आत्महत्या दुरुत्साहनमा ६ महिना कैद  

रमेशकुमार पौडेल

चितवन — आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले एक अभियुक्तलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।

प्रतिकात्मक तस्बिर ।

चितवन जिल्ला अदालतका स्रेस्तेदार रुद्रमणि गिरीका अनुसार अदालतले बुधबार खैरहनीका संजोग गिरीलाई सजायँ तोकेको हो । गत वर्षदेखि दर्ता हुन थालेको आत्महत्या गर्न बाध्य पार्ने अर्थात दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले गरेको यो तेस्रो फैसला हो ।


संजोग विरुद्ध गत चैत २४ मा मुद्दा दायर भएको थियो । संजोगसँग बिहे गरेकी युवतीले गत फागुन १३ मा घरमै झुण्डिएर आत्महत्या गरेकी थिइन् । दिवंगत युवतीका माइती पक्षले संजोग र संजोगका बाबुआमा विरुद्ध प्रहरीमा उजुरी दिएपछि फागुन २७ मा उनीहरु पक्राउ परेका थिए । मुद्दा दायर भएपछि अरु जनही ३० हजार रुपैयाँ धरौटीमा छुटे पनि संजोग कारागार चलान भएका थिए ।


अदालतले संजोगलाई सजाय गरे पनि यो मुद्दामा अरुलाई सफाइ दिएको स्रेस्तेदार रुद्रमणि गिरीले बताए । त्यसैगरी माइती पक्षलाई क्षतिपूर्ति स्वरुप एक लाख रुपैयाँ तिर्नुपर्ने अदालतको फैसलामा उल्लेख भएको उनले जानकारी दिए । नयाँ मुलुकी संहिता जारी भएपछि चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा अहिलेसम्म ७ वटा मुद्दा दायर भएको सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाले बताए ।


जसमध्ये फैसला भएका तीनवटा मुद्दा सबैमा अभियुक्तलाई जेल सजायँ भएको छ । चितवन जिल्ला अदालतमा माधव न्यौपानविरुद्ध आत्महत्या दुरुस्तासहनको पहिलो मुद्दा दायर भएको थियो । पहिलो फैसला पनि सोही मुद्दामा भएको थियो । गत वर्षको मंसिर एक गते एकजना महिलाले आत्महत्या गरेपछि दुरुत्साहन अभियोगमा माधवविरुद्ध मंसिर २५ गते मुद्दा दायर भएको थियो ।


यो मुद्दामा बैशाख २४ मा कसुर ठहर गर्दै अदालतले माधवलाई ६ महिना कैद र पाँच हजार जरिवाना सुनाएको थियो । त्यसैगरी मृतकका आफन्तलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिनु पर्ने फैसला पनि अदालतले गरेको थियो । यसैगरी मंसिर ४ गते दायर भएको अर्को मुद्दामा चितवन अदालतले जेठ ९ गते फैसला गरेको थियो । जसमा आत्महत्या गरेकी महिलाका श्रीमानलाई सजाय भएको छ ।


आत्महत्या गरेर गत वर्षको कात्तिक १६ मा राप्ती नगरपालिका–२ मा २३ वर्षीय महिलाको निधन भएपछि प्रहरीले कात्तिक १७ गते उनका श्रीमान् जयराम सेढाई र आमाजुलाई गिरफ्तार गरेको थियो । अदालतमा मंसिर ४ गते मुद्दा दायर भयो । मंसिर ८ गते थुनछेक आदेश हुँदा मृतक महिलाका श्रीमान् जयराम सेढाई कारागार चलान भए । आमाजु एक लाख रुपैयाँ धरौटी राखेर तारेखमा छुटिन् । फैसला हुँदा उनले सफाइ पाइन ।


अदालतले जेठ ९ गते महिलाका श्रीमान् जयराम सेढाईलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवना हुने फैसला गरेको थियो । ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने छ । अदालतमा अहिले आत्महत्या दुरुत्साहनका चारवटा मुद्दा विरचाराधीन छन ।


जसमा सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनमा दायर भएको कार्यक्रम प्रस्तोता रवी लामिछाने लगायत विरुद्धको मुद्दासमेत छ । प्रकाशित : आश्विन २, २०७६ २१:३१

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

संविधानमा पटक–पटक सम्झौता गर्न सकिदैन : उपप्रधानमन्त्री पोखरेल

रासस

ललितपुर — उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चार वर्षअघि २०७२ असोज ३ गते निर्माण गरेको संविधानको पटक–पटक सम्झौता गर्न नसकिने बताएका छन् । 


‘कन्स्टिच्युसन वाच ग्रुपले’ बिहीबार आयोजना गरेको ‘नेपालमा लागू भएको वर्तमान संविधानलाई हेर्ने दृष्टिकोण’ विषयक कार्यक्रममा मन्त्री पोखरेलले लाखौँ नेपाली जनताको सहमतिद्वारा निर्माण भएको संविधानमा कुनै पनि कमजोरी नरहेको बताए।

‘सरकारले यस संविधानको अधिनमा रही भ्रष्टाचारमुक्त समाज निर्माण गर्न चाहेको छ,’ उनले भने, ‘प्रदेश तथा स्थानीय तहमा मानव स्रोत र वित्तीय व्यवस्थापन, कर्मचारी भर्ना अभियान, पुरानै ठेकेदारले काम गर्ने प्रवृति रहँदा हाल समाजमा विवाद उत्पन्न हुन गएको हो।’

डेढ वर्षअघि आफू सरकारमा आएपछि दीर्घकालीन आयोजना निर्माणमा उल्लेख्य प्रगति, विगतमा भन्दा छिमेकी मुलुकसँग राम्रो संवाद बढेको, वैदेशिक रोजगारीमा संरक्षात्मक सुधारका कार्य अघि बढेको, ज्येष्ठ नागरिक र सामाजिक सुरक्षाको विषयमा उल्लेख्य प्रगति भएको उनले दाबी गरे।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले २०७२ को संविधान निर्माण गर्न सर्वसाधारणदेखि वनमा बस्ने राउटेसम्मको धारणा लिएको जानकारी गराए। ‘यो संविधान २०४७ सालको संविधानभन्दा पनि सुधारिएको, सम्झदारी र सम्झौताको दस्तावेज हो,’ नेम्वाङले भने, ‘यो संविधान परिवर्तन गर्न चाहानेले राजनीतिक परिवर्तन गर्न आवश्यक छैन, केवल जनताको मत जिते पुग्छ।’

कार्यक्रममा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले सत्तापक्ष र प्रतिपक्षबीच असमझदारी बढ्दै जाँदा संविधान चुनौतीमा परेको बताए।

प्रकाशित : आश्विन २, २०७६ २१:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×