२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

‘बाल दिवस थाहा छैन’

विद्या राई

काठमाडौँ — आइतबार बिहान सवा ९ बजे । बिहानैदेखिको झरी भर्खरै थामिएको थियो । नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को टहरोको एक छेउमा बलेसीको पानी निख्रिँदै थियो । 

‘बाल दिवस थाहा छैन’

भुइँमा छानाले ढाक्ने गरी हरियो रङको कार्पेट बिछ्याइएको भए पनि पानीले आधाजसो भिजेको थियो । भिजेको कार्पेटमाथि चार जोर टेबल–कुर्सी राखिएको छ, जहाँ स–साना नानीबाबु चिच्याउँदै, खेल्दै, कराउँदै दिनचर्या सुरु गरिरहेका थिए ।

त्यही भीडमा थिइन्– ४ वर्षीया आकांक्षा । चुलबुले स्वभावकी । नीलो टिसर्ट र सेतो हाफपाइन्टले जसोतसो जीउ ढाकेको थियो । खुट्टा खाली थिए । साथीभाइसँग खेल्दै, दौडँदै गर्दा घरिघरि चिसो भुइँमा पछारिन्थिन् । नाकका दुवै प्वालबाट पातलो सिँगान बगिरहेको थियो ।

अर्का ३ वर्षे बालक बलेसीमा फ्याँकिएको फोहोर प्लास्टिक टिपेर निख्रिँदै गरेको पानी थाप्न हत्ते गर्दै थिए । उनका केही साथी हातैमा पानी थाप्ने होडमा थिए । वरपर ३ जना आमा त थिए तर तिनलाई केटाकेटी सम्हाल्न हम्मे परिरहेको देखिन्थ्यो ।

‘सुनिश्चित बाल अधिकार ः समृद्ध नेपालको आधार’ मूल नाराका साथ आइतबार देशभर बाल दिवस मनाइरहँदा बाल संगठनमै आ िश्रत बालबच्चा भने दिवसबाट ‘बेखबर’ देखिन्थे । बालगृहमा हुर्कंदै गरेका ५/६ वर्षमाथिका केटाकेटीलाई मात्रै दिवस मनाउन व्यवस्था गरिएको थियो । उनीहरूलाई बिहान ८ बजे बस चढाएर सिफलको बालगृह पुर्‍याइएको थियो ।

सिफलमा पुर्‍याइएका केटाकेटीले नाचगान गर्दै, खेल्दै, रमाउँदै बाल दिवस मनाए । टहरोमुनि चिसो भुइँमा छोडिएका केटाकेटी भने सधैंझैं रमाइरहे ।

कपिलवस्तु, सर्लाही र म्यादी गरी ९ जिल्लामा १० वटा बालगृह सञ्चालनमा छन् । बालमन्दिरको देशैभरि अर्थात् साविकका ७५ वटै जिल्लामा प्रशस्त सम्पत्ति र जग्गा भए पनि अहिले केन्द्रीय बालगृहकै केटाकेटी टहरोमा छन् । बालमन्दिरको भवन भूकम्पले भत्किएपछि बालगृह साँघुरो ठाउँमा राखिएको छ । रेट्रोफिटिङ गर्ने भनिएको पुरानो भवन संरक्षण अभावले झनै जीर्ण बनेको छ । भित्ता र पर्खालमा झार पलाएर हरियै छ । कम्पाउन्ड घाँसले ढाकिएको छ । बालगृह जाने कच्ची बाटो पानी परेका बेला हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुन्छ ।

संरक्षणविहीन बालबालिकालाई स्वयंसेवक आमाहरूले स्तनपान गराउने गर्थे । बच्चा स्याहारमा जुटेकी एक आमा भन्छिन्, ‘दिनमा ५/६ आमाहरू आएर स्तनपान गराउँथे, नानीहरूले दूध खान पाउँथे, निकै सजिलो भको थियो, अचेल ल्याक्टोजिन मात्रै खुवाउने गरेका छौं ।’

प्रकाशित : भाद्र ३०, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?