चितवन मेडिकल कलेजमा आन्दोलन : वार्ता गराउने प्रजिअको आश्वासन

रमेशकुमार पौडेल

चितवन — सरकारले तोकेकोभन्दा कलेजले लिएको बढी शुल्क फिर्ता हुनु पर्ने मागसहित आन्दोलन गर्दै आएका चितवन मेडिकल कलेजका विद्यार्थीले बिहीबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ)लाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कलेज सञ्चालकसहित आन्दोलनरत विद्यार्थी र अभिभावकहरुबीच वार्ता गराउने आश्वासन दिएका छन् ।

चितवन मेडिकल कलेजमा आन्दोलन : वार्ता गराउने प्रजिअको आश्वासन

त्यसैगरी विद्यार्थीले कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गराउन प्रशासनमा उजुरी गर्ने पनि बताएका छन् । ‘तोकेको भन्दा बढी शुल्क लिए प्रमुख जिल्ला अधिकारीसँग उजुरी गर्ने र छानबिनपछि कारवाही गर्ने भन्ने हो । अघिल्लो वर्ष उजुरी पनि आएको हो,’ चितवनका प्रमुख जिल्ला अधिकारी बस्नेतले भने । गत वर्ष भर्नाका समयमा कलेजले बढी शुल्क लिन लाग्यो भनेर विद्यार्थीको समूह नै आएको उनले बताए ।


‘नर्सिङ पढ्ने ४० जना र एमबीबीएस पढ्ने तीन चारजना आएर कलेजले तोकेको भन्दा अतिरिक्त शुल्क लिन थालेको बताउनुभयो । मैले कलेज प्रशासनलाई तत्काल बोलाएर सोधे कलेज सञ्चालकहरुले नलिएको बताउनुभयो,’ प्रजिअ बस्नेतले भने । त्यो बेला आफूले कलेज सञ्चालकलाई तोकेको भन्दा बढी शुल्क लिँदै नलिनु, विद्यार्थीको पढनपाढनमा अवरोध नगर्नु र अभिभावकलाई तनाब नदिनु भन्ने निर्देशन दिएको उनले बताए ।


त्यसपछि कुनै उजुरी नै नआएको प्रजिअ बस्नेतको भनाइ छ । चितवन मेडिकल कलेजका विद्यार्थीले भदौ १५ गतेबाट सडक संघर्ष नै सुरु गरेका छन् । आन्दोलनका कारण भदौ ५ गतेबाटै पढाइ प्रभावित भएको छ । आन्दोलन चर्कदै गएपछि कलेज प्रशासनले भदौ २७ गतेबाट अर्को सुचना नआउँदासम्मका लागि कलेजका सवै शैक्षिक कार्यक्रम बन्द भएको जनाएको छ ।


विद्यार्थीका अनुसार कलेजले सरकारले तोकेको भन्दा विद्यार्थीबाट २० लाख रुपैयाँसम्म बढी शुल्क लिएको छ । तर कलेज प्रशासनले गत वर्ष ६ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको स्वीकार गरेको छ । कलेजले लिने अतिरिक्त शुल्ककको प्राय विद्यार्थीले भर्पाइ पनि पाएका छैनन् । भर्पाइ भएका विद्यार्थीले प्रशासनमा उजुरी दिन सक्ने प्रशासन कार्यालयमा भएको अनौपचारिक छलफलमा सुझाव आएको थियो ।


त्यो बेला उपश्थित केही विद्यार्थीले आफुहरुबाट कलेजले लिएको अतिरिक्त शुल्कको भर्पाइ भएको र प्रशासनमा उजुरी गर्ने पनि बताए । विद्यार्थीसँगै अभिभावकहरु पनि गएका थिए । कलेजले लिने अतिरिक्त शुल्क बैंक मार्फत बुझाउँदा सञ्चालकहरुले किन त्यसो गरेको भनेको अभिभावकहरुले बताए । लामो समयदेखि कलेजमा आन्दोलन हुँदा कलेजको आन्तरिक परीक्षा हुन पाएको छैन । एक महिनापछि बोर्ड परीक्षा पनि आउँदै छ ।


‘त्यसैले हामी चाँडोभन्दा चाँडो यो समस्या निराकरण भएर विद्यार्थीले पढ्ने र परीक्षा दिने वातावरण बनोस भन्ने चाहन्छौं । यसमा सरकारी निकाय र कलेज प्रशासनले पनि चासो दिनु पर्‍यो,’ एकजना अभिभावक बुद्धिसागर अधिकारीले भने । चितवन मेडिकल कलेजमा उनका छोरा एमबीबीएस र छोरी बिडिएसमा अध्ययनरत छन् । प्रजिअ बस्नेतले सञ्चालकसँगै पाँचजना अभिभावक र पाँचजना विद्यार्थी राखेर वार्ता गराउने बताए ।


कलेजमा आन्दोलन सुरु भएपछि सञ्चालकमध्येका प्रमुख व्यक्ति डा.हरिश न्यौपाने चितवनमा छैनन् । ‘सञ्चालक बाहिर बसेर हुँदैन । कलेजमा आएर छलफलमा बसेर समस्या निराकरण गर्नु पर्छ । यस्तो बेला प्रयास उहाँले नै गर्नु पर्ने हो । त्यो वातावरण अब म मिलाउँछु,’ कार्यकक्षमा खचाखच भरीएका विद्यार्थी र अभिभावकहरुलाई प्रमुख जिल्ला अधिकारी बस्नेतले आश्वासन दिए ।

प्रकाशित : आश्विन २, २०७६ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?