्द्रनारायण देव, उदया शर्मा पौडेल, प्रकाश पन्थ, रामलखन चमार र सिंगबहादुर विक छन् । कार्यदलले राष्ट्रिय सभा नियमावलीअनुसार विधायन समितिद्वारा ०७५ मंसिर १९ गते पारित ‘ऐन कार्यान्वयन मापन तथा अध्ययन र अनुसन्धानसम्बन्धी कार्यविधि, ०७५’ अन्तर्गत ऐनहरूको मूल्यांकन गर्नेछ । ‘देशमा ऐन र नियमावलीको चाङ नै भयो तर तिनको प्रभावकारिता भयो, भएन भनेर कसैले ध्यान दिएन,’ कार्यदल सदस्य सांसद पन्थले भने, ‘अब त्यसको अध्ययन गरौं भनेर हामी लागेका हौं ।’


विधायन समितिले यसअघि शिक्षा, भूमि, उपभोक्ता र यातायातसम्बन्धी कानुनको अध्ययन तथा मापन गर्न ४ वटा उपसमितिसमेत बनाएको छ । कार्यदलले ऐन–नियमहरूको अध्ययन गर्ने, कार्यक्रम बनाउने, प्रतिवेदन तयार गर्ने र विज्ञहरू बोलाएर छलफल गर्ने उनले जानकारी दिए ।


समितिले बनाएको कार्यविधिले कुनै ऐन वा ऐनहरूबीचको दोहोरोपन हटाउने, निप्प्रभावी दफाहरूलाई खारेज गर्ने, ऐन तत्काल कार्यान्वयन हुने अवस्थालाई प्रोत्साहन गर्ने र संविधान तथा प्राकृतिक न्यायको सिद्धान्तअनुसार ऐन निर्माण हुने अवस्था सिर्जना गर्न जोड दिने उद्देश्य राखेको छ । उत्तर विधायिकी परीक्षणको जानकारी गराउन दसैं आसपास पुस्तिका प्रकाशन गर्ने तयारीसमेत भएको विधायन समितिका सचिव मनोजकुमार गिरीले बताए ।


कार्यदलले ऐनबमोजिम नियमावली, निर्देशिका, कार्यविधि एवं विनियमावली निर्माण भएका छन् कि छैनन् भनेर पनि अध्ययन गर्नेछ । कार्यविधिअनुसार सामान्यतया ऐन प्रारम्भ भएको मितिले ३ वर्ष पूरा भएपछि त्यसको मापन गर्नुपर्छ । विधायन समितिले हरेक मन्त्रालयलाई आफू सम्बद्ध ऐनहरूको मापन लागू भएको ५ वर्षपछि गर्नुपर्ने भनेको छ ।


प्रकाशित : आश्विन ६, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?