‘संविधानले खोजेर माननीय बनायो’

‘म त कुहिरामा गाई–गोरु चराउँथेँ, अहिले जनताका दु:ख सरकारसामु पोख्न पाएकी छु’
चाँदनी कठायत

(सुर्खेत) — रैथाने ‘मुगाली’ लवज । भोटे पोसाकमा सजिएर झोवा विक जब रोस्ट्रममा उभिन्छिन्, कर्णाली प्रदेशसभा स्वस्फूर्त मुस्कुराउँछ । उनी राजनीतिका कुरा गर्दिनन् न त राजनीतिक आरोप–प्रत्यारोपमै उत्रिन्छिन् । बरु गाउँ जाँदा जनताले सुनाएका गुनासा राख्छिन् । भन्छिन्, ‘जनतालाई दु:ख छ, त्यो देख्दा मलाई दुख्छ तर सरकारलाई किन दुख्दैन ?’

झोवा समानुपातिक कोटामा कांग्रेसबाट प्रतिनिधित्व गर्छिन् । उनीजस्ता १३ महिला कर्णाली प्रदेशसभामा सदस्य छन् । संविधानमा उल्लिखित समावेशी सिद्धान्तको मद्दतबाट प्रदेशसभामा पुगेका उनीहरू गाउँबस्तीका आवाज बोल्छन् । झोवा भन्छिन्, ‘म त कुहिरामा गाई–गोरु चराउँथेँ, संविधानले खोजेर माननीय बनायो । अहिले जनताका दु:ख सरकारसामु पोख्न पाएकी छु ।’
सोशिला शाही राप्रपाकी एक्ली सांसद हुन् । संसद् अधिवेशन सुरु होस् वा अन्त्य, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने होस् वा बजेट वक्तव्यको दिन उनी रोस्ट्रममा महत्त्वपूर्ण भूमिकासहित उभिन्छिन् । प्राय: लिखित मन्तव्य दिने उनको भाषणमा रचनात्मक आलोचना र टिप्पणी हुने गर्छ । विषयको गहन अध्ययन गरेर पार्टीको धारणा राख्छिन् । ‘सबै विषयको सुनुवाइ हुँदैन,’ उनी भन्छिन्, ‘तैपनि मैले एउटा पार्टीकै प्रतिनिधित्व गरेर जनप्रतिनिधि भएकी छु, यो मेरा लागि अहोभाग्य हो ।’ जनताले आफूमाथि गरेको विश्वासलाई धर्मराउन नदिने गरी काम गर्ने उनी बताउँछिन् ।

कर्णाली संसद् र सरकारलाई बेलाबेला घचघच्याइरहने अर्को आवाज हो अमृता शाहीको । सामान्य लेखपढ गरेकी सुर्खेतकी कांग्रेस सांसद शाही ०५८ मा श्रीमान्लाई तत्कालीन विद्रोही माओवादीले हत्या गरेपछि राजनीतिमा प्रवेश गरेकी हुन् । ०६४ र ०७० को संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार थिइन् । ‘माननीय’ हुन भने नयाँ संविधान कुर्नुपर्‍यो । ‘समाजमा थुप्रै संघर्ष गरेर, तिरस्कार सहेर राजनीति गर्दै अहिले यो स्थानमा पुगेकी छु,’ उनी भन्छिन्, ‘आफ्नो जीवनशैली फेरिए पनि जनताको जीवनशैली फेर्न बाँकी छ ।’

सुरुवाती दिनमा संसद्मा बोल्न डराउने, आफ्नो भनाइ स्पष्टसँग राख्न नसक्ने सांसदहरू अहिले निडर र स्पष्ट वक्ताका रूपमा खारिएका छन् । पहिलो अधिवेशनभर नबोलेकी झोवाले राजीनामा दिने सोच बनाइसकेकी थिइन् । गृह जिल्ला मुगुकी एकजना नेत्रीसँग उनले यससम्बन्धी योजना पनि सुनाइन् । ती नेत्रीले सम्झाइबुझाइ गरिन् । त्यसपछि उनी हरेक बैठकमा खुलेर बोल्न थालिन् । ‘कोहीकोही पढेलेखेका सांसद लेखेर बोल्छन्, म त पढ्न पनि जान्दिनँ,’ उनले भनिन्, ‘सरकारले चित्तबुझ्दो काम गरेन भने भनिहाल्छु, कसैको डर पनि लाग्दैन ।’ जातीय विभेद र सामाजिक तिरस्कारको बीचबाट खारिएकी नेकपा सांसद राजु नेपाली सामाजिक विकास समिति अध्यक्ष छिन् ।

०५४ को स्थानीय निर्वाचनमा एमालेबाट वीरेन्द्रनगर नगरपालिकामा वडा सदस्य भएकी उनी संविधानले सबैलाई समान अवसर दिएको बताउँछिन् । ‘धेरै महिलाको जीवन कष्टपूर्ण छ,’ उनी भन्छिन्, ‘आफूले भोगेको दु:ख अरूले भोग्न नपरोस् भनेर लागिरेहका छौं ।’ दलित परिवारकी छोरी त्यसमाथि पनि राजनीति गर्न खोज्दा हेपाहा दृष्टिले हेर्ने गरिएको विगत उनले सुनाइन् ।

समानुपातिक निर्वाचन प्रणाली बोकेको संविधानले दिएको अवसरकै कारण महिला सांसदले कर्णालीका जनताका समस्या संसद्मा छर्लंग राख्ने गरेका छन् । केही दिनअघि झोवाले कर्णाली राजमार्गबारे सरकारमाथि नरम शैलीमा कडा प्रहार गरिन् । ‘हेलिकप्टरमा उड्ने मुख्यमन्त्री, मन्त्रीले केही देख्दैनन्, हामी गाडीमा हिँड्नेले देखेर के गर्नु भत्केका र बिग्रेका सडक,’ उनले भनिन्, ‘जनताले त हामीलाई सडक राम्रो बनाइदिनुपर्‍यो भन्छन्, लौ न सरकार केही गरिदिनुपर्‍यो ।’

डोल्पाबाट प्रतिनिधित्व गर्दै समानुपातिकतर्फ निर्वाचित नेकपा सांसद बद्मी क्वाँरी बोहराले संसद्मा जनताको प्रतिनिधित्व गरेर आवाज उठाउने अवसर पाउँला भनेर कहिल्यै सोचेकी थिइनन् । उनी कहिले महिलाका समस्या त कहिले विकास र बजेटबारे निर्धक्क धारणा राख्छिन् । सरकारलाई बारम्बार प्रश्न गर्छिन्, ध्यानाकर्षण गराउँछिन् । यति हुँदाहुँदै पनि संसद्मा आफूले उठाएका धेरै सवाललाई सरकारले प्राथमिकतामा नपारेको उनीहरूको गुनासो छ । मिडिया हाउसले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको एक कार्यशालामा सहभागी महिला सांसदले यस्तो गुनासो गरे । सांसद मीनासिंह रखालले चारवटै संसदीय समितिमा महिला अध्यक्ष राखौं भन्दा कसैले सुनुवाइ नगरेको बताइन् । उनले महिलाको सवाल उठाउनका लागि महिला समिति बनाएर अघि बढ्ने उद्देश्यका साथ समिति गठन गरे पनि पार्टीले महिला ककस हुन्छ भन्दै स्वीकृति नदिएको बताइन् ।

दैलेखमा पानी नपर्दा किसानले धान रोप्न नपाएको भन्दै राहतका लागि सरकारको ध्यानाकर्षण गराउन खोज्दा हाँसोले उडाएको उनले सुनाइन् । ‘पानी नपरेर किसानले रोप्न पाएनन्, बीउ पहेँलो भयो,’ उनले भनिन्, ‘मोबाइलमा फोटो देखाउँदा पनि विश्वास गरेनन् ।’ पहिलो पटक सुनुवाइ नभएपछि दोस्रो पटक टेबल ठोकेर बोल्दा पनि जवाफ नपाएको रखालको भनाइ छ । सांसद देवी ओलीले महिला सांसद त्यसमाथि पनि समानुपातिकबाट निर्वाचित भएको भनेर हेप्ने गरेको बताइन् ।

प्रकाशित : आश्विन ३, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्

शरद र वसन्त बाहिर

कान्तिपुर संवाददाता

काठमाडौँ — अनुभवी शरद भेषावकर र वसन्त रेग्मीलाई बाहिर राख्दै नेपालले सिंगापुर र ओमानमा हुने ट्वान्टी–२० आमन्त्रण क्रिकेट प्रतियोगिताका लागि बिहीबार १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । सिंगापुरमा नेपालले सेप्टेम्बर २५ देखि अक्टोबर ४ सम्म हुने त्रिकोणात्मक शृंखलामा प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगितामा नेपाल र सिंगापुरसहित जिम्बावेले भाग लिने छन् । नेपाली टोली त्यहीबाट ५ राष्ट्रसम्मिलित प्रतियोगिता खेल्न ओमान लाग्ने छ । अक्टोबर ५ देखि १० सम्म हुने प्रतियोगितामा ओमान, नेपाल, हङकङसहित आयरल्यान्ड र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।

ब्याटस्म्यान शरदले सन् २००४ देखि र स्पिनर वसन्तले २००६ देखि राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । उनीहरू पहिलोपल्ट छनोटमा नपरेका हुन् । शरदलाई २०१० मा नेपालमा भएको विश्व क्रिकेट लिग डिभिजन ५ को टोलीमा राखिएको थिएन । तर नरेश बुढाऐरको स्थानमा टोलीमा परेपछि शरदले फिजीविरूद्ध शतक बनाएका थिए ।

‘ट्वान्टी–२० फास्ट खेल हो, त्यसका लागि फिट खेलाडीहरू चाहिन्छ । हामीले सम्भव भएसम्म उत्कृष्ट खेलाडी छनोट गरेका हौं,’ नेपालका प्रशिक्षक उमेश पटवालले भने, ‘यदि पुराना खेलाडीले छाड्नुपर्छ भन्ने यही समय हो । हामी परिवर्तनकारी समयमा छौं ।’

पारस खड्काको कप्तानीमा रहेको घोषित नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानी जिम्मेवारी दिइएको छ । छनोट भएका अन्य खेलाडीमा सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सन्दीप लामिछाने, अविनाश बोहरा, कुशल मल्ल, रोहितकुमार पौडेल, आरिफ शेख, सुशन भारी र इशान्त पाण्डे छन् ।

कुशल र इशान्त पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका हुन् । जोरा, आरिफ र सुशनले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । आरिफ र जोरालाई दुई महिना अघि सिंगापुरमै भएको विश्व ट्वान्टी–२० छनोटको एसिया क्षेत्रमा नेपाली टोलीमा राखिएको थिएन । प्रतियोगितामा नेपाल तेस्रो भएपछि विश्व ट्वान्टी–२० छनोटमा पुग्न असफल भएको थियो ।

कप्तान पारसले टिम जस्तो भए पनि प्रदर्शनले महत्त्व राख्ने बताए । ‘अहिले टिममा पर्न निकै प्रतिस्पर्धा छ । केही सिनियर खेलाडी छनोट भएका छैनन् । ओमान र सिंगापुरमा हुने प्रतियोगितामा हामीसँग नयाँ खेलाडीलाई प्रयोग गर्ने अवसर छ । अव विश्वकपको साइकल पनि सुरु हुने भएकाले हामीलाई महत्त्वपूर्ण छ,’ पारसले भने, ‘त्यसैले क्षमता भएका खेलाडीलाई अवसर दिने यो उपयुक्त समय थियो । परिवर्तनको एउटा समय यस्तो पनि आउने छ कि म पनि टिमबाहिर हुन सक्नेछु । खेलकुद एउटा ध्रुवसत्य हो कि हामीले प्रदर्शन दिनैपर्छ । जसले धेरै मिहिनेत गरेको छ त्यसलाई पनि सम्मान दिनैपर्छ ।’

प्रकाशित : आश्विन ३, २०७६ ०७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्