लाइसेन्स पाउनै एक वर्ष

१६ लाख ९६ हजार ५ ले स्मार्ट कार्डको आवेदन दिएकामा ९ लाख ९८ हजार ६ सय ९० जनाको मात्रै प्रिन्ट
मकर श्रेष्ठ

काठमाडौँ — ललितपुरका रमेशबहादुर थापाले स्मार्ट कार्ड (लाइसेन्स) नवीकरण गर्न दिएको १० महिना भयो । कार्ड लिन भनेर उनी यातायात व्यवस्था कार्यालय एकान्तकुना र यातायात व्यवस्था विभागमा पाँच पटक धाइसके । 

लाइसेन्स पाउनै एक वर्ष

मंगलबार पनि विभाग पुगे । विभागले फेरि एकान्तकुनामै कार्ड पठाइसकेको भन्दै फर्कायो । झरीमा रुझ्दै उनी कार्यालय पुगे । त्यहाँ पनि कार्ड नभएको जवाफ आयो । शुक्रबार अस्ट्रेलिया जान लागेकाले आफ्नो कार्ड उपलब्ध गराइदिन उनले बारम्बार आग्रह गरे । जति हारगुहार गरे पनि उनले स्मार्ट कार्ड पाएनन् । ‘राज्यले तोकेको राजस्व तिरेपछि तत्काल उपलब्ध गराउनुपर्ने हो, १० महिनासम्म पनि पाइनँ, विदेश जाँदै छु । तर लाइसेन्स छैन,’ उनले भने, ‘एक मिनेटमा प्रिन्ट हुने कार्ड पाउन महिनौं कुर्नुपर्ने कस्तो विडम्बना ?’


उनी जस्ता सयौं सर्वसाधारण दैनिक यातायात व्यवस्था कार्यालयको लाइसेन्स फाँटमा आक्रोश पोखिरहेका हुन्छन् । रसिद देखाउँदै कर्मचारीलाई आफ्नो कार्ड आए/नआएको सोध्छन् । कम्तीमा ६ महिना कुर्दा पनि कार्ड नपाएपछि निराश हुँदै फर्किन्छन् ।


बुटबल, नेपालगन्जलगायत उपत्यकाबाहिरका कार्यालयबाट आवेदन दिएको २ वर्षसम्म स्मार्ट कार्ड नपाएपछि आक्रोशित सर्वसाधारण पनि काठमाडौं धाउने गरेका छन् । बुटवलका सागर बरालले ०७४ कात्तिक ८ मा स्मार्ट कार्डका लागि राजस्व बुझाए पनि नपाएपछि सोमबार एकान्तकुना आइपुगेका थिए । यातायात कार्यालय बुटबल, विभाग र एकान्तकुना भन्दै बारम्बार झुलाउने गरेको उनको गुनासो छ । ‘रसिदको अक्षर नबुझ्ने भइसक्यो । ट्राफिक प्रहरीले चेकिङ गर्दा सधैं दु:ख दिने गरेका छन्,’ बरालले भने, ‘दुई वर्ष हुँदा पनि मैले अझै लाइसेन्स पाउन सकिनँ ।’


चितवन नारायणगढका अनिल महर्जन नेपालगन्जबाट लाइसेन्स नवीकरण गर्न राजस्व तिरे पनि कार्ड नआएपछि काठमाडौं आइपुगेका छन् । उनी कार्ड लिन मात्रै दुई पटक नेपालगन्ज धाए । उता नभएपछि यातायात व्यवस्था कार्यालय ललितपुर आइपुगेका हुन् । ‘नेपालगन्जबाटै पाइन्छ भनेर राजस्व तिरें, पाइएन, यता पाइन्छ कि भनेर आएँ,’ उनले भने ।


रमेशबहादुर थापा, सागर र अनिल मात्रै होइन, लाइसेन्स नवीकरण र ट्रायल पास गरेकाले महिनौंसम्म खल्तीमा राखेर च्यातिएको रसिद लिएर आउने थापा जस्तै दैनिक सयौं हुन्छन् । कार्ड छपाइ भइसकेको म्यासेज आएकाले नै कार्ड पाउन सकेका छैनन् । नवीकरण र नयाँ लाइसेन्सका लागि आवेदन दिएका १६ लाखमध्ये ९ लाखको मात्रै कार्ड बनेको विभागका निर्देशक तीर्थराज खनालले जानकारी दिए । झन्डै ७ लाख जनाको स्मार्ट कार्ड अझै बन्न बाँकी रहेको उनले बताए । काठमाडौं उपत्यकामा २०१८ डिसेम्बरसम्म आवेदन दिएकाको मात्रै कार्ड प्रिन्ट भइसकेको खनालले बताए । ‘त्यसयताको प्रिन्ट हुनै बाँकी छ,’ उनले भने ।


स्मार्ट कार्डका लागि आवेदन र राजस्व तिरेको एक वर्षसम्म पनि नपाउने समस्या छ । ‘दैनिक ३ हजार जति मात्रै छापिने भएकाले एक वर्षसम्म लाग्ने गरेको छ,’ विभागका निर्देशक खनालले भने, ‘अब नयाँ ‘मास प्रिन्टर’ आइसकेको छ । यस्तो समस्या चाँडै टुंगिन्छ ।’ आवेदन दिएको महिनौंसम्म पनि कार्ड नपाएपछि चालकले राजस्व तिरेको रसिद बोकेर सवारी चलाउँदै आएका छन् । तर खल्तीमा राख्दाराख्दै रसिद च्यातिने र हराउने समस्याले उनीहरूलाई पिरोलेको छ ।


२०७५ माघ १० मा आवेदन दिएकी सोना श्रेष्ठ पनि सोमबार लाइसेन्स लिन लाइनमा थिएन । ट्रायल पास हुँदा उनी जति खुसी थिइन्, दुई पटकसम्म जाँदा पनि लाइसेन्स नपाउँदा निराश थिइन् । ‘तीन महिना लाग्छ भनेर फर्काइदियो,’ उनले भनिन् । यातायात कार्यालयका कर्मचारीले भने माघमा आवेदन दिएका सर्वसाधारणलाई तीन महिनापछि सम्पर्कमा आउन आग्रह गर्दै फर्काउने गरेका छन् । गत असोज १० मा स्मार्ट कार्डको आवेदन दिएका श्रीकृष्ण श्रेष्ठलाई ६ महिनाअघि कार्ड छपाइ भएको म्यासेज आएको थियो । तर अझै पाएका छैनन् । त्यसयता दुई पटक यातायात कार्यालय धाइसके उनी । ‘एकान्तकुना आएको थिएँ । बानेश्वर विभागमा जानू भन्छन् । बानेश्वर जाँदा एकान्तकुना पठाउँछन्,’ उनले भने ।


७ लाख छाप्नै बाँकी

अहिले ६ लाख ९७ हजार ३ सय १५ जनाको स्मार्ट कार्ड छपाइ हुन बाँकी रहेको यातायात व्यवस्था विभागका कम्प्युटर इन्जिनियर केशवराज गौतमले जानकारी दिए । काठमाडौं उपत्यकाका विभिन्न कार्यालयबाट २०१९ जनवरीयता आवेदन दिएकाको कार्ड छापिन बाँकी छ । काठमाडौं उपत्यकाको यातायात कार्यालयबाट २ लाख ५१ हजार ८ सय ७५ जनाको आवेदन दिएको ९ महिना हुँदा पनि स्मार्ट कार्ड छपाइ सुरु पनि भएको छैन ।


एकान्तकुनामा आवेदन दिएका १ लाख ७ हजार ३ जना, चाबहिलमा आवेदन दिएका ५५ हजार ४ सय ११, जगाती कार्यालयको ३६ हजार ३ सय ६१ र ठूलो भर्‍याङबाट आवेदन दिएका ५३ हजारको स्मार्ट कार्ड छपाइ हुन बाँकी छ । उपत्यकाबाहिरका बिर्तामोड, कोसी, लहान, जनकपुर, बर्दिबास, हेटौंडा, वीरगन्ज, कास्की, लुम्बिनी, धौलागिरि, राप्ती, जुम्ला, सुर्खेत, भेरी, डोटी, सेती, महाकाली र डडेलधुरा कार्यालयबाट स्मार्ट कार्डको आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । यी कार्यालयबाट आवेदन दिएका ४ लाख ४५ हजार ४ सय ४० जनाको अझै पनि स्मार्ट कार्ड प्रिन्ट भएकै छैन । ‘बाहिरी जिल्लामा एक वर्षअघि सेप्टेम्बरमा आवेदन दिएका स्मार्ट कार्ड प्रिन्ट भइसके,’ निर्देशक खनालले भने, ‘अरूको प्रिन्ट भइरहेको छ ।’


छापेको पनि लिन आउन्नन्

लाइसेन्स नवीकरण वा नयाँ बनाउनुपरेमा पहिलाको जस्तो कागजमा प्रिन्ट हुँदैन । स्मार्ट कार्डबाटै प्रिन्ट हुने व्यवस्था छ । ०७२ पुसदेखि स्मार्ट कार्डको व्यवस्था सुरु भएको हो । विभागका अनुसार मुलुकभरबाट आवेदन दिएका १६ लाख ९६ हजार ५ ले स्मार्ट कार्डको आवेदन दिएकोमा ९ लाख ९८ हजार ६ सय ९० जनाको कार्ड प्रिन्ट भइसकेको छ । यसमा सबैभन्दा बढी एकान्तकुनामा आवेदन दिएका ४ लाख ६९ हजार १ सय ९० जनामध्ये ३ लाख ६२ हजार १ सय ८७ जनाको कार्ड प्रिन्ट भइसकेको छ । ‘छपाइ भएका सबै कार्ड त आए तर लिनै आउँदैनन्,’ यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रका प्रमुख डम्बरबहादुर चन्दले भने । ५० हजारभन्दा बढी व्यक्ति कार्ड लिन नआएको उनले बताए । लाइसेन्स वितरण शाखामा छपाइ भएका कार्ड टेबलमै थुप्रिएका छन् । मुलुकभरका कार्यालयमा २ लाख कार्ड थन्किएको विभागका निर्देशक खनालले जानकारी दिए । ‘कार्ड छापिनेबित्तिकै म्यासेज पनि जान्छ,’ उनले भने, ‘तर कार्ड लिएनन् ।’


बाहिरी जिल्लामा सन् २०१८ सेप्टेम्बरसम्म आवेदन दिएका र काठमाडौं उपत्यकामा डिसेम्बरसम्म आवेदन दिएकाको कार्ड सम्बन्धित कार्यालयमा पुगिसकेको उनले बताए । कतिपयले रसिद र पुरानो लाइसेन्स हराएपछि नयाँ पाउन सकेका छैनन् ।


घण्टामा ४ सय ५० कार्ड छाप्ने मेसिन

यातायात व्यवस्था विभागले स्मार्ट कार्ड छपाइ थाल्दा ०७२ मा एक मिनेटमा एउटा कार्ड छाप्ने चार वटा मेसिन प्रयोगमा ल्याएको थियो । यो मेसिनले काम गर्न छाडेपछि गत वर्ष अर्को चार वटा मेसिन झिकाइएको थियो । यसको पनि छपाइ गति कम भएपछि एक महिनाअघि ‘मास प्रिन्टिङ मेसिन’ ल्याइसकेको विभागका निर्देशक खनालले बताए । ‘यो मेसिनले घण्टामा साढे चार सय कार्ड छपाइ गरेपछि वितरणमा सहज हुनेछ,’ उनले भने । दैनिक माग ८ हजार भए पनि २ हजार ५ सयदेखि ४ हजार मात्रै छपाइ हुँदा अहिले समस्या भएको उनले बताए । सरदर दैनिक ५ हजार कार्ड छपाइ गर्नुपर्ने गरी थपिँदै गएपछि एक वर्षसम्म लाग्ने गरेको विभागले जानकारी दिएको छ । विदेश जाने प्रक्रियामा रहेकाको आवेदन दिएको ७ दिनभित्र स्मार्ट कार्ड उपलब्ध गराउने गरेको छ । विभागले मात्रै छाप्न नसक्ने भएपछि मालिका प्रेसलाई छपाइ गर्न दिइएका ३ लाख कार्डमा पनि समस्या आएपछि दबाब बढेको विभागले जनाएको छ । मालिकाले छापेका १३ देखि १५ हजार कार्ड रद्द गर्नुपरेको विभागले जनाएको छ ।


एक महिनाअघि विभागमा ल्याइएको नयाँ मेसिन चाँडै सञ्चालनमा आउने विभागले जनाएको छ । यो मेसिनबाट छपाइ हुने ६ लाख थान कार्डसमेत भन्सारमा आइसकेको निर्देशक खनालले बताए । नयाँ मेसिन सञ्चालनमा आएपछि ६ महिनाभित्र पुराना छपाउन बाँकी कार्ड वितरण गरिसक्ने विभागको लक्ष्य छ । ‘त्यसपछि आवेदन दिएको १ महिनाभित्र वितरण गर्ने योजना छ,’ खनालले भने । अर्को वर्ष पनि मेसिन ल्याउन ७ करोड बजेट विनियोजन गरिएको छ ।


अर्कोले प्रयोग गरेको पाइयो

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले ट्राफिक नियम उल्लंघनमा पर्दा चालकले एउटाको रसिद अर्कोले देखाउने गरेको बताए । ‘रसिदमा फोटो हुँदैन, कतिपयले अर्कोको रसिद प्रयोग गर्ने गरेका छन्’, उनले भने, ‘लाइसेन्स नभई रसिद मात्रै हुँदा नियम पालनामा हेलचेक्र्याइँ हुने गरेको छ । सुरक्षित राख्नसमेत समस्या छ ।’



प्रकाशित : आश्विन ४, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?