बाँके घटनामा सरकारको जवाफ, 'गल्ती नगरेका कोही फस्दैनन्, गल्ती गरेका कोही उम्किँदैनन्'

प्रतिनिधिसभाको अवरोध हट्यो
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले बाँके घटनाका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि संसद्को अवरोध हटेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारका तर्फबाट कानुनमन्त्री भानुभक्त ढकालले दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

'घटनामा संलग्न व्यक्तिहरुलाई कारबाहीको लागि दिएको निवेदनमा दर्ता भइसकेका छन्' मन्त्री ढकालको जवाफ थियो, 'गल्ती नगरेका कोही फस्दैनन्, गल्ती गरेका कोही उम्किँदैनन्। दोषीलाई कानुनको दायरामा ल्याएर कारबाही गर्नका लागि सरकार प्रतिबद्ध छ।'

उक्त घटनामा संलग्नलाई कारबाही गर्ने विषय यसअघि पनि प्रमुख दलहरुको बैठकमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले संसद्‌बाटै स्पष्ट पारिसकेको मन्त्री ढकालले उल्लेख गरे।

बुधबारको बैठक प्रारम्भको घोषणा हुनासाथ कांग्रेस सांसदहरु ढ्याप ढ्याप गर्दै उठेका थिए। त्यसपछि सभामुख कृष्णबहादुर महराले कोही बोल्न चाहनुहुन्छ? भनेपछि कांग्रेस सांसद् दिलेन्द्रप्रसाद बडूले हात उठाए।

सभामुखले समय दिएपछि बोलेका सांसद बडूले दोषीलाई कारबाही गर्ने विषयमा पुन: सरकारको ध्यानाकर्षण गराएका थिए। उनले घटनालाई राजनीतिकरण गर्न, ढाकछोप गर्न खोजिएको आरोप लगाउँदै सरकारको स्पष्ट जवाफ नआएसम्म सदन चल्न नदिने अडान दोहोर्‍याए। त्यसपछि कांग्रेस सांसदहरु उठेर विरोध जनाए।

लगत्तै सभामुख महराले सरकारको तर्फबाट कानुनमन्त्री ढकालले बोल्न समय माग गरेको जानकारी गराएपछि कांग्रेस सांसदहरु बसेका थिए।

कांग्रेसको बुधबार बिहान बसेको संसदीय दलको बैठकले पनि सरकारको जवाफ नआएसम्म सदन चल्न नदिने निर्णय गरेको थियो ।का‌ंग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत गत भदौं २६ गते बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी सभापति किरण कोइराला लगायत माथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेका थिए ।आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ।

का‌ंग्रेसले केही दिनदेखि लगातार रुपमा संसद् अवरुद्ध गर्दै आएको थियो ।

प्रकाशित : आश्विन १, २०७६ १३:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रधानमन्त्रीको चेतावनी, ‘गणतन्त्रमाथि धावा बोले सरकार एक्सनमा जान्छ’

ऋषिराम पौडयाल

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्न थालियो भने सरकार एक्सनमा जाने चेतावनी दिएका छन् । सिंहदरबारको पुतली बगैंचामा संघीय संसद् भवनको बुधबार शिलान्याय गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रविरुद्ध आवाज उठ्न थालिएकाले अब सरकार चुप नबस्ने बताएका हुन् ।

‘केहीले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध आवाज उठाउन कोसिस गरिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘गणतन्त्रमाथि धावा बोल्न थालियो भने सरकार चुप लागेर बस्दैन, एक्सनमा जान्छ ।’

लोकतन्त्रमा शान्तिपूर्ण तबरले विरोध गर्नमा भने सरकारले रोक नलगाएको उनले प्रस्ट्याए । विरोधको तरिका सही हुनुपर्ने भन्दै प्रधानमन्त्रीले भने, ‘लोकतान्त्रिक प्रणालीमात्रै होइन, विरोध गर्ने प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ ।’

नेत्रविक्रम चन्द समूहको गतिविधिलाई लक्षित गर्दै प्रधानमन्त्रीले अब मुलुकमा हिंसा जरुरी नभएको धारणा दोहोर्‍याए । ‘हिंसा जरुरी छैन, केका लागि ?’ उनको भनाइ थियो, ‘गणतन्त्र आइसक्यो, संविधान प्राप्त भइसक्यो ।’

हिंसालाई सरकारले नियन्त्रण गरिछाड्ने प्रधानमन्त्रीको दाबी छ । ‘हिंसालाई नियन्त्रण गर्न खोज्दा केही मान्छेहरु रोइकराइ गर्न खोजिरहेका छन् । यो आवश्यक छैन’ उनले भने, ‘देशलाई आतंकित बनाउन खोज्नेलाई सरकारले नियन्त्रण गर्छ ।’

सरकारले भ्रष्टाचार नियन्त्रणका लागि प्राथमिकतासाथ काम गरिरकेको प्रधानमन्त्री ओलीले बताए । ‘भ्रष्टाचार नियन्त्रण गर्न सरकार लागिरहेको छ, भ्रष्टाचारीहरु धमाधम पक्राउ परिराखेका छन्’ उनले उल्लेख गरे । सरकारले सानातिना घूस लिने व्यक्तिलाई पक्राउ गर्ने र ठूला भ्रष्टाचारलाई कारबाही गर्न नसकेको आलोचना भइरहेको छ ।

सत्तारुढ नेकपाका कतिपय नेताले समेत सरकारको कार्यशैलीप्रति असन्तुष्टि नाइरहेको बेला प्रधानमन्त्री ओलीले त्यसलाई स्वीकार गरे । ‘सरकार जुन रफ्तारमा हिँड्नु पर्ने हो, जसरी काम गर्नुपर्ने, हुनुपर्ने हो, त्यसो नहुँदा आलोचना स्वाभाविक हो’ उनको दाबी थियो, ‘तर केही समयमै सरकारले गरेका उपलब्धि देखिन्छ ।’

प्रधानमन्त्री ओलीले बुधबार शिलान्यास गरेका संसद् भवन तोकिएकोकै समयमा बन्नुपर्नेमा जोड दिए । अब विभिन्न विकास निर्माणका काममा ढिलाइ गरिएझैं संसद् भवन बनाउन ढिलाइ गर्ने र अनेक बाहानामा पैसा थप्न लगाउने अवस्था आफूलाई मान्य नहुने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रकाशित : आश्विन १, २०७६ १३:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT