कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रदेश ५ का मुख्यमन्त्री पोखरेल महिनामा १० दिन काठमाडौं

काठमाडौँ — प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल महिनामा कम्तीमा १० दिन काठमाडौंमै हुन्छन् । पछिल्लो पटक उनी भदौ २९ गते काठमाडौंबाट फर्किए । भदौ ३० गते कार्यालयमै बिताए । भोलिपल्ट अर्घाखाँची गए र पार्टी कार्यकर्तालाई प्रशिक्षण दिए । उनी नेकपा प्रदेश इन्चार्जसमेत हुन् । उनले स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरे ।

प्रदेश ५ का मुख्यमन्त्री पोखरेल महिनामा १० दिन काठमाडौं

अर्घाखाँचीमा दुई दिन खर्चिए । मुख्यमन्त्री पोखरेल जुन जिल्लामा पुगे पनि पार्टी र सरकारको दोहोरो जिम्मेवारी निर्वाहमा समय बिताउँछन् । असोज २ गते कार्यालय फर्किएका उनी यहाँ सडक सफाइमा निस्किए । बिहीबार विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग ठूला आयोजना र प्राधिकरणको समस्यासम्बन्धी छलफलमा सहभागी भए । दिउँसो प्रदेशसभाको बैठकमा सहभागी भएर सरकारका विषयमा उठेका विषयवस्तुको जवाफ दिए । साँझ मन्त्रिपरिषद् बैठकमा सहभागी भए । शुक्रबार बिहान संविधान दिवस कार्यक्रममा सहभागी भए । दिउँसो नेकपाको संसदीय दलको बैठक बोलाए ।


शनिबार वन तथा वातावरण मन्त्रालयले लुम्बिनीमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै छन् । त्यसै साँझ काठमाडौं जाँदै छन् । असोज ५ गते उनी काठमाडौंमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा सहभागी हुनेछन् । मुख्यमन्त्रीका स्वकीय सचिव सरोज रेग्मीले असोज १६ गतेसम्म मुख्यमन्त्रीको कुनै दिन पनि खाली नरहेको बताए । ‘सरकार र पार्टीका कामसँगै जनताबाट हुने निमन्त्रणाले मुख्यमन्त्रीलाई दैनिक व्यस्त बनाउने गरेको छ,’ उनले भने, ‘त्यही बीचमा समय निकालेर सरकारका कामलाई निर्देशन दिने र छलफल गर्ने गर्नु हुन्छ ।’


मुख्यमन्त्रीको सामान्यखाले औपचारिक कार्यक्रममा देखिएको दौडधुपले जनतामा भने निराशा बढ्दो छ । उनले स्थानीय सरकारसँगको समन्वय प्रभावकारी बनाउन सकेका छैनन् । मुख्यमन्त्री पोखरेल सरकारका योजना कार्यान्वयन गर्ने मन्त्रालय र मन्त्रीसँगको छलफलमा निकै कम सहभागी हुने गर्छन् । नियमित हुने समीक्षा बैठक र मन्त्रिपरिषद्को बैठकमा बाहेक मुख्यमन्त्रीसँग मन्त्री र मुख्यमन्त्रीबीच सामूहिक छलफल निकै कम हुने गरेको एक मन्त्रीले बताए । मन्त्रीहरू पनि मुख्यमन्त्री पोखरेलसँग नियमित बहस र छलफल गर्दैनन् । मन्त्रालयका सचिव र उच्च तहका कर्मचारीसँग पनि मुख्यमन्त्रीको निकै कम घुलमिल छ । नेकपाकै प्रदेशसभाका सदस्यले पनि मुख्यमन्त्री भेट्ने समय नै नपाउने गरेको गुनासो गरे ।


मुख्यमन्त्रीका स्वकीय सचिव रेग्मीले संघीय सरकारसँगको छलफल र विदेशी दातासँगको छलफलका कारण काठमाडौं गइरहनुपरेको बताए । मुख्यमन्त्रीका लागि काठमाडौंमा प्रदेश सम्पर्क कार्यालय खोलिएको छ । अधिवक्ता महेन्द्र पाण्डेले मुख्यमन्त्रीको बोलाइ र काम गर्ने शैली फरक पर्दै गएको बताए । ‘शालीन, अध्ययनशील र बौद्धिक व्यक्तित्व भएकाले धेरैले ठूलो आशा गरेका थिए,’ उनले भने, ‘अहिले उहाँप्रति निराशा बढ्दो छ ।’ मुख्यमन्त्रीले मञ्च खोज्ने र भाषण गर्दै हिँड्नेभन्दा पनि नीति निर्माण र योजना कार्यान्वयनबाट जनतालाई जवाफ दिनुपर्ने उनले बताए ।

प्रकाशित : आश्विन ४, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?