कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'मैले मृत्युलाई नजिकबाट देखेको छु, पटक-पटक मरेर बाँचेको छु' : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मृत्युलाई नजिकबाट देखेको र पटक-पटक मरेर बाँचेको बताएका छन् । शुक्रबार संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू जस्तै आफ्नो टिममा धेरैले नाफाको जिन्दगी बाँचिरहेका बताए । उनले भने, 'धेरै पटक भनेको छु, मैले मृत्युलाई नजिकैबाट देखेको छु । जनबोलीमा भन्नुपर्दा पटक–पटक मरेर बाँचेको छु । म जस्तै मेरो टिममा रहेका धेरै साथीहरु यस्तै नाफाको जिन्दगी बाँचिरहनुभएको छ ।'

'मैले मृत्युलाई नजिकबाट देखेको छु, पटक-पटक मरेर बाँचेको छु' : प्रधानमन्त्री ओली

सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले नेपालीहरुको सपना पूरा भएरै छाड्ने दाबी गरे । उनले जसरी पनि देशले काँचुली फेर्ने दाबी गर्दै भने, 'धैर्य गरौं ।अढाई शताब्दीदेखि खजमजिएको थिति, अढाई वर्ष नपुग्दै दुरुस्त किन भएन भन्नेजस्ता प्रश्नहरुमाथि एकचोटि पुनर्विचार गरौँ ।'


देशलाई विकासको बाटोमा लैजान बलियो सरकार रहेको र यसभन्दाअघि जस्तो राजनीतिक अस्थिरता पनि अहिले नभएको बताउँदै प्रधानमन्त्री ओलीले मुलुक बन्ने ठोस आधारहरु रहेको दाबी गरे । उनले अगाडि भने , 'हामीसँग हालसम्म दोहन नगरिएका प्राकृतिक स्रोत छन् । अनुकूल जलवायु छ । राजनीतिक स्थिरता छ । तपाईंहरुको मतबाट बनेको बलियो सरकार छ ।'


यसैगरी प्रधानमन्त्री ओलीले देश बनाउनको लागि युवा जनशक्ति आवश्यक रहेको र ती जनसंख्या करिव ६५.५ प्रतिशत रहेकोले विकासको तीव्र गितको दौड पूरा गर्न सजिलो हुने बताए । उनले भने, 'मलाई गर्व ती युवापंक्तिप्रति छ, जसले विभिन्न इनोभेटिभ प्रयासहरु थालेका छन् । कतिले वस्तु उत्पादनबाट, कतिले सेवा सिर्जना गरेर समाजलाई गुन लगाइरहेका छन् । '


केही फुर्सदिलो युवापंक्ति पनि रहेको र उनीहरुको ऊर्जा रचनात्मक सिर्जनामा भन्दा बढी सामाजिक सञ्जालमा बिना मुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा व्यतित भइरहेकोमा आफूलाई चिन्ता लागेको प्रधानमन्त्रीले उल्लेख गेरे । उनले भाषणका क्रममा भने, 'मलाई चिन्ता, एउटा हुर्किएको पुस्ताको पनि छ, जो समाजसँग संस्कार र सकारात्मक अनुभव साटासाट गर्न चुकिरहेको छ । ‘क्रिटिकल अप्रोच’को नाममा सार्वजनिक प्लेटफर्मबाटै प्रवाहित उनीहरुका अभिव्यक्ति घृणा, द्वेष, अशिष्टता र परपीडनको भाषा बोल्न सिङ्गो समाजलाई प्रेरित गरिरहेको हो कि जस्तो भान हुन्छ ।'

प्रकाशित : आश्विन ३, २०७६ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?