चितवन मेडिकल कलेजमा आन्दोलन : वार्ता गराउने प्रजिअको आश्वासन

रमेशकुमार पौडेल

चितवन — सरकारले तोकेकोभन्दा कलेजले लिएको बढी शुल्क फिर्ता हुनु पर्ने मागसहित आन्दोलन गर्दै आएका चितवन मेडिकल कलेजका विद्यार्थीले बिहीबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ)लाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कलेज सञ्चालकसहित आन्दोलनरत विद्यार्थी र अभिभावकहरुबीच वार्ता गराउने आश्वासन दिएका छन् ।

त्यसैगरी विद्यार्थीले कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गराउन प्रशासनमा उजुरी गर्ने पनि बताएका छन् । ‘तोकेको भन्दा बढी शुल्क लिए प्रमुख जिल्ला अधिकारीसँग उजुरी गर्ने र छानबिनपछि कारवाही गर्ने भन्ने हो । अघिल्लो वर्ष उजुरी पनि आएको हो,’ चितवनका प्रमुख जिल्ला अधिकारी बस्नेतले भने । गत वर्ष भर्नाका समयमा कलेजले बढी शुल्क लिन लाग्यो भनेर विद्यार्थीको समूह नै आएको उनले बताए ।

‘नर्सिङ पढ्ने ४० जना र एमबीबीएस पढ्ने तीन चारजना आएर कलेजले तोकेको भन्दा अतिरिक्त शुल्क लिन थालेको बताउनुभयो । मैले कलेज प्रशासनलाई तत्काल बोलाएर सोधे कलेज सञ्चालकहरुले नलिएको बताउनुभयो,’ प्रजिअ बस्नेतले भने । त्यो बेला आफूले कलेज सञ्चालकलाई तोकेको भन्दा बढी शुल्क लिँदै नलिनु, विद्यार्थीको पढनपाढनमा अवरोध नगर्नु र अभिभावकलाई तनाब नदिनु भन्ने निर्देशन दिएको उनले बताए ।

त्यसपछि कुनै उजुरी नै नआएको प्रजिअ बस्नेतको भनाइ छ । चितवन मेडिकल कलेजका विद्यार्थीले भदौ १५ गतेबाट सडक संघर्ष नै सुरु गरेका छन् । आन्दोलनका कारण भदौ ५ गतेबाटै पढाइ प्रभावित भएको छ । आन्दोलन चर्कदै गएपछि कलेज प्रशासनले भदौ २७ गतेबाट अर्को सुचना नआउँदासम्मका लागि कलेजका सवै शैक्षिक कार्यक्रम बन्द भएको जनाएको छ ।

विद्यार्थीका अनुसार कलेजले सरकारले तोकेको भन्दा विद्यार्थीबाट २० लाख रुपैयाँसम्म बढी शुल्क लिएको छ । तर कलेज प्रशासनले गत वर्ष ६ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको स्वीकार गरेको छ । कलेजले लिने अतिरिक्त शुल्ककको प्राय विद्यार्थीले भर्पाइ पनि पाएका छैनन् । भर्पाइ भएका विद्यार्थीले प्रशासनमा उजुरी दिन सक्ने प्रशासन कार्यालयमा भएको अनौपचारिक छलफलमा सुझाव आएको थियो ।

त्यो बेला उपश्थित केही विद्यार्थीले आफुहरुबाट कलेजले लिएको अतिरिक्त शुल्कको भर्पाइ भएको र प्रशासनमा उजुरी गर्ने पनि बताए । विद्यार्थीसँगै अभिभावकहरु पनि गएका थिए । कलेजले लिने अतिरिक्त शुल्क बैंक मार्फत बुझाउँदा सञ्चालकहरुले किन त्यसो गरेको भनेको अभिभावकहरुले बताए । लामो समयदेखि कलेजमा आन्दोलन हुँदा कलेजको आन्तरिक परीक्षा हुन पाएको छैन । एक महिनापछि बोर्ड परीक्षा पनि आउँदै छ ।

‘त्यसैले हामी चाँडोभन्दा चाँडो यो समस्या निराकरण भएर विद्यार्थीले पढ्ने र परीक्षा दिने वातावरण बनोस भन्ने चाहन्छौं । यसमा सरकारी निकाय र कलेज प्रशासनले पनि चासो दिनु पर्‍यो,’ एकजना अभिभावक बुद्धिसागर अधिकारीले भने । चितवन मेडिकल कलेजमा उनका छोरा एमबीबीएस र छोरी बिडिएसमा अध्ययनरत छन् । प्रजिअ बस्नेतले सञ्चालकसँगै पाँचजना अभिभावक र पाँचजना विद्यार्थी राखेर वार्ता गराउने बताए ।

कलेजमा आन्दोलन सुरु भएपछि सञ्चालकमध्येका प्रमुख व्यक्ति डा.हरिश न्यौपाने चितवनमा छैनन् । ‘सञ्चालक बाहिर बसेर हुँदैन । कलेजमा आएर छलफलमा बसेर समस्या निराकरण गर्नु पर्छ । यस्तो बेला प्रयास उहाँले नै गर्नु पर्ने हो । त्यो वातावरण अब म मिलाउँछु,’ कार्यकक्षमा खचाखच भरीएका विद्यार्थी र अभिभावकहरुलाई प्रमुख जिल्ला अधिकारी बस्नेतले आश्वासन दिए ।

प्रकाशित : आश्विन २, २०७६ १५:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको मूल्य

रासस

काठमाडौँ — भदौ अन्तिम सातादेखि लगातार ओरालो लाग्न थालेको सुनको मूल्यमा बिहीबार पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । 


स्थानीय बजारमा छापावाला सुनको मूल्य ७० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। बुधबार छापावाला सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य ७० हजार ४ सय रुपैयाँ कायम गरिएको छ। बुधबार तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य पनि घटेर प्रतितोला ८५५ रुपैयाँ पुगेको छ।

साउनको पहिलो सातादेखि उकालो लाग्न थालेको सुन भदौ अन्तिम सातासम्म पनि घट्न सकेको थिएन। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔस एक हजार ४९६.५ अमेरिकी डलरमा झरेको छ। यसअघि विश्वबजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५४० अमेरिकी डलरसम्म पुगेको थियो।

प्रकाशित : आश्विन २, २०७६ १५:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×