दुई विधेयक विधायन व्यवस्थापन समितिमा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रियसभाको सोमबारको पहिलो बैठकले दुई विधेयकलाई दफाबार छलफलका लागि भन्दै विधायन व्यवस्थापन समितिमा पठाएको छ । बैठकले ‘सेफगार्ड्स, एण्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५’ तथा ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयक, २०७५’ लाई विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले उक्त दुई विधेयकलाई दफाबार छलफलका लागि सो समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकको सर्वसम्मतिले स्वीकृत गर्दै ती विधेयक सम्बन्धित समितिमा पठाइएको हो । बैठकमा राष्ट्रिसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘औद्योगिक व्यवसाय विधेयक, २०७५’ लाई टेबल गरेका थिए भने उनले नै ‘राहदानी विधेयक २०७५’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभालाई गराएका थिए ।

बैठकले ‘प्रशासकीय विधेयक २०७५’ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित सर्वसम्मतिले पुनःपारित गरिएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट भएको अदालतको विधेयकका सम्बन्धमा प्रतिनिधिसभाको संशोधन स्वीकार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
सदनको ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खिमलाल देवकोटाले लोकतन्त्र बलियो बनाउने आधार भनेको जनताको आवाज सरकारले सुन्ने भएकाले सरकारले जनताको आवाज सुन्दै विकास निर्माणका काम कारवाही अगाडि बढाइरहेको बताए । उनले सरकार लचिलो हुनुपर्ने ठाउँमा लचिलो भएर संसद्ले पनि सरकारलाई सही राजनीतिक दिशामा अगाडि बढ्न मार्ग निर्देशन गरिहेकाले वर्तमान सरकार आर्थिक प्रगतिका साथ विकास निर्माणका साथ अघि बढिरहेको बताए ।

सांसद प्रमिला कुमारीले एनसेलको विषयमा अर्बौं रुपैयाँ कर तिर्नबाट बचाएर अदालतले फैसला गर्दा जनतामा अदालतप्रति जनविश्वास घट्दै गएको बताइन् । उनले राजनीतिक भागबण्डाका कारण सो समस्या निम्तिएको भन्दै सभाध्यक्षमार्फत सदनको ध्यानाकर्षण गराइन् ।

प्रकाशित : भाद्र ३०, २०७६ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रियसभा बैठक : नियम निलम्बनको प्रस्ताव स्वीकृत

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रियसभाको सोमबारको दोस्रो बैठकले राष्ट्रिसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सांसद खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव प्रस्तुत गरेका थिए भने उक्त प्रस्तावलाई सांसदहरु प्रमिला कुमारी र कोमल ओलीले समर्थन गरेका थिए ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले ‘भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गरेका थिए । बैठकले औद्योगिक व्यवसाय विधेयकलाई स्वीकृत गरेको छ । बैठकमा उद्योगमन्त्री मातृका यादवका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त औद्योगिक व्यवसायी विधेयक, २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री डा खतिवडाले जवाफ दिएपछि बैठकको सर्वसम्मतिले उक्त प्रस्ताव स्वीकृत गरिएको थियो ।

राष्ट्रियसभाले ‘राहदानी विधेयक २०७५’ पुनः विचारका लागि विधायक व्यवस्थापन समितिमा पठाएको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले सो विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५’ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकार गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३१ गते मंगलबार अपराह्न ३ बजे बस्नेछ ।

प्रकाशित : भाद्र ३०, २०७६ १३:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्