गाउँपालिका कार्यालय तोडफाडको आरोपमा वडा अध्यक्षसहित ३ पक्राउ

दीपक परियार

पोखरा — कास्कीको माछापुच्छ्रे गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा वडा अध्यक्षसहित ३ जना पक्राउ परेका छन् । 

गाउँपालिका कार्यालय तोडफाडको आरोपमा वडा अध्यक्षसहित ३ पक्राउ

गत बुधबार लाहाचोकमा रहेको गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा मंगलबार बिहान माछापुच्छ्रे–१ का वडा अध्यक्ष वीरेन्द्र गुरुङ, वडा नम्बर ३ का सदस्य गणेश आचार्य र तरुण दलका नेता विपुल भनिने टीकाराम पौडेल पक्राउ परेका हुन् ।


वडा प्रहरी कार्यालय बगरले पोखराको जिरो किलोमिटरबाट उनीहरुलाई पक्राउ गरेको हो । गाउँपालिकाले तोडफोडमा संलग्न भएको भन्दै गएको शुक्रबार ४ जनाविरुद्ध जाहेरी दिएको थियो । गाउँपालिका अध्यक्षका प्रत्यासी खुसीमान गुरुङ, कांग्रेसबाट निर्वाचित वडाध्यक्ष वीरेन्द्र गुरुङ, कांग्रेसबाट वडा नम्बर ८ का अध्यक्षका प्रत्यासी राम गुरुङ र टीकाराम पोडेल विरुद्ध किटानी दिइएको थियो । अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सूचना माग गर्दा पर्याप्त रुपमा नदिएको भन्दै कांग्रेस गाउँपालिका सभापति खुसीमान गुरुङको नेतृत्वमा ४०–४५ को संख्यामा पुगेका कार्यकर्ताको टोलीले बुधबार गाउँपालिका कार्यालय तोडफोड गरेको थियो ।


तोडफोडबाट सभाकक्षमा रहेका २५ कुर्ची भाँच्चिएका छन् । सभाकक्षको टेबुल ठाउँ–ठाउँमा प्वाल परेको छ । गुरुङले भदौ १२ मा सूचनाको हकको प्रयोग गर्दै गाउँपालिकाका निर्णय, आर्थिक प्रतिवेदन लगायत सूचना माग गरेका थिए ।


गाउँपालिका कार्यालयले अपुरो सूचना दिएको भन्दै भीड आक्रोशित भएर सामान्य तोडफोड भएको स्थानीय युवा उमेश बाँस्तोलाले बताए । ‘हामी गाउँपालिका कार्यालय जाँदा खासै वास्ता गरिएन,’ उनले भने, ‘पाउनुपर्ने सूचना लुकाइएपछि सामान्य भनाभन भयो ।’


गाउँपालिकाकी उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष कृष्णकुमारी दवाडीका अनुसार गाउँपालिकामा निर्माणाधीन १३२ केभीए सवस्टेसन प्रभावितसँग उनकै कार्यकक्षमा बैठक थियो । बैठक भइरहँदा सभाकक्षमा तोडफोड भएको उनले बताइन् । ‘५–१० मिनेट ढिलो हुँदैमा वास्ता नगरेको भन्ने हुँदैन,’ उनले भनिन्, ‘त्यति कुरामा मात्रै तोडफोड गरिनु गलत हो ।’ गाँउपालिका अध्यक्ष कर्णबहादुर गुरुङ बाँसको प्रविधि सम्बन्धी ५० दिने तालिमका सिलसिलामा चीन भ्रमणमा छन् ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले माग गरेको सूचना प्राप्त नभए पुनः निवेदन दिन सकिने प्रक्रिया रहेको बताए । उनले भने ‘यसको आफ्नै प्रक्रिया हुँदाहुँदै पनि तोडफोड भयो ।’

प्रकाशित : भाद्र ३१, २०७६ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?