नेपालबाट पत्ता लागे १६५८ फूल फुल्ने वनस्पति, अन्य मुलुकमा नभेटिएका ३७४

गोविन्द पोखरेल

काठमाडौँ — नेपालबाट पत्ता लागेका फूल फूल्ने वनस्पतिको विवरण संग्रहीत पुस्तक तयार भएको छ । विश्वमा पाइने फूल फूल्ने वनस्पतिहरुमध्ये १ हजार ६ सय ५८ वटा नेपालबाट पहिलोपटक पत्ता लागेको उक्त पुस्तकमा उल्लेख छ । वनस्पति विभागले मंगलबार सार्वजनिक गरेको ‘फ्लावरिङ प्लान्टस् डिस्कभर्ड फ्रम नेपाल’ पुस्तकमा सन् १८०५ देखि २०१९ सम्म फूल फूल्ने वनस्पति प्रजातिहरु नेपालबाट पहिलोपटक पत्ता लागेको उल्लेख छ ।

नेपालबाट पत्ता लागे १६५८ फूल फुल्ने वनस्पति, अन्य मुलुकमा नभेटिएका ३७४

नेपालबाट पत्ता लागेका यी प्रजातिहरुमध्ये ३ सय ७४ थरीका वनस्पतिहरु हालसम्म अन्य मुलुकमा नभेटिएको पुस्तकका लेखक एवं वनस्पतिविद् प्राडा केशवराज राजभण्डारीले बताए । ‘अरू देशमा नभेटिएका वनस्पतिहरुलाई नेपालको इन्डेमिक प्रजाति भनेका छौं,’ उनले भने ।

पत्ता लागेका यी वनस्पतिहरु बारेको जानकारी ४५ वटा जिल्लाबाट संकलन गरिएको हो । यस्तै पत्ता लागेका वनस्पतिहरुमध्ये ३ सय ७८ वटा प्रजातिको नामकरण नेपालको नामसँग जोडेर राखिएको छ । पुस्तक प्राडा. राजभण्डारी र वनस्पति विभागका महानिर्देशक डा. सञ्जिवकुमार राई लगायत ६ जना वनस्पतिविद्ले तयार पारेका हुन् । ‘अहिले पत्ता लागेका वनस्पतिको जानकारी थप अध्ययन र शोध गर्नेका लागि सहयोगी हुन्छ,’ राईले भने, ‘किताबलाई अझ परिमार्जन गर्दै लैजाने योजना छ ।’


वनस्पतिहरुको संरक्षणमा ध्यान दिनुपर्ने वनस्पतिविद् प्राडा तीर्थबहादुर श्रेष्ठको भनाइ छ । ‘सन् १८२० मा स्वयम्भूबाट पत्ता लागेका ५० भन्दा बढी वनस्पतिहरु अहिले भेट्टाउन मुस्किल छ,’ उनले भने, ‘विभागले निकालेको पुस्तक विशुद्ध वैज्ञानिक भए पनि यसलाई डी–कोड गरेर जनतामाझ लैजाने खालको बनाउनुपर्छ । जनताले थाह पाएमात्रै जोगाउन सम्भव हुन्छ ।’


यसैबीच, वनस्पति विभागले हर्वेरियमका नमुनाहरुको अध्ययनको आधारमा तयार ‘अ हृयान्डबुक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल भाग–२’ पनि मंगलबार सार्वजनिक गरेको छ । यसमा ६७ वनस्पति परिवारका १ हजार ४ सय ८० प्रजातिहरुको सूची, पहिचान, नामाकरण र वर्गीकरणको नविनतम पद्धति (एन्जिओस्पर्म फाइलोजेनी ग्रुप ‘एपीजी’) अनुसार तयार गरिएको हो ।


नेपालका वनस्पतिका नमुनाहरु विश्वका विभिन्न १७ मुलुकका ५९ हर्बेरियम संग्रहालयमा छन् । ती जानकारी पुस्तकमा समेटिएको छ । वनस्पतिविद्हरुका लागि यो किताब ‘गीता’ जस्तै रहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभागका पूर्वप्रमुख एवं बोटानिकल सोसाइटी अफ नेपालका अध्यक्ष प्राडा मोहन शिवाकोटीले बताए । ‘यो पुस्तकले नेपालको वनस्पतिक सम्पदाको उपयोग र दीगो व्यवस्थापनमा मद्दत पुग्छ,’ उनले भने ।


वन तथा वातवरणमन्त्री शक्तिबहादुर बस्नेतले पुस्तक सार्वजनिक गर्दै वैज्ञानिकहरुको खोज तथा अनुसन्धान जनताको जीवनसँग कसरी जोड्ने भन्ने विषयमा केन्द्रीत हुनुपर्ने बताए । मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले किताब वैज्ञानिकहरुका लागि मात्रै भएको र यसलाई आम सर्वसाधरणहरुले बुझ्ने र जानकारी दिने किसिमको ल्याउन सुझाव दिए । यस्तै,उनले वैज्ञानिकहरुलाई अनुसन्धानबाट आएको निष्कर्ष सीमित समूहमा मात्रै नरहेर सबैकहाँ पुर्‍याउनुपर्ने बताए ।


फ्लोरा अफ नेपाल लेखन कार्यमा सघाउ

यो पुस्तकले फ्लोरा अफ नेपाल लेखन कार्यमा सघाउ पुर्‍याउने विभागले जनाएको छ । सन् २०१७मा फ्लोरा अफ नेपाल प्रकाशनको सातौँ अन्तर्राष्ट्रिय सम्पादक मण्डलको बैठकले बृहत् फ्लोरा अफ नेपाल लेखन कार्यका लागि नयाँ ‘अपडेटेट चेकलिस्ट’को आधारमा फ्लोरा अफ नेपाल लेखनको कार्य गर्नुपर्ने औंल्याएको थियो । यसअघि सय वर्ष पुरानो चेकलिस्टको आधारमा एउटा अंक प्रकाशित भएको थियो ।


विभागले अपडेटेट चेकलिस्टको आधारमा यो हृयान्डबुक प्रकाशन गरेको हो । विभागलाई ३ वटा भोलुममा रहेर हृयान्डबुक प्रकाशन गर्ने जिम्मेवारी दिइएको छ । विभागले नामाकरण तथा वर्गीकरणको नविनतम पद्धति अनुसार हेर्बरियम डाटामा आधारित चेकलिस्टको प्रथम भाग सन् २०१७मा ‘अ हृयान्डबुक अफ द फ्लावरिङ प्लान्टस अफ नेपाल भोल–१’प्रकशित गरेको थियो । उक्त भोलमा १७१५ प्रजातिका वनस्पतिको विवरण प्रकाशित गरिएको थियो । विभागले अर्को भोल सन् २०२०सम्म प्रकाशित गर्ने तयारी गरेको छ ।


यसैबीच फ्लोरो अफ नेपाल प्रकाशनको ढिलाइ भइरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय सम्पादक मण्डलको आठौँ बैठकमा असोज ६ र ७ गते काठमाडौंमा बस्दै छ । बैठकले हालसम्मका कामको समीक्षा गर्ने र प्रगतिबारे जानकारी लिने बताइएको छ ।

यो पनि पढ्नुहोस्:

'फ्लोरा अफ नेपाल’ २० वर्षमा एउटा अंक

प्रकाशित : भाद्र ३१, २०७६ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?