‘विकासबाट ठगिएकालाई सी विचारधारा’

काठमाडौँ — नेकपाका नेताहरूले नेपाल जस्तो समाजवादउन्मुख मुलुकका लागि चीनका राष्ट्रपति एवं चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङको विचारधारा प्रभावकारी हुने बताएका छन् । कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समारोह समितिले शनिबार राजधानीमा गरेको कार्यक्रममा सीको विचारधारा र त्यसले नेपाललाई पार्ने प्रभावबारे बहस सुरु गर्दै उनीहरूले त्यस्तो धारणा व्यक्त गरेका हुन् । 

‘विकासबाट ठगिएकालाई सी विचारधारा’

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै समितिका संयोजक एवं नेकपाका स्थायी समिति सदस्य घनश्याम भूसालले पश्चिमा देशहरूको विकासको मोडेलबाट ठगिएका मुलुकहरूले ‘सी विचारधारा’ पछ्याउनु उपयुक्त हुने धारणा राखे । आफ्नो देशको उन्नतिका लागि आन्तरिक एवं बाह्य मुलुकसँग सम्बन्ध स्थापित गर्न बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अवधारणा अघि सारेर चीनले पश्चिमा मुलुकको विकासको अवधारणाको विकल्प छ भन्ने पुष्टि गरिदिएको उनले बताए । ‘सीको यो अवधारणालाई अवलम्बन गर्नु चीनप्रतिको आत्मसमर्पण नभई आफ्नो आत्मसम्मान स्विकार्नु हो,’ भुसालले भने, ‘तर पुरानो व्यवस्थाका कतिपय मानिस यसलाई असफल बनाउन पहल गरिरहेका छन् ।’

सीको योजनाले मुलुकलाई सम्पूर्ण रूपमा समाजवादतर्फ उन्मुख हुन सहयोग पुर्‍याउने भुसालको भनाइ छ । चीनले अरूलाई पैसा बाँड्न नभई समाजवादी समृद्धिमा सबैलाई समावेश गर्न बीआरआईको अवधारणा ल्याएको उनले बताए ।


कार्यक्रममा नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले पश्चिमा पुँजीवाद कमजोर बन्दै गएको सन्दर्भमा चिनियाँ राष्ट्रपति सीको विकास मोडेलले विश्वको मन जित्न सफल भएको तर्क गरे । नेपालले सीको अभियान परिष्कृत समाजवादी मोडेल भाएकाले त्यसलाई सफल पार्नुपर्नेमा उनको जोड छ । बीआरआई भौतिक समृद्धिको मात्रै अभियान नभएर समाजवादी अभियान भएको उनको टिप्पणी थियो । ‘बीआरआई अभियानसँग जोडिँदा निर्णयको स्वतन्त्रता हामीसँग राख्न सक्छौं कि सक्दैनौं भन्ने कुरा महत्त्वपूर्ण हो, यो अभियानमा जोडिएर हाम्रो हितमा हुने कुरालाई आत्मसात् गर्नुपर्छ, नेपालको समृद्धिका लागि प्रयोग गर्नुपर्छ,’ शर्माले भने ।


चीनले अरूको नक्कल गरेका कारण धोका पाएपछि सुरु गरेको सिर्जनशीलताले नै उसको विकास द्रुतगतिमा हुन सकेको नेकपाका अर्का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बताए । अबको सय वर्षमा चीन विकसित देशको एक नम्बरमा पुग्ने उनको दाबी छ । अब चीनसँग भौतिक विकासका योजनाभन्दा पनि ज्ञान अभिवृद्धिसम्बन्धी परियोजना माग्नुपर्ने स्थायी समिति सदस्य गणेश शाहको सुझाव छ ।


प्रकाशित : आश्विन ५, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?