अस्तव्यस्त बीपी प्रतिष्ठान, चार प्रमुख पद रिक्त

प्रदीप मेन्याङ्बो

सुनसरी — दक्ष चिकित्सक नभएका होइनन् । अधिकांश रोग पहिचान गर्न आधुनिक उपकरण पनि छन् । भौतिक पूर्वाधारले सुविधासम्पन्न मानिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुग्ने बिरामी र कुरुवाको एउटै मात्र गुनासो छ– पालो पर्खिंदैमा सास्ती खेप्नुपर्छ ।

अस्तव्यस्त बीपी प्रतिष्ठान, चार प्रमुख पद रिक्त

प्रतिष्ठानमा दैनिक सरदर तीन हजार जना बिरामी उपचारका लागि आउँछन् । स्त्री तथा प्रसूति, मेडिसिन, यौन तथा चर्म, नाक, कान र घाँटी (ईएनटी), शल्यक्रिया, बालरोग, मानसिक र आँखाको ओपीडीमा सधैं भीड हुन्छ ।

प्रतिष्ठान पस्नेबित्तिकै सुरुमा पुर्जी काट्ने काउन्टर, ओपीडी, एक्स–रे, जाँचका लागि रगत, दिसा–पिसाबका नमुना दिने काउन्टर, पछि ल्याबको रिपोर्ट लिने बेला र डायलाइसिसमा सधैं थामिनसक्नु भीड हुने गरेको छ । आकस्मिक कक्षमा पनि भीड कम भएको दिन विरलै मात्र हुन्छ । प्रतिष्ठानले सेवा दिने भए पनि भीड व्यवस्थापन गर्न सकेको छैन । यसले गर्दा अधिकांश बिरामीले ढिला उपचार पाउँछन् । चिकित्सकले पनि सही समय व्यवस्थापन गर्न सकेका छैनन् ।


पूर्वको ठूलो स्वास्थ्य संस्था चिकित्सा क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादनको प्रमुख थलो हो । यहाँ विभिन्न पदमा नियुक्ति राजनीतिक हस्तक्षेपबाट हुँदै आएको छ । त्यसैले बेलाबेला राजनीतिक खिचातानी हुनु अनौठो मानिंदैन । पदाधिकारीको काम कारबाहीबारे उजुरी परिरहन्छ । कहिले अख्तियारले छापा मारेर कागजपत्र जफत गर्ने, कहिले चिकित्सकको आन्दोलन त कहिले विद्यार्थी र कर्मचारीको आन्दोलन चलिरहन्छ । प्रतिष्ठान सञ्चालनका लागि चार प्रमुख पदमध्ये अहिले पूर्ण अधिकारप्राप्त उपकुलपति र रजिस्ट्रारको पद रिक्त छ ।


डेपुटी रजिस्ट्रार र फाइनान्स म्यानेजर पनि छैनन् । मेडिकल कलेज भएकाले यसले विद्यार्थी पढाउनेसँगै उपचार सेवा दिन्छ । यसको अर्को प्रमुख काम चिकित्सकीय अनुसन्धान पनि हो । सोही उद्देश्यअनुसार अढाई दशकअघि अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) ले अपनाएको गुरुयोजनाकै सञ्चालनको तरिकाबाट नेपाल–भारत सरकारको संयुक्त लगानीमा बीपी प्रतिष्ठान स्थापना गरिएको हो ।


दशकयता प्रतिष्ठानमा भ्रष्टाचारको ग्राफ बढ्दो मात्रै छैन, कर्मचारीको कामचोर प्रवृत्तिलाई राजनीतिक नियुक्ति र संघ/संगठनका गतिविधिले अस्तव्यस्त पार्न मलजल गरेको छ । यसको सोझो असर प्रतिष्ठानको नियमित सञ्चालनमा परेको छ । अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठानको साख उच्च रहेको दाबी गरिए पनि बिरामीले यतिबेला भोग्नुपरिरहेको सास्ती बिग्रिएको व्यवस्थापनकै कारण भएको गुनासो कतिपय कर्मचारीकै छ । कतिपय चिकित्सक नै भन्छन्– बीपी कोइराला मेडिकल साइन्स इन्स्टिच्युट अब पोलिटिकल साइन्स इन्स्टिच्युट बन्न पुगेको छ ।


प्रतिष्ठानले एक दशकदेखि विशेषज्ञ सेवा र पछिल्लो पाँच वर्षयता सुपर स्पेसियालिटी सेवा पनि सञ्चालन गरिरहेको भए पनि हरेक युनिटको ओपीडीमा बिरामीको भीड व्यवस्थापनमा ध्यान दिएको छैन । बिहान ८ देखि साँझ ५ बजेसम्म खुल्ने ओपीडी भएको प्रतिष्ठानका चिकित्सकले बाहिरको कुनै पनि निजी क्लिनिक वा अस्पतालमा प्राक्टिस गर्न जान नपाउने नियम छ । मुलुकमै सबैभन्दा धेरै फ्याकल्टी भएको स्वास्थ्य शैक्षिक संस्था भए पनि एउटा बिरामीले चिकित्सकको परामर्श लिन र रिपोर्ट प्राप्त गर्न अनेक झमेला मात्र व्यहोर्नु पर्दर्नै, घन्टौं लाइनमा बस्नुपर्छ ।

पेटसम्बन्धी समस्या लिएर आएकी मोरङ केराबारी–५ की मनमाया राईले भनिन्, ‘मेडिसिन विभागमा तीन दिन भयो धाएको । पालो पर्खंदैमा दिन जान्छ । बल्लबल्ल डाक्टर भेटियो । ल्याब टेस्ट र आन्द्राको इन्डोस्कोपी गर्नु भनेका छन् तर बिल तिर्ने ठाउँको भीडले पालै पाइएन ।’ इन्डोस्कोपी शाखामा बिल लिएरै पुग्नका लागि पालो पर्खिरहेको उनले बताइन् ।


प्रतिष्ठानमा उपचार गर्नका लागि सबैभन्दा पहिले १ सय १० रुपैयाँ तिरेपछि पुर्जी पाइन्छ तर यही पुर्जा प्राप्त गर्नका लागि बिहान ६ बजे नै काउन्टरको लाइनमा पुगिएन भने कम्तीमा चार घण्टा पर्खनुपर्छ । सँगै रहेको स्वास्थ्य बिमा काउन्टरमा पनि उस्तै पालो पर्खिनुपर्ने अवस्था छ । बिहान ८ देखि १० बजेसम्म दिएका ल्याब र सामान्य एक्स–रेको रिपोर्ट करिब ४ देखि ६ घण्टामा दिए पनि चिकित्सक उपलब्ध हुँदैनन् । ११ बजेपछिका ल्याबका रिपोर्ट देखाउन बिरामीले अर्को एक दिन पालो कुर्नुपर्ने अवस्था छ ।


रिपोर्ट निस्के पनि त्यो लिनका लागि फेरि उस्तै भीडमा लाम लाग्नुको विकल्प छैन । त्यहाँ पनि कम्तीमा एक घण्टा कुर्नुपर्ने प्रतिष्ठानले व्यवस्था गरेको छ । रिपोर्ट लिएर भोलिपल्ट बिहान ६ बजेदेखि ओपीडीमा पुगेका बिरामीले चार घण्टा पर्खेपछि १० बजे मात्र भीडको बीचमा चिकित्सक भेट्छन् । उक्त रिपोर्टका आधारमा चिकित्सकले औषधि लेखिदिने, बेड भर्ना गरिदिने र थप उपचार प्रक्रिया सुरु गर्ने वा अर्को विभागको ओपीडीमा पठाउने गर्छन् ।


बिमा गरेका र नगरेकाहरूले ८ बजे खुलेको काउन्टरबाट ओपीडी पुर्जा प्राप्त गरेर आफ्नो रोगअनुसार विभिन्न ओपीडीमा पुग्दा त्यहाँ अघिल्लो दिनका बिरामीले सिट कब्जा गरिसकेका हुन्छन् । उनीहरूको टोकनमा छाप लागिसकेको हुन्छ । आठै बजे काउन्टर खुले पनि ओपीडीमा भने चिकित्सकहरू करिब १० बजेमात्र आइपुग्छन् । प्रतिष्ठानका तिनै चिकित्सकले वार्डमा पनि घुमेर बिरामी हेर्नुपर्ने र चिकित्साशास्त्रका विद्यार्थीलाई पढाउनुपर्ने र अनुसन्धानात्मक काम पनि गर्नुपर्ने भएकाले दुई घण्टापछि पुग्दा ओपीडी कक्षमा बिरामीको चापले चिकित्सकहरू आफैं नै छिर्न हम्मेहम्मे हुन्छ ।


पुर्जा लिने काउन्टरमा १० बजे आइपुगेको कुनै पनि बिरामीले ओपीडीमा पालो पाउन मुस्किल हुने गरेको झापाको दमक–७ बाट आएका हरिराज तामाङले बताए । उनले भने, ‘सीटी स्क्यान गर्नुपर्छ भनेका छन् तर यहाँ बिग्रेको रहेछ । बिजोग भयो ।’


एउटै ओपीडीमा डेढ सयदेखि तीन सय जना बिरामी पालो कुरेर बसेका बेला चिकित्सकले पाँच मिनेट पनि पूरा समय दिन सक्दैनन् । ओपीडीमा बिरामीको हिस्ट्री लिएर सामान्य परीक्षण गरेपछि रोगअनुसार प्रेस्क्रिप्सनमा रगत, दिसा–पिसाबको ल्याब टेस्ट, एक्स–रे, भिडियो एक्स–रे, एमआरआई, इन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी, इकोकार्डियोग्राफी, डायलाइसिस र ब्लड कल्चर आदि गरेर रिपोर्ट ल्याएपछि औषधि लेखिदिने वा थप उपचार प्रक्रिया अपनाउने गरिएको छ ।


बिरामीले चिकित्सकको निर्देशनअनुसार विभिन्न जाँच गर्नुअघि सबैभन्दा पहिले बिल काउन्टर पुग्नुपर्छ । उक्त काउन्टरमा करिब डेढदेखि दुई घण्टामा पालो आउँछ । पैसा तिर्न पनि पालो पर्खिनुपरेपछि बिरामी वा कुरुवाले झन् सास्ती खेप्नुपरेको छ । काउन्टरबाट प्राप्त बिल लिएर रगत तान्न वा पिसाब दिनका लागि पनि फेरि अर्को दुई घण्टा पालोमा बस्नुपर्छ । भिडियो एक्स–रे, एमआरआई, इन्डोस्कोपी, कोलोनोस्कोपी, इकोकार्डियोग्राफी र डायलाइसिसका लागि भने दुई सातादेखि तीन महिनासम्मको पालो पर्खिनुपर्ने अवस्था छ ।

प्रकाशित : आश्विन ४, २०७६ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?