२ दिन देशभर वर्षाको सम्भावना, बिहीबारबाट मौसम सुधार हुने

रासस

काठमाडौँ — मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

भारतको उडिसा र पश्चिम बंगाल आसपासमा बनेको न्यून चापीय रेखा र ब‌ंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि बढिरहेको मौसमविद् विभूति पौखरेले बताइन् ।


मनसुनको न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तर राजस्थान, हरियाण, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण विहार, झारखण्ड र पश्चिम बंगालको खाडीलाई बुझनुपर्ने हुन्छ ।


मंगलबार देशभर आंशिकदेखि पूर्णबदली रही मध्य र पूर्वी भू–भागका धेरैजसो स्थानमा तथा पश्चिमका केही स्थानमा चट्ट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम र मध्य भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।


'आज र भोलि देशभरि नै बदली भई वर्षा हुनेछ । बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने छ,' मौसमविद् पौखरेलले भनिन् । हाल पूर्वी तराई, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको साथै बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका मध्य र पश्चिमका धेरैजसो स्थानमा तथा पूर्वका केही स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षा हुने साथै मध्य तथा पश्चिमी भू–भागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले पहिरो जान सक्ने नदीमा पानीको बहाव बढ्न सक्ने तथा सडक र हवाई यातायातमा अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन आग्रह गरेको छ ।


राति देशभरि सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानमा तथा पूर्वका केही स्थानमा मेघगर्जन र चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि देशभरि सामान्य बदली रही देशको मध्य तथा पश्चिमीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।


बिहीबार देशभरि सामान्यदेखि आंशिक बदली रही केही स्थानमा मेघगर्जन÷ चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १०.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ७६.० मिलिमिटर, दाङमा १५.० मिलिमिटर, सिमरामा ५.० मिलिमिटर, नेपालगञ्जमा ३७.० मिलिमिटर र विराटनगरमा १५.० मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित : भाद्र ३१, २०७६ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्

लमजुङमा भूकम्पको धक्का महसुस

आश गुरुङ

लमजुङ — लमजुङ र आसपासका जिल्लामा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ । भूकम्पका कारण स्थानीय डराएर घरबाहिर निस्किएका थिए ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको दोर्दी गाउँपालिका ४, नौथर शेरा नजिकै केन्द्रबिन्दु भएर मंगलबार बिहान पराकम्प गएको छ । बिहान ९ बजेर ५३ मिनेट जाँदा ४ दशमलव ५ म्याग्निच्युटको पराकम्प भएको केन्द्रले आफ्नो वेभसाइटमा राखेको छ ।

केन्द्रले आफ्नो वेभसाइटमा राखेको गुगल म्याप डाटा अनुसार नौथरदेखि पाचोक जाने बाटो जितौरे नजिकै किसेदीखोला आसपास केन्द्रबिन्दु देखाएको छ । नौथर शेराका गमबहादुर गुरुङका अनुसार बिहान भूकम्पको धक्का महसुस भएपछि मानिसहरु बाहिर निस्किएका थिए । उक्त क्षेत्रमा कुनै पनि मानवीय तथा भौतिक क्षति भने नभएको उनले बताए ।

लमजुङकासँगै मनाङ, गोरखा, कास्की लगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् ।

प्रकाशित : भाद्र ३१, २०७६ ११:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×