शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेज सहमत
चितवन — विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्न चितवन मेडिकल कलेज प्रशासन सहमत भएको छ । कलेज प्रशासन, विद्यार्थी र अभिभावकहरुबीच चितवन जिल्ला प्रशासन कार्यालयमा शनिबार दिनभर भएको वार्तामा सहमति जुटेको हो । कलेज प्रशासनले प्रतिबद्धता जनाएसँगै कलेजमा सञ्चालन भएको झण्डै एक महिने आन्दोलनपनि फिर्ता भएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सर्व पक्षीय वार्ताबाट पाँच बुँदे सहमति जुटेको जानकारी दिए । ‘चितवन मेडिकल कलेजले ३० कार्य दिन अर्थात् आउँदो कात्तिक १८ गतेभित्र स्नातक तहका सबै विद्यार्थीबाट नेपाल सरकार तथा आईओएमले तोकेभन्दा लिएको बढी शुल्क फिर्ता वा समायोजन गर्ने प्रतिबद्धता व्यक्त भएको छ’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने ।
चितवन मेडिकल कलेजमा भदौ ५ गतेदेखि नै आन्दोलन सुरु भएर पठनपाठन प्रभावित भएको थियो । भदौ १५ गतेदेखि विद्यार्थीले सडक संघर्ष नै सुरु गरेका थिए । सडक संघर्ष चर्कदै गएपछि मेडिकल कलेज प्रशासनले नै भदौ २७ मा सूचना निकालेर सबै शैक्षिक कार्यक्रम बन्द भएको जानकारी गराएको थियो । प्रशासन कार्यालयमा भएको वार्तामा आइतबारबाट विद्यार्थीका सबै कार्यक्रम स्थगित गरी पढाइ सुरु गर्ने सहमति भएको छ ।
चितवन मेडिकल कलेजमा आन्दोलन : वार्ता गराउने प्रजिअको आश्वासन
आन्दोलनरत विद्यार्थीले कलेजले तोकेभन्दा पाँच लाखदेखि २० लाख रुपैयाँसम्म बढी शुल्क लिएको बताउँदै आएका छन् । कलेज प्रशासनले भने एमबीबीएसमा ६ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको स्वीकार गरेको छ । सरकारले तोकेको शिक्षण शुल्कमा कुनैपनि अतिरिक्त शुल्क नलिए पनि अन्य खर्चका लागि थप शुल्क लिएको कलेज प्रशासनको भनाइ रहँदै आएको छ ।
यो पनि पढ्नुहोस्:
प्रकाशित : आश्विन ४, २०७६ १८:५५चितवन मेडिकल कलेजले आन्दोलनबारे बोल्यो- राजनीतिक अभीष्ट पुरा गर्न 'कसैले चलाएको गतिविधि'