संविधानलाई सबैको अपनत्व हुने गरी संशोधन गर्नु जरूरी छ : मुख्यमन्त्री राउत

रासस

काठमाडौँ — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानमा सबैले अपनत्व बोध हुने गरी संशोधन गर्नु जरूरी भएको बताएका छन् । ‘सानो पाइला’ नामक संस्थाद्वारा शुक्रबार आयोजित नेपालको संविधान २०७२ मा ‘जनताको अवधारणा’ विषयक बहस र मन्थन कार्यक्रममा मुख्यमन्त्री राउतले संविधानका राम्रा पक्षलाई संस्थागत गर्दै उत्पीडित समुदायको अधिकार सुनिश्चित हुने गरी सबैको संविधान बनाउने वातावरण निर्माणको खाँचो औँल्याए ।

‘विसं २०७२ मा आफू संविधानसभाको सदस्य रहँदा संविधान लेखन समितिमा भएका बेला मधेशका मुद्दा, समस्याको समाधानबारे पटकपटक सम्बोधन गर्न सुझाव दिए पनि त्यसलाई गौण बनाई हुन्छ, हुँदैन भन्ने विधिमा लगियो,' उनले भने, ‘सङ्घीय सरकारबाट प्रदेश सरकारलाई कमजोर बनाई सङ्घीयतामाथि नै प्रहार गर्ने काम भएको छ । संविधानका कमजोर पक्षलाई संशोधन गरी सबल र सर्वस्वीकार्य बनाउनु पर्दछ ।’

राष्ट्रिय जनता पार्टी नेपालका नेता महन्थ ठाकुरले मधेसीलाई विदेशी ठान्ने मनोविज्ञान रहेसम्म संविधान सर्वस्वीकार्य हुन सक्दैन भन्दै संशोधन गरी संविधानबाट मधेशीको आत्मसम्मान स्वाभिमानको रक्षा गर्नु जरूरी भएको धारणा राखे ।

वरिष्ठ पत्रकार किशोर नेपालले संविधानमा मधेशको मुद्दा सम्बोधन हुन नसकेका कारण मधेशी जनतामा असन्तुष्टि र पीडा छ भन्दै त्यसबाट भोलि आन्दोलन र विद्रोहको अवस्था आउन नदिन समयमै नेताहरूले विचार पुर‍्‍याउनु पर्ने आवश्यकता रहेको बताए ।

प्रकाशित : आश्विन ३, २०७६ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्

बाबुछोराको हत्या आरोपी पक्राउ

कान्तिपुर संवाददाता

गण्डकी — बाबुछोराको हत्या गरेको आरोपमा जिल्ला प्रहरी स्याङ्जाले हरिनास गाउँपालिका–३ ललहीका ३३ वर्षीय दीपक भन्ने दानबहादुर मल्ललाई पक्राउ गरेको छ । बिहीबार पक्राउ परेका मल्ललाई बिहीबार नै कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ ।

बुधबार सोही ठाउँकी अनिता खड्काले प्रहरीमा दिएको किटानीसहितको जाहेरीको आधारमा प्रहरीले मल्ललाई पक्राउ गरेको हो।

जाहेरीको आधारमा अनुसन्धान गर्दा हत्यामा संलग्न मल्ल नै रहेको स्याङ्जा प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए। उनका अनुसार म्याद थप गरी थप अनुसन्धानका लागि मल्ललाई हिरासतमा राखिएको छ।

स्याङ्जाको हरिनास गाउँपालिका–३ ललहीका ३० वर्षीय चित्रबहादुर खड्कका र उनको ४ वर्षीय छोरा रिजनको गत भदौ १७ मा विभत्स हत्या भएको थियो। प्रहरीका अनुसार धारिलो हतियार प्रयोग गरी सुतेकै अवस्थामा उनीहरुको हत्या भएको थियो।

यो पनि पढ्नुहोस्:

प्रकाशित : आश्विन ३, २०७६ १६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्