कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किताबै नबोकी स्कुल

आश गुरुङ

(लमजुङ) — क्व्होलासोंथर गाउँपालिका–१ मैसेक्राकी उषा लामा बाग्लुपानीस्थित जनज्योति मावि कक्षा ९ मा पढ्छिन् । करिब १ घण्टाको बाटो उनी किताब नबोकी स्कुल पुग्छिन् । बेंसीसहर नगरपालिका–९ बिम्दागाउँका इन्द्रमान विक पनि किताबबिनै स्कुल पुग्छन् । उनी १० कक्षाका विद्यार्थी हुन् । उनीहरूले किताब नभएर नबोकेका होइनन् । ‘घरका लागि घरमै किताब छ । स्कुलका लागि स्कुलमै किताब छ,’ इन्द्रमानले भने । 

किताबै नबोकी स्कुल

जनज्योति माविका उषा र इन्द्रमान मात्रै होइन, कक्षा १ देखि १० सम्मका १ सय ६० विद्यार्थीले नै घरबाट स्कुल जाँदा र फर्किंदा किताब बोक्दैनन् । उनीहरू हरेकसँग घर र स्कुलमा गरी २ सेट किताब छ । कक्षाकोठामा राखिएको एक सेट किताब विद्यालयले नै व्यवस्था गरिदिएको हो । घरमा राखिएको किताब सरकारले दिएको अनुदानबाट खरिद गरिएको हो । विद्यार्थीहरू गृहकार्यका केही कापीबाहेक कलमसमेत बोक्दैनन् ।


वर्ष दिन अघिसम्म विद्यार्थी पसिनै पसिना भएर उकाली–ओराली गर्दै कक्षाकोठामा आउँथे । दिनभर पसिनाकै चिसोमा बस्थे । आफू जत्रै झोला बोकेका हुन्थे । ‘घरबाट स्कुल आउँदा निकै थाकिन्थ्यो । झोलाभरिको किताबले उकालो बाटोमा निकै गलाउँथ्यो,’ इन्द्रमानले सुनाए, ‘अहिले बाटोमा किताब बोक्नु पर्दैन ।’


ग्रामीण भेगको विद्यालयमा टाढाटाढाका विद्यार्थी भएकाले उनीहरूलाई समयमै स्कुल आउन र किताबको गह्रौं भारी बोक्नबाट छुटकारा दिलाउन २ सेट किताब व्यवस्था गरिएको प्रधानाध्यापक बिलप्रसाद गुरुङले बताए । ‘किताब बोक्न नसकेर स–साना नानीबाबु कहिलेकाहीं स्कुल नै आउँदैनथे । किताब बोक्नु नपर्ने भएपछि सबै स्कुल आउँछन् । थकान नलागेपछि पढाइमा ध्यान दिन्छन्’ उनले भने ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर विकका अनुसार विद्यार्थीले घर र स्कुलको किताबलाई जतन गरेर राखेका छन् । ‘स्कुलको किताब शिक्षकको निगरानीमा हुन्छ । घरमा अभिभावकले ख्याल गर्छन्,’ उनले भने । विद्यालय आउने विद्यार्थीलाई पठनपाठनमा सहज बनाउन स्कुल र घरमा छुट्टाछुट्टै किताबको सेट व्यवस्थापन गरेको उनले बताए ।


क्व्होलासोंथर गाउँपालिका–१ का वडाध्यक्ष पेमा गुरुङले जनज्योति माविले अन्य स्कुलको भन्दा फरक अभ्यास गरिरहेको बताए । ‘शैक्षिक गुणस्तर बढाउन घर र विद्यालयमा छुट्टाछुट्टै किताबको सेटको व्यवस्था नौलो अभ्यास हो,’ उनले भने, ‘यसबाट विद्यार्थीमा शारीरिक, मानसिक तनाव कम हुन्छ ।’


प्रकाशित : आश्विन ५, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?