कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

६३४ लाई मानपदवी, नेकपा निकटलाई बढी विभूषण

दीक्षित र अधिकारीलाई मरणोपरान्त ‘राष्ट्रदीप’  

काठमाडौँ — सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका ६ सय ३४ जनालाई मानपदवी, अलंकार र पदक दिने घोषणा गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको विभूषण सिफारिस समितिको प्रस्तावमा मन्त्रिपरिषद्ले मानपदवीको निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले यसपटक ४ सय ५० मानपदवी, १ सय ५६ अलंकार र २८ जनालाई पदक प्रदान गर्ने घोषणा गरेकी छन् ।

यसपटक अघिल्लो वर्षभन्दा बढीलाई विभूषण प्रदान गरिँदै छ । यसअघि ३ देखि साढे ४ सय जनासम्मलाई दिने गरिन्थ्यो । मानपदवी, अलंकार र पदक पाउनेमा समाजसेवी, व्यवसायी, कलाकार, साहित्यकार, पत्रकार र निजामती कर्मचारीमा सत्तारूढ पार्टी नेकपानिकट बढी छन् । यस वर्ष पहिलो र दोस्रो वरीयताको मानपदवी नेपाल रत्न र राष्ट्र गौरव कसैलाई दिइएको छैन । तेस्रो वरीयताको ‘राष्ट्रदीप’ मानपदवी साहित्यकार मदनमणि दीक्षित र हेलिकप्टर दुर्घटनामा मृत्यु भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई मरणोपरान्त प्रदान गर्ने निर्णय गरिएको छ ।


चौथो वरीयताको मानपदवी ‘जनसेवाश्री’ प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहसहित ७ जनालाई दिइँदै छ । यो मानपदवी पाउनेमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा (मरणोपरान्त) र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासमेत छन् । मानपदवीमा प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकलाई बढी महत्त्व दिइएको स्रोतले उल्लेख गरेको छ । ओलीको उपचारमा संलग्न नेसनल युनिभर्सिटी अस्पताल सिंगापुरका डा. अनन्थरमण बत्सला, डिपार्टमेन्ट अफ युरोलोजी तथा रेनल ट्रान्सप्लान्ट अस्पताल दिल्लीका अध्यक्ष प्राध्यापक डा. अनन्त कुमार, दिल्लीस्थित इन्स्टिच्युट अफ एडल्ट रिसन्स्ट्रक्सन, स्पोर्ट्स इन्जुरी एन्ड जोइन्ट रिप्लेसमेन्ट दिल्लीका अध्यक्ष डा. राजीवकुमार शर्मा र एपोलो अस्पतालका प्रमुख डा. हर्ष दुवासमेत जनसेवाश्री पदकबाट विभूषण हुने सूचीमा छन् । अस्ट्रेलियाको मेलबर्नका डा. डेभिड फ्रान्सिसलाई समेत जनसेवाश्री मानपदवी दिने घोषणा गरिएको छ ।


उज्ज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय) उच्चस्तरीय प्रशासन सुधार आयोग कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाललाई प्रदान गरिँदै छ ।


सुकीर्तिमय राष्ट्रदीप (तृतीय श्रेणी) डा. भगवान कोइराला, सचिवहरू यामकुमारी खतिवडा, आनन्द ढकाल, मणिराम ओझा, रामप्रसाद थपलिया, लालशंकर घिमिरे र शिशिर ढुंगानादेखि प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्य न्यौपानेसम्म छन् । सातौं वरीयताको सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी) को मानपदवी पाउनेमा गृह मन्त्रालयका सुरक्षा सल्लाहकार इन्द्रजित राईसम्मको नाम छ ।


मानपदवी पाउने पत्रकारको सूचीमा अधिकांश नेकपानिकट प्रेस संगठनका पूर्व र वर्तमान पदाधिकारी तथा सक्रिय कार्यकर्ता बढी छन् । सेना, दुवै प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका राष्ट्रसेवकलाई ठूलो संख्यामा विभूषण प्रदान गर्ने घोषणा गरिएको छ । नयाँ वर्ष वैशाख १ का दिन राष्ट्रपतिले मानपदवी, अलंकार र पदक प्रदान गर्नेछिन् ।

प्रकाशित : आश्विन ४, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?