परिवर्तन विरोधीको प्रतिकार गर्न दाहालको आह्वान

रासस

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गरेका छन् । 

पार्टीका दिवंगत नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसका अवसरमासोमबारनेकपाको केन्द्रीय कार्यालय धुम्रबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले भने, 'समृद्धि र विकासको प्रक्रियाबाट समाजवादको आधार तय गर्ने प्रक्रियामा हामी छौँ, एकीकृत पार्टीले पनि त्यही भनेको छ, तर यो काम कम चुनौतीपूर्ण छैन । चारैतिरबाट पूँजीवादी र साम्राज्यवादीले घेरेका छन् । व्यक्तिवादी र आत्मकेन्द्रित प्रवृत्ति पनि हामीमा छ । तर सात दशक लामो सङ्घर्षबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई कलिलोमा नै मार्न सकिन्छ कि भनेर कसैले भ्रम नपाले हुन्छ ।'

उनले अराजकता मच्चाउनेहरुमा छटपटी देखिए पनि परिवर्तनलाई रक्षा गर्दै समाजवादोन्मुख यात्रामा अघि बढ्ने संकल्प गर्न आवश्यक भएको बताउँदै अराजकतावादीविरुद्ध सजग रही प्रतिकार गर्न आग्रह गरे । दाहालले भने, 'हत्केलाले सूर्य छेक्न खोज्न सम्भव छैन । त्यो दुस्साहस मात्र हुनेछ । जनताको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै पार्टीलाई आम जनताको भरोसा जित्न सक्ने आस्थाको केन्द्र बनाउने अभियानमा अनुशासित र जिम्मेवाररूपमा लागौँ ।'

अध्यक्ष दाहालले नेता बोगटीलाई आफूहरुले जहाँ–जहाँ अप्ठ्यारो र कठिनाइ हुन्थ्यो, त्यहाँ–त्यहाँ खटाउने गरिएको र उनले मूल नेतृत्व र नीतिलाई सधैँ सहयोग गरेकाे स्मरण गरे ।

नेकपाकावरिष्ठ नेता झलनाथ खनालले नेता बोगटी अरु पार्टीसँग पनि सुमधुर सम्बन्ध बनाउन सक्ने त्यागी र निष्ठावान नेता भएको र उनको व्यक्तित्वलाई स्मरण गरेर आफूलाई सही मार्गमा अगाडि बढाउनु आजको कार्यभार भएको बताए।

तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री बोगटी नुवाकोटका पूर्व सांसद् थिए। उनको २०७१ साल भदौ ३० गते निधन भएको थियो । कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, नेता अमीक शेरचनलगायतले बेगटीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

प्रकाशित : भाद्र ३०, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्

सुरक्षा बैठक– ‘प्रदेशको सुरक्षा सन्तोषजनक’

कान्तिपुर संवाददाता

विराटनगर — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको सुरक्षा अवस्था सन्तोषजनक रहेको बताएका छन् । विराटनगरमा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा राईले सुधारका सम्भावना रहे पनि समग्रमा स्थिति सकारात्मक देखिएको बताएका हुन् । 

विराटनगरमा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीका क्रममा १४ वटै जिल्ला सुरक्षा समितिका प्रमुखहरूले जिल्लाको सुरक्षा अवस्थाबारे प्रतिवेदन पेस गरेका थिए । ‘जिल्लाहरूको सुरक्षा अवस्थाको प्रस्तुति हेर्दा प्रदेशको शान्ति सुरक्षाको अवस्था सन्तोषजनक नै रहेको देखियो,’ मुख्यमन्त्री राईले भने, ‘यद्यपि सुधार गर्नुपर्ने र सुरक्षा व्यवस्थालाई प्रभावकारी र अझ मजबुत बनाउनु पर्ने थुप्रै ठाउँहरू छन् ।’

सुखी र समुन्नत प्रदेशको लक्ष्य प्राप्तिका लागि प्रदेश सरकारले तय गरेका कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधारको विकास लगायतका लक्ष्य प्राप्ति गर्न सर्वप्रथम शान्ति सुरक्षा नै हुन जरुरी हुने भएकाले प्रदेश सरकार यसतर्फ गम्भीर रहेको उनले बताए ।
‘पहिलोपटक संघीय प्रणाली अपनाएर हिंडिरहेका छौं । धेरै कानुहरू बनाउँन बाँकी नै छ,’ उनले भने, ‘प्राविधिक हिसाबले कानुन बन्न बाँकी रहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी र अन्य सुरक्षा निकाय संघीय सरकार मातहतमा छन् । यसको अर्थ प्रजिअलगायत सुरक्षा निकायका अधिकारी संघीय सरकारको प्रतिनिधि मात्र हो, हामी संघ अन्तर्गत मात्रै छौं भन्ने बुझ्नु हुँदैन ।’

संघीय सरकारको गृह मन्त्रालय र प्रदेश एक आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न दुई दिने सुरक्षा गोष्ठीमा समग्र शान्ति सुरक्षाको अवस्था, सुरक्षा चुनौतीका तत्त्व, विप्लव समूहका गतिविधि र नियन्त्रणमा भएका प्रयास, सीमा क्षेत्रमा हुने अपराध र नियन्त्रणका लागि अपनाउनु पर्ने उपाय लगायतमा छलफल भएको थियो ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा सुरक्षा सल्लाहाकार इन्द्रजित राईले समेत गोष्ठीमा प्रस्तुति गरेका थिए ।

प्रकाशित : भाद्र ३०, २०७६ १०:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्