धेरैलाई आलोचना गर्ने बानी लागेको छ : प्रधानमन्त्री

रासस, तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले देश लगातार प्रगति र विकासको गतिमा अगाडि बढ्दै गएको बताएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवास भवनको शिलान्यासपछि आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारबाट केही पनि भएन र सरकारले केही पनि गरेन भनेर कराउनेलाई व्यवहारबाट जवाफ मिल्दै जाने बताए । 


संसद् भवनलगायत अन्य आवाससमेत निर्माण गर्दै र विभिन्न स्थानमा बाटोको शिलान्यास तथा उद्घाटनसँगै आयोजना सम्पन्न हुँदै जाने दृढता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने, 'काम सम्पन्न भएर देश अगाडि बढेको कुराले तस्वीर आफैँ बोल्छ भने झैँ परिणाम आफैँ बोल्छ, व्यवहारबाट जवाफ मिल्छ, त्यस कारण हामीले धेरै कुरा बोलिरहनु पर्दैन।'


बुधबार सांसद भवन शिलान्यास गरेर महत्वपूर्ण पाइला अगाडि बढाएको उल्लेख गर्दै उनले प्रधानमन्त्री निवासको भवन आफ्ना लागि बन्न लागेको भनेर नबुझ्न आग्रह गरे। उनले आलोचना गर्न बानी परेकाले जस्तो काम गरे पनि आलोचना गर्न नछाड्नेसमेत जिकिर गरे। प्रधानमन्त्री ओलीले नकारात्मक टिप्पणी गर्नेलाई आफ्नो पाना पल्टाएर हेर्दा पनि अप्ठ्यारो नलाग्ने गरी आलोचना गर्न सुझाव दिए। 'कतिपय सञ्चारमाध्यममा देखेँ, संसद् भवन किन बनाउन लागेको यत्रो खर्च लगाएर भनेर, संसद् भवन पनि चाहिने, सित्तैमा पनि हुनुपर्ने कसरी होला?' प्रधानमन्त्रीको प्रतिप्रश्न गरे।


'आलोचना गर्ने बानी लागेकाबाट भवन कम खर्चमा बनायो भने सस्तोमा बनाएको भनेर आलोचना हुन्थ्यो, सानो बनायो भने बाख्राको खोर हो? भनेर आलोचना हुन्थ्यो, अलि मजबुद बनायो भने यत्रो ठूलो किन चाहियो भन्ने हुन्थ्यो, नबनाए गफ मात्रै गर्छ भन्थे', प्रधानमन्त्रीले भने।


देशको सर्वोच्च जनप्रतिनिधि संस्था, स्वतन्त्रताको प्रयोग गर्ने थलो, नीति निर्माण गर्ने संस्था स्वतन्त्र ढङ्गले कसैको दायित्व र दबाव नलिइ प्रभावबाट मुक्त राख्न आफ्नै खर्चले बनाउन लागेको भन्दै उनले संसद् भवन शताब्दीका लागि बन्ने उल्लेख गरे।


प्रधानमन्त्री निवास भवन निर्माण सम्पन्न हुँदा नहुँदै आफ्नो कार्यकाल सकिने उल्लेख गर्दै उनले आफू ४१औँ प्रधानमन्त्री भएको र भवन आगामी २४१औँ प्रधानमन्त्री आउँदा पनि बस्न सक्ने गरी बन्न लागेको बताए।


उनले यसअघि पटकपटक गरेर बनेको प्रधानमन्त्री निवास निरङ्कुश राजतन्त्रले कमसल खालको बनाएको उल्लेख गर्दै भूकम्पले क्षति पुर्‍याउँदासमेत त्यसैमा बसिरहेको र अब बन्ने भवन वर्तमान समयको आवश्यकतालाई ध्यानमा राखेर निर्माण हुने बताए।


प्रधानमन्त्री ओलीले वर्तमान समयमा देशको शासन, प्रशासन तथा विकास निर्माणका कामको विचार, विमर्श परामर्श या कूटनीतिक सम्बन्धलाई प्रभावकारी र सफलतापूर्वक अगाडि लैजानका लागि र आधुनिक विज्ञान प्रविधिको प्रयोग गर्ने खालको भवनको डिजाइन तयार भएको बताए।


उनले उपयुक्त ढङ्गले आवश्यकताअनुसार कार्यक्रम सञ्चालन गर्न सकिने र देश र विदेशमा सम्बन्ध स्थापित गर्नसमेत सकिने गरी भविष्यका प्रधानमन्त्रीलाई अहिलेको जस्तो झञ्झट बेहोर्न नपरोस् भनेर नै प्रधानमन्त्री निवासको भवन निर्माण गर्न लागिएको स्पष्ट पारे।


शिलान्यास समारोहमा शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले मुलुक समृद्ध नेपालको युगमा अगाडि बढेको भन्दै हिजो संसद् भवन आज प्रधानमन्त्री निवास शिलान्यास भएको र भोलि प्रदेश मुख्यमन्त्रीका निवासलगायतका भवन बन्दै जाने जानकारी दिए।


देश सञ्चालन गर्ने मन्त्रालय भाडामा बस्नु लज्जास्पद कुरा भएको भन्दै उनले वर्तमान आवश्यकतालाई मध्यनजर गरेर भवन निर्माणको अभियान थालिएको बताए। बीस वर्ष पहिलो संसद् भवन बनाउने भनेर निर्णय गरे पनि अहिलेसम्म कसैले नआँटेको स्मरण गर्दै उनले प्रधानमन्त्री निवास सानो भएको र भूकम्पलेसमेत क्षति पुर्‍याएकाले निर्माण गर्न लागिएको बताए।

प्रकाशित : आश्विन २, २०७६ १५:२८

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिवद्धता

रासस, तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — नेपाल र भारतका उच्च राजनीतिक नेतृत्वले दुईदेशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता पुनः व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आपसी सम्बन्धलाई थप गतिशील एवं प्रगतिशील तुल्याउने प्रतिबद्धता व्यक्त गरेको नेपाल र भारतका दुवै पक्षले जनाएका छन् ।

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा भाग लिने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिवसीय भ्रमणमा रहेका भारतका बाह्यमामिलामन्त्री एस जयशंकरले बुधबार अपराह्न प्रधानमन्त्री ओलीसँग भएको भेटपछि आफूले भारतका साथै नेपालबाट त्यस्तो प्रतिबद्धता व्यक्त भएको जानकारी दिए। “सम्माननीय प्रधानमन्त्रीसँगको शिष्टाचार भेटमा विदेशमन्त्री जयशंकरले दुवै देशमा राजनीतिक स्थायित्व कायम भएको र नीतिगत रुपमा पनि निर्णय गर्न सहज एवं सकारात्मक वातावरण बनेको बताउनुभयो”, बैठकमा भएको छलफलका विषयवस्तुबारे जानकारी दिँदै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले बताए।


प्रधानमन्त्री ओलीले पारस्परिक विश्वासको वातावरण बनेको तथा नेपालको विकास प्रयासलाई केन्द्रमा राखेर आफूले देशलाई समृद्धिको मार्गमा उन्मुख गराइरहेको बताएका थिए। भारतले नेपालप्रति दर्शाएको सद्भावप्रति उनले आभार व्यक्त गरे। सो अवसरमा भारतीय बाह्यमामिलामन्त्री जयशङ्करले द्विपक्षीय सम्बन्ध अझ विस्तृत एवं गहिरो बन्दै गएको र त्यसलाई नयाँ उचाइमा पुर्याउने दृढता प्रधानमन्त्री मोदीले व्यक्त गरेको जानकारी दिएका थिए।

दुई देशबीचको सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउने सकारात्मक वातावरण तयार भएको अभिमत भेटमा दुवै पक्षबाट प्रकट भएको थियो। एक जिज्ञासाको जवाफमा सल्लाहकार भट्टराईले नेपाल–भारत सम्बन्धका समग्र पक्षबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न गठित ईपीजीको प्रतिवेदन उपयुक्त समयमा दुवै देशका प्रधानमन्त्रीबाट ग्रहण हुने जानकारी दिए।
यसैबीच परराष्ट्र सचिव शंकरदास वैरागीले नेपालको विकास र सम्पर्क सञ्जाल विस्तार, उच्चस्तरीय भ्रमण आदानप्रदान, डुबानलगायत समस्याका साथै आपसी हित र चासोको विविध विषयमा विचारविमर्श भएको बताए। प्रधानमन्त्री ओली र मन्त्री जयशंकरबीच बिनासहयोगीको उपस्थितिमा एक घण्टाभन्दा बढी छलफल भएको थियो। त्यसपछि दुवै देशका उच्च अधिकारी बैठकमा सहभागी भएका थिए।

प्रकाशित : भाद्र ४, २०७६ १५:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×