कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चितवन मेडिकल २० दिनदेखि ठप्प

अदालत देखाएर उम्किन खोज्दै गण्डकी

चितवन/पोखरा — सरकारले तोकेभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थी आन्दोलित हुँदा चितवन मेडिकल कलेजमा २० दिनदेखि पठनपाठन ठप्प छ । भदौ १० देखि प्रदर्शनमा उत्रिँदै आएका उनीहरूले १८ गते कलेजमा तालाबन्दी गरे । प्रशासनले भदौ २५ मा १५ विद्यार्थीलाई पक्राउ गरेर साँझ छाडिदिएयता दिन बिराएर प्रदर्शन हुने गरेको छ ।

चितवन मेडिकल २० दिनदेखि ठप्प

कलेजले तोकिएभन्दा ५ लाखदेखि २० लाख रुपैयाँसम्म बढी लिएको विद्यार्थीले जनाएका छन् । उक्त रकम एक महिनाभित्र फिर्ता दिनुपर्ने उनीहरूको माग छ ।


‘एमबीबीएस पढ्न ०७२ सालमा भर्ना हुनेले पाँच लाख, ०७३ सालमा भर्ना हुनेले २० लाख र ०७५ सालमा भर्ना हुनेले १२ लाख रुपैयाँसम्म बढी तिरेको अवस्था छ । त्यो फिर्ता हुनुपर्छ भन्ने हाम्रो माग हो,’ चिकित्सा शिक्षा संघर्ष अभियानका संयोजक प्रकाश चन्दले भने । आफू प्रतिबन्धित चन्द समूहका नेता नेत्रविक्रम चन्दका छोरा भएकाले विद्यार्थीको आन्दोलन प्रतिबन्धित पार्टीको योजनामा चलेको भनी अफवाह फैलाइएको उनले बताए ।


यसअघि यही विषयमा आन्दोलन भएपछि २०७३ वैशाख ८ गते कलेज प्रशासनसँग १९ बुँदे सहमति भएको थियो । कलेज सञ्चालकहरूले त्यो बेला चिकित्सा शिक्षा आयोग बनेर उसले भनेको खण्डमा बढी भएको शुल्क फिर्ता गर्ने सहमति गरेका थिए । कलेज प्रशासनले भने विद्यार्थीबाट तोकिएको भन्दा ६ लाख रुपैयाँसम्म मात्र बढी लिएको दाबी गरेको छ ।


सरकारले तोकेको शुल्क शिक्षणका लागि मात्रै भएका कारण अरू आवश्यक खर्चका लागि ६ लाख रुपैयाँ लिएको सञ्चालक डा. हरिश न्यौपानेले बताए । ‘शिक्षणभन्दा अरू के–के शुल्क कति लिने भनी हामीले पत्रपत्रिकामा सार्वजनिक सूचना निकालेरै जानकारी दिएका थियौं,’ उनले भने ।


शुल्क फिर्ता गर्न आनाकानी

पोखरा– आफ्ना अध्यक्ष तथा कर्मचारीमाथि कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै पोखराको गण्डकी मेडिकल कलेजले विद्यार्थीको शुल्क फिर्ता गर्न इन्कार गरेको छ ।


कलेजले असुलेको तोकिएभन्दा बढी शुल्क फिर्ता नगरेको भन्दै विद्यार्थी शुक्रबारदेखि पुनः आन्दोलनमा उत्रिएपछि कलेजल अदालतलाई देखाएर पन्छिन खोजेको हो । कलेजले आइतबार विज्ञप्ति प्रकाशित गरी त्रिभुवन विश्वविद्यालयको अनुगमन निर्देशनालयको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदा जनाउँदै अध्यक्ष र कर्मचारीमाथि मुद्दा लगाइएको बताएको छ ।


५६ विद्यार्थीले कलेजका अध्यक्ष खुमा अर्याल र १० कर्मचारीविरुद्ध ठगी मुद्दा दर्ता गराएकामा उनीहरू हाल धरौटीमा छुटेका छन् । विद्यार्थीले पाउनुपर्ने बिल, भौचर कलेजले उपलब्ध गराएको छैन । उपभोक्ता ऐन र सूचनाको हकअनुसार पनि बिल, भौचर पाउनुपर्ने विद्यार्थीको माग छ । आन्दोलनरत विद्यार्थीले आइतबार विज्ञप्ति प्रकाशित गरी ५६ विद्यार्थीबाहेक अन्यको रकम फिर्ता गर्न आग्रह गरेका छन् ।


‘शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन आइसक्यो,’ एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी सुमितकुमार पटेलले भने, ‘अदालतमा चलेको मुद्दा ठगीको हो तर त्यसैलाई देखाएर शुल्क फिर्ता नगर्ने भन्न मिल्दैन ।’ उनका अनुसार झन्डै २ सय विद्यार्थीको १५ देखि २० करोड रुपैयाँ कलेजले फिर्ता गर्नुपर्छ । एमबीबीएस पढ्ने विद्यार्थीसँग कलेजले ६ देखि १३ लाख रुपैयाँसम्म बढी शुल्क उठाएको छ ।


तोकिएभन्दा बढी शुल्क लिएपछि २०७५ माघमा कलेजका विभिन्न संकायमा सन २०१५ देखि अध्ययनरत विद्यार्थीले ३ बुँदे माग राखेर ५४ दिन आन्दोलन गरेका थिए । आन्दोलन चलिरहेका बेला ओमप्रसाद बरालको संयोजकत्वमा पहिलो अवलोकन टोली गठन भएको थियो ।


उक्त टोली उपकुलपतिको अनुमति नलिई गैरकानुनी रूपमा गठन भएको विद्यार्थीको आरोप छ । विद्यार्थीले लेखनाथमा रहेको बीएस्सी भवनमा तालाबन्दी गरेपछि पढाइ ठप्प छ । अस्पतालको सेवा भने रोकिएको छैन ।

प्रकाशित : भाद्र ३१, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?