सल्लाह नै असली ओखती

अतुल मिश्र

काठमाडौँ — बिरामी कुर्सीमा बसेका छन् । डाक्टर कहिले उभिएर जाँच्छन् त कहिले बसेर सल्लाह दिन्छन् । राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४४ वर्षीय डा.शेरबहादुर पुनले डेंगु संक्रमित प्रेक्रिप्सनमा लेख्दै भने, ‘पोसिलो झोल पदार्थ प्रशस्त खानुस् । ज्वरो सय नाघे सिटामोल खानुस् । निको भइहाल्नुहुन्छ, आत्तिनु पर्दैन ।’ 

सल्लाह नै असली ओखती

खुट्टा बारम्बार तन्काउँदै उनले पुनः परीक्षण गरिरहँदा ज्वरोले रातो अनुहारसँगै दुखाइले थकित ज्यान देखिएका ती बिरामीको आँखामा कृतज्ञताको भाव छ । ‘आज चाप निकै भयो, विचराहरू तीन घण्टा लाइनमा पसेर बल्ल पालो पाएका छन्,’ डा. पुनले भने, ‘कुर्सीबाट उठ्न नपाएर हेर्नुस् न खुट्टा पूरै निदायो, त्यसैले उभिएरै जाँच्दै छु ।’ राजधानीमा एक महिनायता डेंगुको प्रकोप देखिएसँगै डा.पुनको अस्पताल बसाइँ अवधिमा खाना, खाजा र चियाको रुटिन बिथोलिएको छ । बिरामीको चाप झेल्ने उनी एक्ला स्वास्थ्यकर्मी भने होइनन् तर आफ्नो टिमको हौसला बढाउन उनी खटेको देखेरै सहकर्मीले ऊर्जा पाएका छन् ।


सधैं बिहान पौने ९ बजे अस्पताल आइपुग्नु र बिरामी जाँच्दै साँझ ६ बज्नु फर्कनु उनको दैनिकी हो । कतिपय दिन त्योभन्दा पनि ढिला हुन्छ । ‘आजकल घर पुग्दा बेलुका ८ नै बजिसकेको हुन्छ,’ उनी भन्छन्, ‘आस लिएर आएका बिरामीलाई हामीले दिने सल्लाह नै असली ओखती हो । जँचाउन आउने धेरै जना डराएका हुन्छन् ।’


गत आइतबार बिहान पौने ८ बजे नै आएका उनले साँझ ६ बजेसम्म खाजासमेत खान भ्याएनन् । बिरामीको भीडले उनलाई बेफुर्सदी बनायो । भर्ना भएर निको भएका २० जना बिरामीलाई बिदाइसमेत गरे । ८–१० दिनदेखि सम्पर्कमा रहेका बिरामीको रगत परीक्षणमा देखिएको उतारचढाव र लक्षण आदि हेरेपछि ‘आजदेखि तपाईं खतरामुक्त । अब ढुक्कले घर जानुस्’ भन्ने गर्छन् ।


राजधानीमा एक महिनायता डेंगुको संक्रमण दर बढेको हो । त्योसँगै अस्पतालमा चाप पनि छ । भीड धेरै भएपछि अस्पतालले छुट्टै ‘ज्वरो क्लिनिक’ समेत चलाएको छ ।


गर्मी हटेर हिउँद सुरु हुँदै गर्दा बर्सेनि भाइरल ज्वरोको समस्या देखापर्नु सामान्य हो । भाइरलका बिरामी पनि आफूलाई डेंगु हुन सक्ने त्रासले अस्पताल आउँदा चाप बढेको हो । दिनमा करिब ५ सय जना हाराहारी जँचाउन आउँछन् । चाप धान्न अस्पतालले आफ्नो सबै जनशक्ति लगाएको छ । दिनमा १५ देखि १८ जनाको संख्यामा खटिएका चिकित्सकको अगुवाइ डा. पुनले गरेका छन् । ‘दिनहँॅ १ देखि २ बजेसम्म खाजाको ब्रेक हुन्छ,’ उनी भन्छन्, ‘बिरामीको चाप हेरेर हामी कति दिन खाजा–खानाका लागि नगएरै पनि जाँच्ने र परामर्श दिने काम गरिरहेका छौं ।’ डेंगुको उपचारभन्दा पनि बिरामीलाई परामर्श गतिलो ओखती हुने उनको अनुभव छ । ‘किनभने यो रोगमा धेरै परामर्श र थोरै उपचारको खाँचो हुन्छ,’ उनी भन्छन् । सकेसम्म बिरामीलाई सन्तुष्ट पार्ने प्रयास गर्नु, जस्तोसुकै प्रश्न र बारम्बार दोहोर्‍याएर सोध्नेसँग पनि झर्को नमान्दा काम गर्न सजिलो हुने उनले बताए । ‘डेंगुबारे धेरै भ्रम छ,’ उनी भन्छन्, ‘कुरा प्रस्टसँग बुझाउन सकियो भने उपचार गरेर गएकाहरूले अरूलाई पनि बुझाउन सक्छन् ।’


कस्तो प्रकारको संक्रमण हो भन्नेमा धेरैथरी शंका गरेर बिरामीले प्रश्न गर्छन् । ‘बिरामीको हरेक शंका निवारण गर्दा, राम्ररी सम्झाउँदा यहाँबाट जाने बेलामा अनुहारमा एउटा आत्मविश्वास देख्छु,’ उनी भन्छन्, ‘आत्मबल बढेर गएकाहरूको स्वास्थ्यमा अलि छिटो सुधार हुन्छ ।’ सधैं उस्तै प्रश्न, उस्तै बिरामीको भीडलाई झेल्नुपर्दा कहिलेकाहीँ आफूलाई निकै थाकेको अनुभव हुने भए पनि बिरामी सन्चो भएर हँसिलो भई फिर्दै गरेको भेट्दा भने फूर्ति आउने उनले बताए । ‘बिरामीको अनुहारमा आएको चमकले अर्कै सन्तुष्टि पाइन्छ,’ उनी भन्छन्, ‘त्यसैले मलाई दिने शक्तिले होला जतिसुकै खटे पनि खासै केही फरक पर्दैन । आखिर घर गएपछि त सुत्ने, आराम गर्ने नै हो नि ।’


गत शुक्रबार उनी बिहान पौने ८ मै अस्पताल आएका थिए । दिउँसो सहयोगी कर्मचारीले उनलाई कराउँदै बिरामी जाँच्ने ठाउँबाट उठ्न लगाएर खाना खान लगे । धेरै पटक बोलाउँदा पनि नउठेका उनलाई कर्मचारीले ‘तपाईं नै बिरामी परे के होला, हिंड्नोस्’ भन्दै बलजफ्ती खाना खुवाउन लगेका थिए । काखमा बच्चा बोकेर घन्टौं लाइनमा बसेकालाई देख्दा जाँच्न छाडेर खान जान जाँगर नहुने डा. पुन बताउँछन् । ‘कहिलेकाहीँ यहाँका कर्मचारी दाइहरूले बलजफ्ती गरेर खुवाउन लैजान्छन्, ठीकै हो खासमा । नत्र भोकै पनि परिन्छ,’ उनी भन्छन्, ‘म जे गरिरहेको छु त्यो गर्नु त हामी सबै चिकित्सकको ड्युटी नै हो ।’


चाप नभएका बेला बिहान ९ बजेदेखि बिरामी जाँचलगायतमा दिउँसो साढे ३ बज्छ । ४ बजेतिर अस्पतालबाट घर पुगिने उनले बताए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भदौ महिनामा दशकयताकै बिरामीको सर्वाधिक चाप भएको उनको भनाइ छ । केही वर्षअघि ‘स्वाइन फ्लु’ को संक्रमण व्यापक हुँदा पनि बिरामीको चाप निकै थियो तर त्यो बेला डेंगुको संक्रमण जस्तो चाप भने भएको होइन । यो वर्ष धरानमा फैलिनुअघिदेखि डा.पुन डेंगुका बिरामीको उपचार प्रक्रियामा संलग्न छन् । उनले त्यसताका श्रीलंकाबाट आएका डेंगु संक्रमित युरोपेली बिरामीको उपचार गरेका थिए । त्यसपछि मलेसियामा काम गरेर फर्किएका केही नेपाली कामदार उपचारका लागि आएका थिए । दक्षिण भारतको केरलाबाट केही नेपाली विद्यार्थी पनि डेंगुको उपचारका लागि आएका थिए ।


नेपाली कामदार जाने मुलुकमा हुन सक्ने सम्भावित संक्रामक रोगबारे पनि जानकारीमूलक तालिमको खाँचो उनी औंल्याउँछन् । प्रकोपको रूप नलिँदै उनले डेंगु फैलिनसक्ने चेतावनी दिँदै आएका थिए । राजधानीमा फाट्टफुट्ट रूपमा डेंगु देखिँदै सतर्कताको खाँचोबारे उनी बोल्न थालेका थिए । हाल गरिएको कामलाई सेवासँगै स्वास्थ्यकर्मीका लागि सिकाइको मौकासमेत मान्नुपर्ने उनको तर्क छ । डेंगुबाट ६ जनाको मृत्यु भइसकेको छ ।


प्रकाशित : आश्विन १, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?