१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

संघीय संसद्को आफ्नै भवन बन्ने

नेपाल र चिनियाँ संयुक्त निर्माण कम्पनी छनोट, भवनले २७ र खुला हरियाली ४५ प्रतिशत ओगट्ने
ऋषिराम पौड्याल

काठमाडौँ — संघीय संसद्को आफ्नै भवन बन्ने निश्चित भएको छ । २०५५ सालदेखि नयाँ भवनको योजना बन्दै थन्किँदै गरेको थियो । सिंहदरबारको पुतली बगैंचामा बन्न लागेको संघीय संसद् (राष्ट्रिय र प्रतिनिधिसभा) भवनको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । आफ्नै भवन नहुँदा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई २०६४ सालदेखि भाडा तिरेर संसद् भवनका रूपमा प्रयोग गरिँदै आएको छ । भाडामा बर्सेनि १५ करोड खर्च छ । सिंहरबारस्थित पुरानो संसद् भवन काम नलाग्ने अवस्थामा छ ।

संघीय संसद्को आफ्नै भवन बन्ने

नयाँ भवन नेपाली कलात्मक शैलीको हुने डिजाइनमा छ । निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागले गत जेठमा ग्लोबल टेन्डर आह्वान गरेको थियो । एक सय ७३ रोपनी ८ आना अर्थात् ८८ हजार २ सय ७१ वर्गमिटर ओगट्ने उक्त भवनको निर्माण ‘हाइटेक’ इन्जिनियरिङ डिजाइन प्रविधिमा आधारित हुनेछ । तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको भवनमा ‘संघीय संसद् भवन परिसर नाम’ दिइएको उक्त स्थानलाई विशेषगरी भवन, हरियाली, पार्किङ र सडक पूर्वाधार क्षेत्रमा विभाजन गरिएको छ ।

लागत इस्टिमेटभन्दा २ अर्ब कम प्रस्ताव, चाइल्ड केयर र ब्रेसफिडिङ सेन्टरको व्यवस्था

परिसरमा भवनले २७ र खुला हरियाली क्षेत्रले ४५ प्रतिशत ओगट्नेछ । उक्त भवन ‘स्टेट अफ आर्ट’ को एउटा नमुना हुने विभागका महानिर्देशक मणिराम गेलालले बताए । ‘देशकै ठूलो र अत्याधुनिक भवनमा युगअनुसारको प्रविधि र सुविधा उपलब्ध हुनेछ,’ उनले भने । परिसरमा प्रतिनिधिसभा, राष्ट्रिय सभा, संसदीय दल र संसदीय समितिको कार्यालय, संसद् सचिवालय, अतिविशिष्ट व्यक्तिको भवन, ‘लबी’, सुरक्षा भवन, पुस्तकालय, चमेनागृह, प्रेस तथा छपाइ भवन, पार्किङ स्थललगायतका संरचना निर्माण हुनेछन् ।


निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

टेन्डर प्रक्रियामा समावेश भएकामध्ये ललितपुरको चिनियाँ र नेपालीको साझा कम्पनी जेभी तुँदी–एसएचईसीले निर्माणको ठेक्का पाउने लगभग निश्चित छ । विभागका सिनियर डिभिजन इन्जिनियर प्रकीर्ण तुलाधरका अनुसार टेन्डर प्रक्रियामा समावेश भएकामध्ये प्राविधिक र आर्थिक मूल्यांकनपछि उक्त कम्पनीको नाममा आशयपत्रको सूचना मंगलबार प्रकाशित भएको छ । उक्त कम्पनीले मूल्यअभिवृद्धि कर (भ्याटबाहेक) ५ अर्ब २ करोडमा निर्माण गर्ने प्रस्ताव गरेको छ । भवन विभागले भ्याटबाहेक करिब ७ अर्बको लागत अनुमान गरेको थियो । उक्त कम्पनीले लागत अनुमानभन्दा २ अर्ब कममा ठेक्का सकारेको छ ।

सत्ता र प्रतिपक्ष सांसदहरू आमनेसामने हुने, ४ सय जना अट्ने संरचना बन्ने

प्रस्ताव पेस गरेका १७ कम्पनीमध्ये प्राविधिक मूल्यांकनमा उचित ठहरिएका १० लाई पूर्वयोग्यता छनोट सूचीमा राखिएको थियो । नेपालका कुनै पनि कम्पनीले एकल प्रस्ताव गरेका थिएनन् । चिनियाँले एकल र संयुक्त गरी ८ वटा प्रस्ताव पेस गरेका थिए । भारतीय कम्पनीले नेपालीसँग संयुक्त र एकलगरी २ वटा प्रस्ताव पेस गरेका थिए । विभागका महानिर्देशक गेलालका अनुसार छनोट भएका कम्पनीका विरुद्ध प्रतिस्पर्धीको कुनै गुनासो भएमा आशयको सूचनालाई आधार बनाएर उजुरी गर्न सक्नेछन् ।’


यस्तो छ डिजाइन

मूलगेटबाट परिसर प्रवेश गरेपछि ६ रोपनीमा फैलिएको ‘ग्रान्ड लबी’ बाट बायाँ प्रतिनिधि र दायाँ राष्ट्रिय सभा भवनमा जान सकिने छ । संसद् प्रवेशका तीनवटा गेट हुनेछन् र ग्राउन्ड फ्लोरमा प्रतिनिधिसभाको बैठक सञ्चालन हुनेछ । सत्ता र प्रतिपक्ष सांसदहरू आमनेसामने हुनेगरी ४ सय जना अट्ने घुमाउरो संरचना निर्माण गरिनेछ । उक्त फ्लोरमा सभामुख र सांसदहरू मात्र बस्न सक्नेछन् । फ्लोरमा संसद्को संयुक्त बैठक बस्न पुग्ने सिट संख्या निर्धारण गरिएको छ । प्रतिनिधिसभाको पहिलो तला (बालकोनी) मा ३ सय जनाको सिट हुनेछ ।


जहाँ सर्वसाधारण, सञ्चारकर्मी र आमन्त्रितहरू बस्ने सिट हुनेछ । राष्ट्रिय सभा भवनमा १ सय सांसद र २ सय दर्शक सिटको व्यवस्था गरिएको छ । मूलगेटको आगाडि पानीको फोहोराको आकर्षक संरचना हुनेछ । भीआईपी, सांसद र सर्वसाधारण प्रवेशद्वार फरक-फरक हुनेछन् । संसद् परिसरमा माहिला सांसदका लागि बाल स्याहार र स्तनपान कक्षको व्यवस्था गरिनेछ । हाल सांसदहरू बस्नका लागि क्युबिकल स्पेस (सानो कार्यकक्ष) पनि हुनेछ ।


प्रकाशित : आश्विन १, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?