३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जोगबनी–किमाथांका सडक : चट्टानी भीर खोल्ने जिम्मा सेनालाई

२ वर्षदेखि ठप्प निर्माणको काम अघि बढ्ने     
शंखेरभीरको ६, महभीरको ५ र आसपास गरी १४ किलोमिटर ट्र्याक खोल्नुपर्ने

(विराटनगर) र (संखुवासभा) — केही स्थानमा रहेका चट्टानी पहरा फोरेर ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिने टुंगो भएपछि २ वर्षदेखि ठप्प रहेको जोगबनी–किमाथांका सडकको काम अघि बढ्ने भएको छ । संघीय सरकारले हालै मात्र किमाथांका सडकखण्डमा पर्ने चट्टानी खण्डमा ट्र्याक खोल्ने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको हो ।

जोगबनी–किमाथांका सडक : चट्टानी भीर खोल्ने जिम्मा सेनालाई

उक्त सडकखण्डमा पर्ने शंखेरभीरको ६ किमि, महभीरको ५ किमि र आसपास गरी १४ किमि क्षेत्रको ट्र्याक खोल्नुपर्नेछ ।

संघीय मन्त्रिपरिषद्ले गरेको निर्णयको ११ नम्बर बुँदामा यो निर्णय उल्लेख छ । ‘नियमित निर्माण भइरहेको सडकका बीचमा ठूला चट्टान भएको क्षेत्रका कारण काम रोकिएको थियो,’ प्रतिनिधिसभामा संखुवासभाबाट सांसद राजेन्द्र गौतमले भने, ‘अब रोकिएको निर्माण फेरि सुरु हुने भयो ।’ सरकारको निर्णय रक्षा मन्त्रालय हुँदै सेनाको मुख्यालय पुगेपछि कार्यान्वयन हुने उनले बताए । उनले भने, ‘सम्भवत: तिहारपछि काम सुरु हुन्छ ।’


यो सडक बनेपछि नेपालको व्यापार विस्तारमा महत्त्वपूर्ण काम हुने उद्योगी–व्यवसायीको भनाइ छ । यसले चीन र भारतका मुख्य व्यापारिक क्षेत्र पनि छोटो दूरीमार्फत जोडिने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनास बोहराले बताए । ट्र्याक खोलेर मात्र पर्याप्त नहुने महासंघका केन्द्रीय उपाध्यक्ष किशोरकुमार प्रधानको भनाइ छ । धनकुटासम्म सडकको अवस्था राम्रै रहेको र त्यसभन्दा उत्तरतिर सडक अव्यवस्थित भएकाले ढुवानीका साधन सञ्चालनमा समस्या हुन सक्ने उनले बताए । ‘किमाथांकासम्म सडक जोडिनु खुसीको कुरा हो,’ उनले भने, ‘सडक व्यवस्थित गर्न सके चीनबाट ढुवानी साधन ल्याउन सहज हुनेछ ।’


राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको जोगबनी–किमाथांका सडकअन्तर्गत संखुवासभामा पर्ने भोटखोला क्षेत्रमा दुई वर्षयता काम रोकिएको थियो । बीचमा सदरमुकाम खाँदबारीबाट १३४ र किमाथांकाबाट १४ किमि सडक निर्माण भएपछि स्थानीय र सडक कार्यालयबीचको विवादले पनि काम रोकिएको थियो । भोटखोला गाउँपालिकाको छुमसुर घोङघप्पा हुँदै सडक किमाथांका पुर्‍याउने स्थानीयस्तरमा पनि सहमति छ ।


विस्फोटक पदार्थ प्रयोग गरी चट्टान फोरिनेछ । यसका लागि च्याम्ताङ भन्ने स्थानमा विस्फोटक राख्न बंकर निर्माण भइरहेको उत्तर–दक्षिण कोसी योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले बताए । ३ सय ९० मध्ये १४ किलोमिटर सडकको मात्र ट्र्याक खोल्न बाँकी छ । ‘खाँदबारीबाट छुमसुरसम्म र किमाथांकाबाट १४ किमि कच्ची सडक निर्माण भइसकेको छ,’ श्रेष्ठले भने, ‘त्यसमा सडक चौडा बनाउने, ग्याबिन पर्खाल, पुलपुलेसा निर्माणको कामसमेत हुँदै छन् ।’

भीर र कडा चट्टान भएकाले ट्र्याक खोल्ने काम अड्किएको उनले बताए । विस्फोटक पदार्थ उपलब्ध भए काम अघि बढ्ने उनको भनाइ छ । विवादित खण्डमा दुई पक्षबीच कुरा मिलिसके पनि ट्र्याक खोल्न ढिलाइ हुँदा स्थानीयले असन्तुष्टि जनाएका थिए । दुई वर्षदेखि सडक पूरा गर्न जिल्ला हुँदै मन्त्रालयसम्म पुगे पनि टुंगो नलागेको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले बताए । अब भने सेनाले काम गर्ने भएपछि सडक बन्ने आशा पलाएको उनको भनाइ छ ।


यो सडकले चीन र भारतलाई सडक यातायातबाट जोड्छ । चीनले किमाथांकासम्म सडक सञ्जाल विस्तार गरिसकेको छ । आव ०६५/६६ बाट यो सडकको खाँदबारी–किमाथांका खण्डमा काम सुरु भएको हो । किमाथांकाबाट ५ सय मिटर पर तिब्बतको चाँगाबजारसम्म भने चीनले ट्र्याक खोलेर ग्राभेलसमेत गरिसकेको छ ।


किमाथांका र भारतको जोगबनीसम्म सडक जोडिए प्रदेश १ मा औद्योगिक र व्यापारिक कारोबार बढ्ने आशा गरिएको छ । वरुण नदीदेखि किमाथांकासम्मको सडकलाई चार खण्डमा विभाजित गरी काम अघि बढाइएको योजना प्रमुख श्रेष्ठले बताए । बरुण–सिम्बुङ, सिम्बुङ—हटिया, लिङ्गाम–चेपुवा र चेपुवा–हुङहुङमा गजुरमुखी–मोतिदान–गीताञ्जली कन्स्ट्रक्सन (जेभी) ले काम गरिरहेका छन् । किमाथांकादेखि चेपुवातिर आउने सडकखण्डको ट्र्याक खोल्ने काम शर्मा एपेक्स कान्छाराम कन्ट्रक्सनले गरिरहेको छ ।


भोटखोला–हटिया गाडी सुविधा

भोटखोला गाउँपालिकाको आग्रहमा यातायात व्यवसायीले खाँदबारीबाट हटियाको गोलासम्म साना गाडी चलाउन थालेका छन् । हटिया भोटखोलाको दुर्गम हो । ‘गाडी चल्न थालेकाले आउजाउ सजिलो भयो,’ पावाखोलाका शिक्षक जितबहादुर श्रेष्ठले भने, ‘यातायात व्यवस्थित गर्न पहलको योजनामा छौं ।’


खाँदबारी नुममा दैनिक ठूलासाना गरी दुई दर्जनभन्दा बढी गाडी चल्ने गरेका छन् । गाउँपालिकाले पनि अघिल्लो आर्थिक वर्षमा अधिकांश गाउँमा पुग्ने गरी सडक निर्माण गरेको छ ।


प्रकाशित : आश्विन १, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?