कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पुनः श्रम स्वीकृतिमा ‘विभेद’

होम कार्की

काठमाडौँ — ओखलढुंगाका २९ वर्षीय इन्द्रबहादुर कार्की रोयल गार्ड अफ ओमनमा काम गर्छन् । यसले शाही परिवारसँगै विशेष निकायलाई सुरक्षा दिने काम गर्छ । कार्की राजपरिवारकै एक सदस्यको घरमा ड्राइभर छन् । उनलाई सेवासुविधा रोयल गार्ड अफ ओमनले नै दिन्छ । न्यूनतम तलब झन्डै ४२ हजार रुपैयाँ छ । बिदामा घर आएका कार्की ओमन फर्किन पाएका छैनन् ।

पुनः श्रम स्वीकृतिमा ‘विभेद’

उनको परिचयपत्रमा पेसा घरेलु कामदार लेखिएकैले वैदेशिक रोजगार कार्यालयले पुनः श्रमस्वीकृति रोकिदिएको हो । ओमनस्थित नेपाली दूतावासले उनी घरेलु कामदार नभएको आशयको पत्र दिएपछि मात्र पुनः श्रमस्वीकृति दिन सकिने कार्यालयले जनाएको छ ।


श्रम मन्त्रालयले २०७५ जेठ १ गते ओमनको रोयल कोर्ट अफेयर्स, रोयल कोर्ट अफ दिवान, रोयल गार्ड अफ दिवान र मस्कट नगरपालिकामा काम गर्ने नेपालीले घरेलु कामदारसम्बन्धी निर्देशिकाको अनुसूची ८ बमोजिम दूतावासबाट सिफारिस लिनु नपर्ने निर्णय गरेको थियो । दूतावासले नै ती सरकारी निकायमा कार्यरतहरू घरेलु कामदारभित्र नपर्ने भन्दै सरकारलाई विशेष निर्णय गर्न पहलकदमी गरेको थियो । कार्कीले मस्कटस्थित नेपाली दूतावासलाई सिफारिस दिन अनुरोध पनि गरे । तर दूतावास नमिल्ने भन्दै पन्छिएको छ । घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिने पछिल्लो सरकारी निर्णयले अप्ठ्यारो पारेको दूतावासको बुझाइ छ । ‘हामीलाई पहिले श्रमस्वीकृति लिँदा जुन रोजगारदातासँग काम गर्न आएको हो, फेरि त्यसैकहाँ आए मात्रै सिफारीस गर्ने अधिकार दिइएको छ,’ ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले भनिन् ।


संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम मन्त्रालयलाई खाडीमा कार्यरत सबै घरेलु कामदारलाई पुनः श्रमस्वीकृति नदिन निर्देशन गरेको छ । ‘श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका घरेलु कामदारलाई मात्र घर फर्की आउन र घर आई सोही ठाउँमा श्रमस्वीकृति लिई काममा फर्केर जान पाउने गरी दिएको निर्देशनका आधारमा अन्य घरेलु कामदारसमेतलाई श्रमस्वीकृति प्रदान गरी पठाउने कार्यमा कडाइसाथ नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भयो,’ भदौ ४ गते बसेको समिति बैठकको निर्णय छ । यो निर्णयले सबै घरेलु कामदारलाई सम्बोधन गरेको छैन । खाडीमा मात्रै पुरुष र महिला गरी कम्तीमा १ लाख ३९ हजार घरेलु कामदार छन् । कतारमा ३० हजार, साउदी अरबमा ३० हजार, कुवेतमा ४० हजार, यूएईमा १५ हजार, ओमानमा १० हजार, बहराइनमा १० हजार र लेबनानमा ४ हजार नेपाली घरेलु कामदार छन् । कतार र साउदीमा सबैभन्दा बढी ऊँट रेस, मजरा (खेतीकिसानी), हाउस ड्राइभरका रूपमा कार्यरत छन् ।


४५ हजारजतिले मात्रै घरेलु कामदारमा जाने श्रमस्वीकृति लिएको मन्त्रालयको भनाइ छ । फेरि खाडीमा इमानदार रोजगारदाताले अर्को रोजगारदाताको घरमा काम गर्न अनुमति दिए ‘स्पोन्सर’ परिवर्तन गर्न पाउने छुट छ । समितिको निर्णयले स्पोन्सर परिवर्तन गरेका कामदारलाई पनि पुनः श्रमस्वीकृति रोकेको छ । संसदीय टोलीको अध्ययन प्रतिवेदन पेस गर्ने समयसम्मका लागि अस्थायी रूपमा पुनः श्रमस्वीकृति दिन निर्देशन दिइएको समिति सभापति विमल श्रीवास्तवले बताए । ‘साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) को स्थलगत अध्ययन भ्रमण गरी समितिमा राय सुझावसहितको प्रतिवेदनका आधारमा ठोस निर्णय गर्न टोली पठाइने भएको छ,’ उनले भने, ‘त्यसपछि अर्को निर्णय आउनेछ ।’

प्रकाशित : आश्विन १, २०७६ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?