कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बालक पनि यौन शोषणमा

प्रशान्त माली

काठमाडौँ — –२०७५ साउनमा बालयौन दुराचारमा दुई फ्रान्सेली नागरिक पक्राउ परे । स्वदेश फर्किन लागेका ४२ वर्षीय क्रिस्टोफे ग्योलक्स र ३८ वर्षीय मिचेल चुपाउलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गौशालाबाट पक्राउ गरेको थियो । कागेश्वरी मनहरामा डेरा लिई बस्ने उनीहरूले त्यसैलाई बालयौन दुराचारको थलो बनाएका थिए । चुपाउ यसअघि पनि बालयौन दुराचारकै आरोपमा समातिइसकेका थिए । उनीहरूले बालकलाई फुटबल, चकलेट, स्पोर्ट्स ड्रेस किनिदिने, स्विमिङ पुलमा पौडी खेल्न लैजाने जस्ता प्रलोभनमा पारी यौन दुराचार गर्दै आएका थिए । 

बालक पनि यौन शोषणमा

– प्रहरीले २ वर्षअघि दुई जना बालकमाथि यौन दुर्व्यवहार गरेको आरोपमा जर्मन नागरिकलाई समात्यो । राष्ट्रिय बाल अधिकार परिषद्को तथ्यांकअनुसार ती नागरिकले काभ्रेमा घर भाडामा लिएर बालकमाथि लामो समयदेखि यौन दुर्व्यवहार गर्दै आएका थिए ।


– प्रहरीले ३ वर्षअघि ललितपुर बगलामुखी मन्दिरबाट एक १२ वर्षीय वर्षीय बालकमाथि यौन दुर्व्यवहार गरेको आरोपमा स्थानीय खड्गी थरका युवकलाई पक्राउ गरी मुद्दा दर्ता गर्‍यो । ती बालक मन्दिर क्षेत्रमा मागेर खाने एक महिलाका छोरा थिए । ललितपुर जिल्ला अदालतले करणी गर्ने युवकलाई जबर्जस्ती करणी र अप्राकृतिक मैथुन मुद्दाअन्तर्गत ६ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तिराउने फैसला गर्‍यो । करणी गरेका युवक नक्खु कारागारमा कैदी जीवन भुक्तान गरिरहेका छन् ।


यी केही प्रतिनिधि घटना हुन्, जसले बालक पनि यौन दुर्व्यवहारमा पर्ने गरेको पुष्टि गर्छन् । बालकमाथि हुने अधिकांश यौन दुर्व्यवहार गोप्य हुने गरेको बाल अधिकारकर्मी बताउँछन् । उनीहरूका अनुसार सामाजिक बहिष्कार, आफन्तको संलग्नता, कमजोर आर्थिक अवस्था, समलिंगी भनेर हेप्नेलगायत कारणले प्राय: बालकले आफूमाथि भएका यौन दुर्व्यवहार गोप्य राख्ने गरेका छन् । कतिपय घटना भौगोलिक विकटताका कारण पनि प्रकाशमा आउन नसकेको बाल अधिकारकर्मी विश्वराज वज्राचार्यको भनाइ छ । ‘केटाकेटी होटल, रेस्टुरेन्टमा गए शंका गर्छन् तर केटाकेटा एउटै कोठामा फेला परे प्रहरीले केही गर्दैन । बालकमाथि यौन शोषण बढ्नुका विभिन्न कारणमध्ये यो पनि एउटा हो,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्न दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्छ ।’


प्रत्येक वर्ष बालक यौन हिंसाका घटना बढ्दा छन् । आर्थिक वर्ष २०७५/७६ मा २ सय ५२ जना बालबालिका यौन दुर्व्यवहारमा परेका थिए । त्यसमा १८ जना बालक छन् । २०७४/७५ मा २ सय ४३ जना बाल यौन दुर्व्यवहारमा परेकामा ७ जना बालक रहेको परिषद्को तथ्यांक छ । प्राय: यस्ता घटना छिमेकी र आफन्तबाट हुने गरेका छन् । बालबालिकामाथि हुने बलात्कार, अपहरण, बेचबिखनजस्ता घटना निराकरण गर्न आफूहरू गम्भीर एवं संवेदनशील रहेको राष्ट्रिय बाल अधिकार परिषद् बाल संरक्षण कार्यक्रमकी व्यवस्थापक नमुना भुसालले बताइन् । ‘हामीले कसैले खबर गरे यौन हिंसामा परेकाको उद्धार गरी संरक्षण गर्ने र पीडितलाई न्यायका लागि मुद्दा चलाउँदै आएका छौं,’ उनले भनिन्, ‘क्षतिपूर्तिको व्यवस्था पनि गरेका छौं ।’ स्थानीय तहमा बालबालिकाका विषय अझ सशक्त एवं प्रभावकारी बढाउन समन्वय भइरहेको उनको भनाइ छ । ‘रेडियो र टीभी कार्यक्रमबाट जनचेतना फैलाउने काम पनि गरिरहेका छौं,’ उनले भनिन् ।


बालबालिकामाथि हुने यौन दुर्व्यवहार रोक्न प्रहरीले समुदाय–प्रहरी साझेदारीअन्तर्गत गठित समिति परिचालन गर्ने योजना बनाएको छ । यसका लागि गृहकार्य भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए । ‘समितिको अगुवाइ गर्ने जिम्मेवारी प्रहरीको हो । अहिले समितिलाई प्रहरीकै अंगका रुपमा विकास गर्ने योजनामा छौं,’ उनले भने, ‘यसका लागि प्रधान कार्यालयमा पनि छुट्टै महाशाखा खडा गर्न प्रहरी दरबन्दी माग भएर आउने प्रक्रियामा छ ।’


प्रकाशित : आश्विन ५, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?