२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

काबुल आक्रमणमा मारिएका चन्द्रबहादुरको गरियो दाहसंस्कार

काशीराम डाँगी

रोल्पा — गत भदौ १७ गते अफगानिस्तानको काबुलमा मारिएका रोल्पाका चन्द्रबहादुर पुनमगरको शव गाउँमै ल्याएर पारिवारिक संस्कार अनुसार दाहसंस्कार गरिएको छ । काबुलबाट काठामाडौं हुँदै रोल्पाको लिवाङस्थित सानोलिवाङ गाउँमा ल्याइएको पुनको शव हर्न गाउँले भेला भएका थिए । आइतबार पुनको जन्म घरमै शुद्ध शान्ति समेत गरिएको हो ।  बाँकेको कोहलपुर–२, प्रेमनगरमा घर भएका ३५ वर्षीय चन्द्रबहादुर १३ वर्षअघि रोल्पाको लिबाङ–१, सल्लेबोटबाट बसाइँ सरेका थिए ।

काबुल आक्रमणमा मारिएका चन्द्रबहादुरको गरियो दाहसंस्कार

‘शव घरमा ल्याउन समय लाग्यो । घरबाहिर रहेका परिवारलाई पनि ल्याउनु पर्‍यो,' मृतक चन्द्रबहादुरका जेठान दिल पुनले भने, ‘उहाँ एक्लो छोरा हुनुहुन्थ्यो, परिवारलाई रुवाएर बित्नुभयो ।’ अघिल्लो वर्ष काबुलस्थित एक सुरक्षा कम्पनीमा कार्यरत ३५ वर्षका चन्द्र आतंककारी आक्रमणको प्रतिकार गर्ने क्रममा मारिएका थिए । दुबई र काबुल आवतजावत गर्दै आएका उनी काबुलमा अन्तिम दुई वर्ष बस्ने गरी घरबाट फेरि गएका थिए ।


त्यहाँस्थित क्यानेडेली सुरक्षा कम्पनी गार्दावर्ल्डमा कार्यरत उनी आतंककारी हमलाका बेला बिदामा बसेका भएपनि प्रतिकारमा लागेका थिए । ‘बिदामा बसेका बेला विस्फोटको आवाज सुनेर ज्वाईं अरुलाई जोगाउन जानु भएको रहेछ ।’ चन्द्रको शव घरसम्म ल्याउन दुबईबाट आइपुगेका उनका जेठान दिल भन्छन्, ‘प्रतिकार गरेर नेपाली लगायत थुप्रैको ज्यान जोगाउनु भयो । आफू चाहिँ मर्नुभयो ।’


सुरुमा दुबई र काबुल पुग्नुअघि नेपाली सेना, नेपाल प्रहरी, भारतीय सेना र बेलायती सेनामा आवद्ध हुन निकै प्रयास गरेका चन्द्रबहादुर मुलुकभित्र चाहे जस्तो काम नपाएपछि विदेश हानिएका थिए । चन्द्रले पछिल्लो पटक छोराछोरीको पढाईमा ध्यान दिन र परिवारलाई व्यवस्थित चासो दिएका दिए । बालखैमा आमा गुमाएका चन्द्रका घरमा ६८ वर्षका बुबा रबे, ३३ वर्षकी श्रीमती धनकुमारी, १७ वर्षका छोरा र ८ वर्षकी छोरी छन् । चद्रले आफू कमाई गर्न टाढा पुगेकाले सन्तान पढाउन र बुबाको ख्याल गर्न श्रीमतीसहित सबैलाई बाँकेको कोहलपुरमा डेरा लिई बसालेका थिए ।


चन्द्रका जेठान दिलले शव घरसम्म ल्याउन सरकारले सहयोग गरेको बताए । चन्द्र कार्यरत कम्पनी र नेपाल सरकारबाट सहयोग र बीमाको रकम उपलब्ध गराइदिन उनले सरकारसँग आग्रह गरे ।


लिवाङस्थित बाल कल्याण माध्यमिक विद्यालयमा अध्ययन गरेका मिलनसार र सहयोग स्वभावका चन्द्रबहादुरका ३ दिदी छन् । काबुलबाट काठमाडौंसम्म उनको शव नियमित विमानबाट ल्याइएको थियो भने काठमाडौंबाट नेपाल सरकार र उनी कार्यरत कम्पनीको सहयोगमा शव २४ भदौमा हेलिकप्टरबाट ल्याइपुर्‍याइएको थियो । आइतबार मगर संस्कार अनुसार उनको अन्तिम काजकिरिया गरिएको हो । उनको मृत्युले गाउँ शोकाकुल बनेको छ । स्थानीय विद्यालयका शिक्षक भूपबहादुर केसीले गाउँका अगुवा र ऊर्जाशील युवाको मृत्युको खबरबाट सबै दुःखी भएको बताए ।


चन्द्रबहादुरसँगै काबुल आक्रमणमा चितवनका कृष्ण थापाको समेत मृत्यु भएको थियो । थापाको शव पनि उनको घर ल्याइसकिएको छ । ती दुवै एकै कम्पनीमा साथै कार्यरत थिए ।

प्रकाशित : भाद्र ३०, २०७६ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?