१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

इन्डो–प्यासिफिक नीति हो, रणनीति होइन : अमेरिकी दूतावास

दिनेश रेग्मी

काठमाडौँ — नेपालस्थित अमेरिकी दूतावासका राजनैतिक विभागका प्रमुख क्लिन्टन टाड ब्राउनले ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ रणनीति नभई अमेरिकाको नीति मात्र रहेको बताएका छन् ।

इन्डो–प्यासिफिक नीति हो, रणनीति होइन : अमेरिकी दूतावास

पूर्वसांसद मञ्च नेपालद्वारा मंगलबार सिंहदरबारमा आयोजित ‘विश्व परिस्थिति र नेपालको भविष्य’ विषयक सेमिनारमा उनले इन्डो–प्यासिफिक स्ट्राटेजी अन्तर्राष्ट्रिय पद्धतिलाई मद्दत गर्नका लागि आएको बताए ।


‘यो हाम्रो आफ्नै पोलिसी हो, नेपालीमा भन्नुपर्दा यो नीति हो, रणनीति होइन । कानुनी शासन, खुलापन, स्वतन्त्रता र स्वतन्त्रतामा आधारित विधिको शासनसँग सम्बन्धित छ,’ ब्राउनले भने, ‘साना देशहरू ठूलाबाट मिचिनु वा घेरिनु विधिको शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थामा सम्भव हुँदैन । त्यहाँ नेपालले हस्ताक्षर गरेर सहभागी हुनुपर्ने कुनै प्रावधान छैन ।’


इन्डो–प्यासिफिक स्ट्राटेजी अमेरिकाले दोस्रो विश्वयुद्धको अन्त्यपछि ७० वर्षदेखि अँगाल्दै आएको नीति हो भन्दै उनले यो कसैको विरुद्धमा नभएको बताए । ‘जसले यो नीति चीनविरुद्धको हो भनिरहेका छन् उनीहरूले के बुझिरहेका छैनन् वा बुझ पचाइरहेका छन् भने यसले करोडौं मानिसको जीवनमा काम गरेको छ,’ उनले भने, ‘त्यसो हुँदा, म के थप्न चाहन्छु भने इन्डो–प्यासिफिक स्ट्राटेजी चीनको विरुद्धमा नभएर पक्षमा छ । यस क्षेत्रमा भएको सुरक्षा, स्वतन्त्रता र खुलापनले नै गर्दा चीनको विकास सम्भव हुन सकेको हो ।’


सेमिनारमा नेपालस्थित अमेरिकी, जापानी, भारतीय, युरोपियन युनियन, राष्ट्रसंघीय निकायका कूटनीतिक अधिकारी तथा प्रतिनिधि, प्राध्यापक, पूर्व तथा वर्तमान सांसदहरूको सहभागिता थियो । ब्राउनले नेपाल र अमेरिकाले दुई वर्षअघि मित्रताको ७० औं वर्षगाँठ मनाएको उल्लेख गर्दै नेपालको विकासमा अमेरिका साझेदार भएको बताए । ‘हरेक वर्ष २ सय मिलियन डलर (२० अर्ब रुपैयाँभन्दा बढी) रकम विकास सहायता गरेका छौं, यो ऋण होइन, अनुदान हो,’ उनले भने, ‘सडक र विद्युत् क्षेत्रमा सहायताका लागि मिलेनियम च्यालेन्ज कोअपरेसनअन्तर्गत ५ सय मिलियन (५० अर्ब रुपैयाँभन्दा बढी) सहयोग छ ।’


हरेक वर्ष ९० हजार अमेरिकी पर्यटक नेपाल आउने गरेको बताउँदै उनले नेपालको शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषि, सडक, पुल, मिडिया, सुरक्षा, वातावरण र भूकम्पलगायतमा सहयोग गर्दै आएको उल्लेख गरे । अमेरिकाले नेपाली सैनिकलाई विभिन्न तालिम दिने गरेको सुनाउँदै उनले आगामी तालिम पानीबाट द्रुत उद्धार गर्नेबारे हुन लागेको बताए ।


‘नेपालबाट फाइदा उठाउनुस्’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्वमा धेरै जनसंख्या भएका दुई ठूला छिमेकी देश भारत र चीनको बीचमा रहेको नेपालमा आएर फाइदा उठाउन विदेशी लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । कार्यक्रममा उनले नेपालमा राजनीतिक स्थिरता भएकाले लगानीकर्तालाई आउन आग्रह गरे ।


‘विकासका लागि नेपालमा साधन स्रोतको ठूलो अभाव भएकाले उर्वरभूमिमा आएर लगानी गर्न म आग्रह गर्छु,’ उनले भने, ‘हामीकहाँ राजनैतिक स्थायित्व, श्रम सम्बन्ध र बजार विस्तार भएको हुँदा नेपाल आउनुस्, लगानी गर्नुस् र फाइदा उठाउनुस् ।’ नेपालको कोही पनि शत्रु नभएको, सबैसँग सौहार्दता भएकाले भविष्य उज्ज्वल छ भन्दै उनले विश्व शान्ति र सुरक्षाका लागि ६ दशकदेखि सहयोग गर्दै आएको बताए ।

प्रकाशित : भाद्र ३१, २०७६ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?