कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

आन्दोलनरत विद्यार्थीको प्रश्न- 'मेडिकल माफियासामु प्रधानमन्त्री किन नतमस्तक ?'

रमेशकुमार पौडेल

चितवन — चितवन मेडिकल कलेजले मनपरी शुल्क लिएको भन्दै आन्दोलनरत विद्यार्थीले आफूहरूको समस्याप्रति राज्यको जिम्मेवार निकायले सुनुवाइ नगरिदिएको बताएका छन् । भदौ १५ देखि सडक संघर्ष नै सुरु गरेका उनीहरूले त्यसअघिबाटै पढाइ ठप्प पारेका थिए तर आन्दोलन भएको लामो समय हुँदा पनि कतैबाट सुनुवाइ नभएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा गुनासो गरे ।

आन्दोलनरत विद्यार्थीको प्रश्न- 'मेडिकल माफियासामु प्रधानमन्त्री किन नतमस्तक ?'

‘लामो समय आन्दोलन हुँदा पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि), चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम), काठमाडौं विश्वविद्यालय (केयू) लगायत सरोकारवाला मौन छन् । के पदाधिकारीहरूको काम तलब पकाउनु मात्रै हो,’ चिकित्सा शिक्षा संघर्ष समितिका तर्फबाट संयोजक प्रकाश चन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


आफूहरूले सरकारले तोकेकोभन्दा २० लाख रुपैयाँसम्म बढी शुल्क तिर्नुपरेको उनीहरूले बताएका छन् । ‘यत्रो अन्याय भइरहँदा देशका प्रधानमन्त्री कहाँ हुनुहुन्छ ? निडर छवि भएका प्रधानमन्त्री पनि मेडिकल माफियाका अगाडि त्रस्त र नतमस्तक हुनुभएको हो ? कि माफियासँगको हिमचिमले उहाँको वाचाल जिब्रो अचल भएको हो,’ विज्ञप्तिमा उल्लेख छ ।


विज्ञप्तिमा अर्थमन्त्रीप्रति पनि आक्रोश व्यक्त गरिएको छ । ‘दसौं अर्बको कालोबजारी भएर अर्बौं कर छली हुँदा यो देशका विद्वान् अर्थमन्त्री कहाँ हुनुहुन्छ ? दिनमा दुई सय कमाउनेसँग पान कार्ड अनिवार्य गर्ने अर्थमन्त्री पनि अर्बौं ठगी हुँदा लाचार किन ?’ विज्ञप्तिमा सोधिएको छ ।


पत्रकार सम्मेलनमा सहभागी विद्यार्थीले मेडिकल शिक्षाका लागि सरकारले तोकेको भन्दा कलेजले लिएको बढी शुल्क फिर्ता नहुँदासम्म आन्दोलन जारी रहने प्रतिक्रिया दिए । सरकारको आड पाएर विद्यार्थीलाई अन्याय गर्न पाइन्छ भन्ने भ्रममा कोही नबस्न चन्दको भनाइ छ । ‘सरकारको आड छ भनेर मात्रै कोही नबसून् । यो देशमा सरकारभन्दा पनि बाहिर न्यायका लागि साथ दिने शक्ति छ । सबैलाई चेतना होस्,’ उनले भने ।


आन्दोलन र धरपकड बढ्दै गएपछि चितवन मेडिकल कलेज प्रशासनले भदौ २७ देखि सम्पूर्ण शैक्षिक कार्यक्रम बन्द गरेको छ । आन्दोलन सुरु भएपछि आन्तरिक परीक्षा हुन पाएको छैन । कात्तिक २१ मा एमबीबीएस पहिलो वर्षको बोर्ड परीक्षा छ । परीक्षा नजिक आउँदै गर्दा पठनपाठन बन्द गर्ने तर विद्यार्थीका जायज माग नसुन्ने कलेज प्रशासनको कदम गलत भएको एमबीबीएस तेस्रो वर्षकी विद्यार्थी मान्यता थापाले बताइन् ।

प्रकाशित : भाद्र ३१, २०७६ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?