१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चितवन मेडिकल कलेजले आन्दोलनबारे बोल्यो- राजनीतिक अभीष्ट पुरा गर्न 'कसैले चलाएको गतिविधि'

रमेशकुमार पौडेल

चितवन — सरकारले तोकेको भन्दा विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता हुनु पर्ने लगायतका माग राखेर चितवन मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनलाई कलेज प्रशासनले राजनीतिक अभीष्ट पुरा गर्न 'कसैले चलाएको गतिविधि' भनेर टिप्पणी गरेको छ । बुधबार भरतपुरमा राखेको पत्रकार सम्मेलनमा कलेज तहबाट पुरा हुनु पर्ने माग पुरा भइसकेको कलेज प्रशासकहरुले दाबी पनि गरे ।

चितवन मेडिकल कलेजले आन्दोलनबारे बोल्यो- राजनीतिक अभीष्ट पुरा गर्न 'कसैले चलाएको गतिविधि'

‘विद्यार्थीले राखेको मध्य कलेजको शिक्षण अस्पतालमा इन्टर्नसीप गर्ने चिकित्सकहरुको तलबको विषय हामीले साउन १ गते नै पुरा गरेको हो,’ कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले पत्रकार सम्मेलनमा भने ।


इन्टर्न गर्ने विद्यार्थी चिकित्सकलाई १२ हजार रुपैयाँ मासिक पारिश्रमिक दिँदै आएकोमा साउन १ गतेबाट पाँच सय रुपैयाँ बढाएको यनले जानकारी दिए । ती बाहेक अरु माग कलेज तहबाट पुरा गर्न नसक्ने उनले बताए ।


कलेजमा अध्ययनरत विद्यार्थीले सरकारले तोकेको भन्दा २० लाख रुपैयाँसम्म बढी शुल्क तिर्नु परेको बताउने गरेका छन् । उनीहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क कलेजले एक महिनाभित्र फिर्ता गर्नु पर्ने माग राखेका छन् । चितवन मेडिकल कलेजका विद्यार्थी भदौ १५ गतेबाटै सडक संघर्षमा छन् । भदौ ५ बाटै आन्दोलनको तयारी सुरु भएको थियो । सोही दिनदेखि पढाइ प्रभावित हुँदै आएको छ ।


भदौ २७ गते कलेज प्रशासनले नै सूचना निकालेर सम्पूर्ण शिक्षण कार्यक्रम बन्द भएको घोषणा गरेको छ । अतिरिक्त शुल्क लिने गरेको विद्यार्थीको भनाइलाई कलेज प्रशासनले पूर्ण रुपमा अस्वीकार भने गरेको छैन । एमबीबीएस तहको अध्ययनका लागि उपत्यकाका बाहिरका निजी कलेजले ४२ लाख ४५ हजार रुपैयाँ लिन पाउने नियम छ । यसमा ६ लाख रुपैयाँ अतिरिक्त शुल्क लिएको देवकोटाले स्वीकार गरे ।


‘४२ लाख ४५ हजार रुपैयाँ एमबीबीएसको शिक्षण शुल्क मात्रै हो । शिक्षण शुल्कमा हामीले कुनै बढी रकम लिएका छैनौं । छात्रावास, फिल्ड भ्रमण, सूचना प्रविधि, पुस्तकालय, आन्तरिक परीक्षा शुल्क लगायतका शीर्षकमा ६ लाख रुपैयाँसम्म बढी लिएका छौं,’ पत्रकार सम्मेलनमा प्रमुख प्रशासक प्रताप देवकोटाले भने । यो विषयमा सरकारले दिने निर्देशन मान्न आफूहरु तयार रहेको उनले बताए ।


‘शुल्क सम्बन्धी यो विवादमा सरकारले गठन गरेको संसदीय उपसमितिले बुझाएको प्रतिवेदन, शिक्षा मन्त्रालय र त्रिविबाट आउने नीति नियम र निर्देशनको पालना गर्न कलेज प्रशासन तयार छ,’ देवकोटाले भने । त्यसैले विद्यार्थीले राखेको माग सरकारसँग सम्बन्धित भएको उनले बताए । यस्तो विषयमा चितवन मेडिकल कलेजलाई मात्रै ‘दुःख दिने’ काम आफैंमा न्यायोचित नभएको उनको भनाइ छ ।


चितवन मेडिकल कलेज प्रशासनले बुधबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलन । तस्बिरः रमेशकुमार पौडेल/कान्तिपुर


‘चितवन मेडिकल कलेजलाई मात्रै लक्षित गरेर जेहेन्दार तथा नियमित अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रयोग गरी कसैका राजनीतिक अभिष्ट पुरा गर्न, राजनैतिक रुपमा स्थापित हुन भर्‍याङ बनाउने र नितान्त दुःख दिने हिसावले विषयवस्तु आएका छन्,’ पत्रकार सम्मेलनमा वितरित कलेज प्रशासनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यो आन्दोलनको संयोजक कलेजका विद्यार्थी प्रकाश चन्द हुन् ।


प्रकाश चन्द प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्दका छोरा हुन् । कलेजको विज्ञप्तिमा उल्लेख भएको विद्यार्थी आन्दोलनलाई राजनैतिक भर्‍याङ बनाउन खोजेको भन्ने आरोप प्रकाश प्रति लक्षित छ । कलेज प्रशासनको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘अनावश्यक स्वार्थ समूहको राजनैतिक उद्देश्यलाई सचेत विद्यार्थीको मागभित्र घुसाउन नदिऔं ।’


प्रकाशित : आश्विन १, २०७६ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?