२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

संसद्‌मा महिला : उपस्थिति उल्लेख्य, भूमिका निष्प्रभावी

विद्या राई

काठमाडौँ — असनस्थित त्यौड माविकी शिक्षिका लक्ष्मी अर्याललाई प्रधानाध्यापक सुरेन्द्र केसीले सुत्केरी बिदा नदिई उल्टो मानसिक यातना दिएको विषय नेपाली कांग्रेसका सांसद गगन थापाले संसद्‌मा उठाए । उनले शिक्षिकालाई सुत्केरी बिदा नदिने प्रधानाध्यापकमाथि कारबाही गर्न माग गरे ।

संसद्‌मा महिला : उपस्थिति उल्लेख्य, भूमिका निष्प्रभावी

शिक्षिका अर्यालले भदौ २२ मै महानगरीय प्रहरी परिसर टेकुमा प्रअ केसीविरुद्ध उजुरी गरेकी थिइन् । सोही दिन एसपी अशोक सिंहले ‘तोक’ लगाएर परिसरकै महिला सेललाई अनुसन्धानका लागि पठाएका थिए ।


प्रहरीले अनुसन्धानमा आलटाल गरिरहेको गुनासो भइरहँदा सांसद थापाले भदौ २६ मा प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कानुन नमान्ने र महिलालाई हेप्नेलाई छाडिन्न भन्ने सन्देश प्रवाह गर्न यस्तो अपराध गर्ने प्रअलाई सरकारले दण्ड दिनुपर्ने माग राखेका थिए । समर्थनमा केही महिला सांसदले ताली पिटे । प्रायजसोले सुनेर टारिदिए । यो एउटा प्रतिनिधिमूलक घटना मात्रै हो । नीति निर्माण र कार्यान्वयन तहमा रहेका महिला सांसद महिलाका सवाल उठान र बहसमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको गुनासो व्यापक छ । संघीय संसद्को राष्ट्रिय सभा र प्रतिनिधिसभामा ३३ प्रतिशत अर्थात ११२ महिला सांसद छन् ।


महिला सांसदको भूमिकालाई नियालिरहेकी मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले भनिन्, ‘महिला सांसदहरूले इतिहासमै पहिलोपल्ट उल्लेखनीय सहभागिता पाउनुभएको छ तर उहाँहरू लापरबाही गर्दै हुनुहुन्छ । यो आउने पुस्ताका महिला नेतृत्वलाई ठूलो अन्याय हुनेछ ।’ महिलाको सवाल पुरुषले पनि उठाउन मिल्छ तर महिलाले कडाइका साथ प्रस्तुत गर्दा नेतृत्व तहमा महिला सहभागिताको भूमिका देखिने अन्सारी बताउँछिन् ।


संघीय संसद् सचिवालयको संसद्‌मा महिला सहभागिता पुस्तिकामा उल्लेख भएअनुसार हालसम्म ६ सय १९ जना महिला सांसद भएका छन् । ०१५ सालको पहिलो आमनिर्वाचनमा डँडेलधुराकी द्वारिकादेवी ठकुरानी एक मात्रै विजयी महिला सांसद थिइन् । अहिले प्रतिनिधिसभामा ९० र राष्ट्रिय सभामा २२ जना महिला सहभागिता छ तर विषयगत नीति निर्माण र कार्यान्वयनमा भने उनीहरूको अर्थपूर्ण सहभागिता देखिँदैन । यस सन्दर्भमा सत्तारूढ नेकपाकी सांसद गंगा चौधरीले विमति जनाइन् । महिला सांसदले बोलेका विषयमा मिडियाले नसेमेट्ने गरेकाले नसुनिएको उनको भनाइ छ । ‘मिडियाले सेलिब्रेटी नेतालाई मात्र ठाउँ दिन्छन्, सानो विषय बोले पनि व्यापक प्रचारप्रसार गर्छन्,’ उनले कान्तिपुरसित भनिन्, ‘हामी नीति, निर्माण, समानुपातिक समावेशिता कार्यान्वयनका विषयमा बोलिरहेका छौं । के बोल्न बाँकी छ ?’


नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले संसद्‌मा प्रश्न दर्ता गरेजति बोल्ने अवसर नपाइने भएकाले समस्या भएको बताइन् । उनले पहिलो संसद् अधिवेशसनमा एक सयभन्दा बढी प्रश्न संसद् सचिवालयमा दर्ता गरेकी थिइन् । त्यसमा एक दर्जनजति मात्रै प्रश्न संसद्‌मा उठाउन पाएको उनले बताइन् । दोस्रो अधिवेशनमा ५० वटा भन्दा बढी प्रश्न दर्ता गरेकी थिइन् । आधा दर्जनजति मात्रै प्रश्न गर्न पाएको उनले गुनासो गरिन् । प्रश्न गर्नै नपाइने भएकाले पछिल्लो समय प्रश्न दर्ता गर्नै कम गरेकी छन् । ‘संसद् सचिवालयमा दर्ता भएको प्रश्न मन्त्रीले हेर्छन्, आफूलाई असर नपर्ने, साधारण भए मात्र प्रश्न गर्न पाइन्छ,’ उनले भनिन्, ‘कडाइका रूपमा प्रस्तुत हुने र इस्युमा बोल्ने कुरा सहज छैन ।’


उनले यसअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको विषयमा बेलाबखत संसद्‌मा विषय उठाउँदै आएकी थिइन् तर त्यही काण्डमा मुछिएका बम दिदीबहिनीबारे सांसद महिलाका आवाज उठेनन् । यस सन्दर्भमा न्यायोचित उठान नभएको भन्दै महिला सांसदमाथि आलोचनासमेत भएको छ ।


संघीय समाजवादी फोरम नेपालकी सांसद रेणु यादवले सन्दर्भअनुसार महिलाका विषय उठाउँदै आएको बताइन् । ‘महिलाका विषय महिलाले नै उठाउनुपर्ने सोचका कारण हामी पछाडि परेका हौं,’ उनले भनिन्, ‘महिलालाई महिलाको मात्रै जिम्मेवारी छैन, जिल्ला, प्रदेश, देश सबैतिर बोल्नुपर्छ, मौका आए बोल्नेछु ।’


राष्ट्रिय जनता पार्टीकी सांसद निर्मला राउतले हालसम्म संसद्‌मा कुनै विषयमा नबोलेको बताइन् । ‘मलाई भविष्यमा केन्द्रीय स्तरको नेता बनूँ भन्ने पनि छैन । जिल्लामा, गाउँमा काम गरिरहेकी छु,’ उनले भनिन्, ‘संसद्‌मा मभन्दा विज्ञहरू हुनुहुन्छ, साथीभाइहरू बोल्नुभएकै छ ।’


प्रकाशित : आश्विन ३, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?