कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

सवारी दुर्घटना : कारण भेटिन्छ, समाधान खोजिन्न

मकर श्रेष्ठ

काठमाडौँ — मुलुकभर सवारी दुर्घटनाबाट दिनहुँ ७ जनाको मृत्यु हुने गरेको छ । गत आर्थिक वर्षमा मात्रै मुलुकभर १३ हजार ४२१ दुर्घटनामा २ हजार ७६२ जनाको मृत्यु भयो । प्रहरीको ट्राफिक निर्देशनालयका अनुसार तीमध्ये ९ हजार ९४० दुर्घटनाको कारण चालकको लापरबाही हो । 

सवारी दुर्घटना : कारण भेटिन्छ, समाधान खोजिन्न

पछिल्ला ८ वर्षमा काठमाडौं, भक्तपुर र ललितपुरमा ४६ हजार दुर्घटना भए । त्यसमा १ हजार २३६ जनाले ज्यान गुमाए । २ हजार १४५ जना गम्भीर र ३२ हजार ६९५ जना सामान्य घाइते भए । गत वर्षका ८ हजार सवारी दुर्घटनामा ५०८ जनाले ज्यान गुमाए । यसअनुसार उपत्यकामा मात्रै दुर्घटनाबाट दिनहुँ एकभन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।


०७०/७१ मा भएका ८ हजार ४०६ दुर्घटनामध्ये ६ हजार ५ र ०७१/७२ मा ९ हजार १४५ दुर्घटनामध्ये ६ हजार ६०९ मा चालकको लापरबाही कारण थियो । पछिल्लो ५ वर्षयता दुर्घटनाबाट बर्सेनि २ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ ।


महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा दुर्घटना हुनुको कारण के हो भन्नेसमेत विश्लेषण गरेको छ । त्यसमा चालकको लापरबाहीलाई पहिलो कारण देखाइएको छ । उपत्यकामा आठ वर्षमा भएका ४६ हजार दुर्घटनामध्ये ४० हजार ४०८ दुर्घटना चालकको लापरबाहीले भएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले जानकारी दिए । महाशाखाले दुर्घटना हुनुका ९ कारण पत्ता लगाएको छ । दुर्घटनाको दोस्रो कारणमा तीव्र गति, तेस्रोमा मादक पदार्थ सेवन, चौथोमा सवारी साधनको यान्त्रिक गडबडी, पाँचौंमा ओभरटेक, छैटौंमा पैदल यात्रुको लापरबाही छ । सातौंमा तोडफोड, आठौंमा सडकको अवस्था र नवौं कारणमा मौसम एवं चौपाया हुने गरेको पाइएको छ । ‘दुर्घटनाको कारणसहित समाधानका लागि हामीले नीति निर्माण तहमा पठाउँछौं । यसबारे सबैलाई जानकारी पनि छ तर सुधारको नीतिगत व्यवस्था भएको छैन,’ नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले भने, ‘प्रहरीले गर्दा सुधार हुने काममा भने कमी गरेका छैनौं ।’


चालकको लापरबाहीले हुने दुर्घटना ०६८/६९ मा ४ हजार ११९ रहेकामा गत वर्ष ७ हजार ५२९ पुगेको छ । ०७१/७२ देखि चालकको लापरबाहीले हुने दुर्घटना बढेको ट्राफिकको तथ्यांक छ । ०७१/७२ मा चालकको लापरबाहीले ४ हजार ५४२ दुर्घटना भएकामा ०७२/७३ मा ५ हजार २०५ पुगेका छन् । ०६९/७० देखि भदौसम्म उपत्यकामा १ हजार २३६ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा मोटरसाइकल र स्कुटर चालक सबैभन्दा बढी ५६१ जना छन् । यस अवधिमा ४८० पैदल यात्रुको पनि मृत्यु भएको छ । साथै ३६ जना साइकल चालकको मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।


यति हुँदा पनि सरकारले कुनै घटनाको छानबिन समिति गठन नगरेको ट्राफिक प्रहरीको भनाइ छ । मृत्यु हुनेमा सबैभन्दा बढी १७ देखि ३५ वर्ष उमेर समूहका छन् ।


‘सडकमा हिँड्ने मान्छे मरेको हो भनेर महत्त्व नदिइएको हो । छानबिन गर्न कि कसैले दबाब दिनुपर्छ कि जहाज दुर्घटनामा पर्नुपर्छ अनि मात्रै छानबिन समिति बन्छ,’ सवारी व्यवस्थापनका जानकार पूर्वसचिव शरदचन्द्र पौडेलले भने, ‘सडक दुर्घटना धेरै हुन्छन् । यसमा कम पैसावाल हुन्छन् भन्ने त्रुटिपूर्ण बुझाइ सरकारको छ तर हेलिकप्टर दुर्घटनामा १ जना मरे पनि छानबिन समिति बनाइन्छ ।’


दुर्घटनाको कारण पत्ता लागे पनि सुधारको बाटो नअपनाइँदा सडकमा यात्रुलाई प्राथमिकतामा नराखिएको प्रस्ट हुने उनको भनाइ छ । दुर्घटना भएकामध्ये कम्तीमा १० प्रतिशतकै भए पनि अध्ययन गराउनुपर्ने उनको सुझाव छ । ‘सडकमा खटिएका प्रहरीले लेखेर पठाएका आधारमा दुर्घटना के कारणले भयो भन्ने थाहा हुने गरेको छ । सम्बन्धित यातायात कार्यालयमा रहेका इन्जिनियरमार्फत अध्ययन गराउन त सकिन्थ्यो, यति पनि भएन,’ पूर्वसचिव पौडेलले भने, ‘हरेक दुर्घटनामा चालकको लापरबाही भन्ने गरिन्छ । कतिपय सवारी ठीक अवस्थामा नभएर हुन्छ भने केहीमा सडकका कारण ।’ सवारी दुर्घटनामा विशिष्ट व्यक्ति परे मात्रै छानबिन हुनु उचित नरहेको उनले बताए । सवारी तथा यातायात व्यवस्था ऐनमा भएको व्यवस्था कार्यान्वयन नहुँदा दुर्घटना बढिरहेको ट्राफिक व्यवस्थापनका जानकार नेपाल प्रहरीका पूर्वएआईजी गणेशराज राईले बताए । ‘यातायात व्यवस्था विभागले आफू पनि गर्दैन, ट्राफिक प्रहरीलाई पनि अधिकार दिन्न । यसले पनि यातायात व्यवस्थापनमा समस्या देखिएको हो,’ उनले भने, ‘नियम उल्लंघन गर्नेलाई जरिवाना न्यून हुँदा पनि चालकको लापरबाही बढेको छ ।’


दुर्घटनाका कारण विश्लेषण गरेर आगामी दिनमा न्यूनीकरण गर्न र चालक एवं यातायात व्यवसायीलाई थप जिम्मेवार बनाउन संघीय यातायातसम्बन्धी कानुनको मस्यौदा बनाइसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बताए । ‘संघीय कानुन नबन्दासम्म प्रदेशले कार्यविधि र अन्य तरिकाबाट व्यवस्थापन गर्न प्रदेशस्तरमा छलफलसमेत भइरहेको छ,’ उनले भने ।

प्रकाशित : आश्विन ५, २०७६ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?