आगामी चैतमा सगरमाथा संवाद

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी चैत तेस्रो सातामा जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य शीर्षकमा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय तहमा ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना हुने भएको छ ।

बुधबार राजधानीमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथा संवादको जानकारी दिँदै ‘बाहिरी विश्वका उच्च राजनीतिक नेतृत्व, मुलुक तथा समग्र विश्व समुदायबीच जलवायु परिवर्तनको संकटबारे समान धारणा बनाउन तथा संकटसँग जुध्न यो अर्न्तसंवाद आयोजना गर्न लागिएको बताए ।

‘यो संवादको मञ्च स्थायी रुपमा रहनेछ,’मन्त्री ज्ञवालीले भने—‘यसले विश्वमै सरोकारमा जोडिएका आर्थिक, सामाजिक, सांस्कृतिक वा शासकीय विषयमा बहस मात्रै गराउने छैन, देखिएका समस्यामा साझा समाधान पनि पहिल्याउनेछ ।’

आगामी संवाद आयोजनामा राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्णप्रसाद ओलीको संयोजकत्वमा जलवायु परिवर्तन, पर्वतीय पर्यावरणलगायतका विज्ञ सम्मिलित १३ सदस्यीय सगरमाथा संवाद विशेषज्ञ कार्यदल बनाइएको छ । संवाद कार्यक्रमको परराष्ट्र मन्त्रालय, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र नीति तथा अनुसन्धान प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

प्रकाशित : आश्विन १, २०७६ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्

शिक्षा अधिकृतसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको जगरनाथपुर गाउँपालिकाका शिक्षा अधिकृत राजेश्वरप्रसाद चौरसियासहित ४ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

चौरसिया र जगरनाथपुर गाउँपालिकाकै श्रीजनसेवा प्राविका प्रधानाध्यापक हकिम अन्सारीले राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा दस्तुर भन्दै अवैध रूपमा ३ लाख ९० हजार रुपैयाँ लिएको र फर्जी व्यक्तिलाई ३ लाख १४ हजार रुपैयाँ तलब भत्ता निकासा गरेको देखाई भ्रष्टाचार गरेको अनुसन्धानबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

पर्साकै श्रीनेपाल राष्ट्रिय मावि सेढवा बिर्ताका पूर्वप्रधानाध्यापक महेशप्रसाद यादवले चौरसिया र अन्सारीसितको मिलेमतोमा फर्जी व्यक्तिलाई तलब भत्ता खुवाएको देखाई अनियमितता गरेकाले उनीविरुद्ध समेत जेल सजाय र जरिवाना माग गरिएको अख्तियारले उल्लेख गरेको छ ।

यसैगरी अख्तियारले चितवनको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायब निरीक्षक पुष्पाकुमारी केसीविरुद्ध समेत बुधबारै मुद्दा दायर गरेको छ । केसीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरी सेवामा प्रवेश गरी बढुवा भएको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै चारै जना सेवाबाट निलम्बित भएका छन् ।

प्रकाशित : आश्विन १, २०७६ २०:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्