१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

डेंगुको कारण आपतकाल घोषणा गर्नुपर्दैन : उपप्रधानमन्त्री यादव

रासस

काठमाडौँ — सरकारले डेंगुको कारण आपतकाल घोषणा गर्नुपर्ने अवस्था नरहेको जनाएको छ । उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डेंगुका कारण आपतकालीन अवस्थाको घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएका हुन् । 

डेंगुको कारण आपतकाल घोषणा गर्नुपर्दैन : उपप्रधानमन्त्री यादव

प्रतिनिधिसभाको बुधबारको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै उनले स्वास्थ्य मन्त्रालय महामारी नियन्त्रण गर्न सक्षम रहेकाले आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नदेखिएको जानकारी गराएका छन् ।


पछिल्ला दिनहरुमा रोगीको संख्या घट्दै गएको अभिलेख रहेको उपप्रधानमन्त्री यादवले सदनलाई जानकारी गराए । मन्त्री यादवका अनुसार हाल ५६ जिल्लामा डेंगु फैलिएको छ ।


हालसम्म ५ हजारभन्दा बढी डेंगुबाट प्रभावित हुनुका साथै ६ जनाको निधन भएको मन्त्री यादवले बताए ।


उनले खोज र नष्ट गर अभियानका लागि तीन तहका सरकारले जनचेतना अभियान चलाइरहेको, प्रभावित जिल्लामा ११ हजार किट पठाइएको जानकारी दिए । मन्त्री यादवका अनुसार बढी प्रभावित धरान, इटहरी, विराटनगर, पोखरालगायत स्थानमा विशेष सफाइ अभियान सञ्चालन गरिएको छ ।

बैठकमा सांसद देवेन्द्रराज कँडेलले ५६ जिल्लामा डेंगु फैलिँदा पनि किन महामारीका रुपमा आपतकालीन अवस्थाको घोषणा नगर्ने भनी प्रश्न राखेका थिए ।

सांसदहरु सुजाता परियार, खगराज अधिकारी, रामबहादुर विष्ट, दिलेन्द्रप्रसाद बडू, अमनलाल मोदी, पुष्पा भुसाल, प्रेम सुवाल, पार्वता डिसी चौधरी, देवप्रसाद तिमल्सिना, मीना सुब्बा, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्रकुमार केसी, नवीना लामाले देशभर फैलिएको रोगका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित : आश्विन १, २०७६ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?