कुहिरोले उडान प्रभावित हुँदा लुक्लामा सयाैं पर्यटक अलपत्र 

रासस

सोलुखुम्बु — मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा तीन दिनदेखि सयाैं विदेशी पर्यटक अलपत्र परेका छन् । शुक्रबारदेखि लुक्लामा उडान प्रभावित बनेकाे हो ।

फाइल तस्बिर

खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौँ फर्कने करीब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिए। उनका अनुसार शुक्रबारदेखि मौसम प्रतिकूल हुँदा पर्यटक अलपत्र परेका हुन् । शुक्रबार २० वटा उडान तालिका भए पनि कुनै उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

त्यस्तै शनिबार २५ वटा उडान तालिकामध्ये पाँच वटामात्रै उडान भएको थियो भने आइतबारका लागि ३० वटा उडान तालिका भए पनि एउटै उडान हुन नसकेको प्राधिकरण प्रमुख अधिकारीले बताए। आइतबारका लागि तारा एयरको १५ सीताको १० र समिटकोे पाँच गरी ३० वटा उडान तालिका रहेको थियो । बाक्लो हुस्सुका कारण हेलिकप्टरले समेत उडान भर्न नसकेपछि थप समस्या भएको छ ।
निश्चित समय तालिका मिलाएर आएका पर्यटक बढी मारमा परेका छन् । सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकले सबैभन्दा बढी हवाईसेवा प्रयोग गर्छन् । खुम्बु क्षेत्रसम्म सडक पहुँच नपुगेका कारण पनि यात्रुका लागि हवाइजहाजको विकल्प कम हुन्छ । एक दिनको पैदलयात्रा पछि मात्र सडक मार्ग प्रयोग गर्न सकिने भए पनि बर्खाको समयमा करीब दुई दिनको पैदल हिँड्नु पर्नेहुन्छ ।
विमानस्थलमा हवाइजहाज नभए पनि हेलिकप्टर प्रयोग गर्न सकिने भए पनि बाक्लो हुस्सुका कारण थप समस्या भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।नेपाल भ्रमणमा आउने पर्यटकको एक प्रमुख गन्तव्य सगरमाथा क्षेत्र पर्छ ।

त्यसैले यो मौसममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तेञ्जिङ हिलारी विमानस्थल लुक्ला आउने पर्यटकको चाप अत्यधिक हुन्छ ।सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा यो बेला मौसम अनुकूल हुँदा दैनिक ३०० भन्दा बढीसम्म पर्यटक आउने गर्छन् ।

प्रकाशित : भाद्र ३०, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्

जागिर छोडेको २० वर्षपछि समायोजन

कान्तिपुर संवाददाता

रामेछाप — पदबाट राजीनामा दिएको २० वर्षपछि रामेछापका एक स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रालयले समायोजन गरेको छ । 

हेल्थ असिस्टेन्ट पदबाट राजीनामा दिएर रामेछापकै मन्थलीमा रहेको तामाकोसी अस्पतालमा विगत २० वर्षदेखि कार्यरत रहँदै आएका सुमन कर्माचार्यलाई मन्त्रालयले समायोजनमा हालेको हो । जिल्लामा समायोजन हुने स्वास्थ्यकर्मीहरूको सूचीमा एक नम्बरमा रहेका साँघुटार स्वास्थ्य चौकीको दरबन्दीमा रहेका कर्माचार्यलाई हाल मन्थली नगरपालिकामा समायोजन गरी सोको पत्र दिन मन्त्रालयले भदौ १७ मा स्वास्थ्य कार्यालय रामेछापलाई पत्र काटेको हो ।

हेल्थ असिस्टेन्ट पदमा कार्यरत रहेका बेला साबिकको मन्थली स्वास्थ्य चौकीमा सरुवा मागेका कर्माचार्यलाई उदयपुरको कटारी खटाएपछि उनले ०५७ मा पदबाट राजीनामा दिएका थिए । राजीनामा स्वीकृत भए/नभएको उनलाई जानकारीमा छैन । ‘मैले राजीनामा बुझाएँ, हिँडें,’ कर्माचार्यले भने, ‘स्वीकृत गर्ने र रेकर्ड राख्ने काम सरकारको हो, सेवामा रहेका बेलाको पाउने सुविधासमेत उनले बुझेका छैनन् ।’

अहिले समायोजन गरेको सुनेपछि भने उनी सरसल्लाहमा जुटेको बताए । उनले भने, ‘म सल्लाह गरिरहेको छु, अब फेरि राजीनामा बुझाउनुपर्ला ।’ राजीनामा स्वीकृत गरेपछि प्राप्त हुने सुविधाबाट उनले आफ्नो गाउँमा स्वास्थ्य भवन निर्माणको काम गर्ने योजना सुनाए । ‘यो घटनाले देशको रेकर्ड प्रणालीकस्तो छ भन्ने कुराको चित्रण गर्छ,’ कर्माचार्यले भने ।

लामो समयसम्म सेवामा नरहेका कर्माचार्यलाई मात्र हैन, साबिक राकाथुम स्वास्थ्यचौकीमा दरबन्दी रहेका सन्तोषकुमार उपरझियाको समेत समायोजन गरिएको छ । उनी रामेछापमा भएको कसैलाई जानकारी छैन ।

स्वास्थ्य कार्यालय स्रोतका अनुसार उनी विदेशतिर छन् ।बुझाएको राजीनामा स्वीकृत गरी निजामती किताबखानामा जानकारी नदिएको कारण यस्तो त्रुटि भएको हुन सक्ने अनुमान स्वास्थ्य कार्यालयको छ । कर्माचार्यको दरबन्दी भएको स्थान मन्थली नगरपालिकामा १ जना जनशक्ति कम हुने भएकाले तत्काल दरबन्दीमा थप जनशक्ति माग गर्ने तयारीमा उक्त कार्यालय जुटेको छ ।

प्रकाशित : भाद्र ३०, २०७६ ०९:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्