३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सामुदायिकमा कम्प्युटर र अंग्रेजी अनिवार्य

अर्जुन राजवंशी

(बिर्तामोड) — हल्दिबारी गाउँपालिका पाराखोपीकी झरना राजवंशी कक्षा ६ मा पढ्छिन् । स्थानीय सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत उनी नियमित विद्यालय जान्छिन् । कम्प्युटर पढाइ हुने भएकाले उनलाई विद्यालय जान रमाइलो लाग्छ ।

सामुदायिकमा कम्प्युटर र अंग्रेजी अनिवार्य

सामान्य परिवारकी कान्छी छोरी झरनाका दुई दिदीले भने कम्प्युटर शिक्षा लिन पाएनन् । सरस्वती आधारभूतमा कम्प्युटर शिक्षा सुरु गरेपछि ग्रामीण क्षेत्रका विद्यार्थीले पनि प्रविधियुक्त शिक्षा पाएका छन् । हल्दिबारी गाउँपालिकाले यो वर्षदेखि आफ्नो क्षेत्रका सबै सामुदायिक विद्यालयमा कम्प्युटर र अंग्रेजी शिक्षा अनिवार्य गरेको छ । यसले यहाँका सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढेको छ ।


गाउँपालिकामा १७ वटा सामुदायिक विद्यालय छन् । त्यसमा ६ मावि, ४ आधारभूत र ७ प्रावि छन् । गाउँपालिकाले यो वर्ष प्रत्येक माविमा ३०, आधारभूतमा १० देखि २०, प्राविमा १ देखि ३ गरी २ सय ६० वटा कम्प्युटर उपलब्ध गराएको छ । कम्प्युटरसँगै फोटोकपीसहितको प्रिन्टर पनि सबै विद्यालयलाई दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । सबै विद्यालयमा ‘प्रोजेक्सन डिस्प्ले’ को व्यवस्था गरिएको छ । कम्प्युटर अध्ययनका लागि विद्यालयलाई २ सय ६० कुर्सी र १ सय ३० थान टेबलसमेत दिइएको उनले बताए । ‘विद्यार्थीलाई कम्प्युटर शिक्षा लिन/दिन सजिलो होस् भनेर विद्यालयमा इन्टरनेटको सुविधा पनि उपलब्ध गराएका छौं,’ उनले भने । शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले बताए । ‘सरकारसँग विशेष अनुदान ल्याएर हामीले सबै विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य गरेका हौं,’ उनले भने । यसका लागि २ करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।


गाउँपालिकाले कम्प्युटर मात्रै दिएको छैन, पढाउनका लागि करारमा ११ जना शिक्षक पनि नियुक्त गरेको छ । ‘आधारभूत र मावि तहमा पढ्ने करिब ४ हजार विद्यार्थीले दैनिक कम्प्युटर शिक्षा लिइरहेका छन्,’ गिरीले भने, ‘कम्प्युटर शिक्षा अनिवार्य गरेपछि बोर्डिङ स्कुल छाडेर सामुदायिकमा भर्ना हुने क्रम बढ्दै छ ।’ गाउँपालिकाका विद्यालयमा कम्प्युटरसँगै अंग्रेजी शिक्षालाई पनि अनिवार्य गरिएको उनले बताए । ‘अंग्रेजी सुधार कार्यक्रमअन्तर्गत १७ वटै सामुदायिक विद्यालयमा गाउँपालिकाले एक/एक अंग्रेजी शिक्षक करारमा नियुक्त गरिएको गिरीले जानकारी दिए । ‘सबै कुरामा केन्द्रीय सरकारको मात्र भर परेर नहुँदो रहेछ । हामी पनि सरकार नै हौं । गाउँपालिकाभित्रको शिक्षा गुणस्तरीय बनाउने जिम्मेवारी हाम्रो पनि हो,’ उनले भने, ‘त्यसैले हामीले शिक्षालाई प्राथमिकतामा राखेर केही राम्रो गर्न खोजिरहेका छौं ।’


कम्प्युटर र अंग्रेजी कक्षा अनिवार्य गरेपछि विद्यालयमा विद्यार्थी संख्या बढेको हल्दिबारी माविका प्रधानाध्यापक टंकबहादुर पाख्रिनले बताए । ‘यो वर्ष मात्र हाम्रो विद्यालयमा एक सय नयाँ विद्यार्थी थपिए,’ उनले भने । विद्यार्थी अनुपातका हिसाबले गाउँपालिकाले विद्यालयलाई पर्याप्त कम्प्युटर उपलब्ध गराएको उनको भनाइ छ ।


जिल्लामा दोस्रो कम बजेट भएको गाउँपालिकाले शिक्षामा मात्र यो वर्ष ४ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले आधारभूत र माध्यमिक तहमा अपुग ७ विद्यालयमा एक/एक जनाका दरले विज्ञान शिक्षक, ७ घुम्ती खेल शिक्षक र ३ घुम्ती योग शिक्षकको पनि व्यवस्था गरेको छ । गाउँपालिकाभित्रका विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीबाट शुल्क उठाउन नपाइने नियम कडाइका साथ कार्यान्वयन गरिएको छ । ११ र १२ को शिक्षा पूर्णरूपमा नि:शुल्क गराएको घिमिरेले बताए । यसका लागि गाउँपालिकाले प्रतिविद्यार्थी ५ सय रुपैयाँका दरले विद्यालयलाई मासिक अनुदान रकमको व्यवस्था गरेको पाख्रिनले जानकारी दिए ।


प्रकाशित : आश्विन १, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?