संघमा निजामती दरबन्दी कटौती हुँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले संघीय निजामती कर्मचारीको दरबन्दी कटौती हुने गरी ‘संगठन व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने भएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन भएपछि पहिलोपटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज तेस्रो साताभित्र ओएनएम गरी संघीय निजामती कर्मचारीको दरबन्दी कटौतीको गृहकार्य थालेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत अधिकृतदेखि सहसचिवस्तरका कर्मचारी ओएनएम गर्न अन्य मन्त्रालयमा ‘समन्वय अधकारी’ का रूपमा खटिएका छन् ।

ओएनएमका लागि संघीय मामिला मन्त्रालयले एक साताअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ वटै मन्त्रालयमा परिपत्र गरिसकेको छ । परिपत्रसँगै संघीयले ओएनएमका लागि सम्पर्क अधिकृतलाई पनि साथमै खटाएको छ ।

ओएनएमका लागि मन्त्रालयले सहसचिव बाबुराम अधिकारीको संयोजकत्वमा कार्यदल नै बनाएको छ । राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, संवैधानिक निकाय तथा आयोगलगायतमा पनि कुन तहका कति कर्मचारी राख्ने भन्नेमा समेत पछिल्लो एक सातायता कार्यदलले अध्ययन गरिरहेको छ ।

पुरानो ओएनएमअनुसार संघीय सरकारमातहत ४८ हजार ४ सय ९ कर्मचारीको दरबन्दी छ । नयाँ ओएनएमपछि संघमा रहने कर्मचारीको संख्या ३० हजारको हाराहारीमा राख्ने गरी तयारी भइरहेको संघीय मामिला मन्त्रालयका एक अधिकारीले बताए ।

उनका अनुसार अर्थ मन्त्रालयले कर्मचारीको दरबन्दी घटाएर कायम रहेकालाई समयसापेक्ष सेवासुविधा निर्धार्रण गर्नुपर्ने सुझाव दिएको छ । ‘संघीय निजामती कर्मचारीको दरबन्दीलाई घटाएर ३० देखि ३५ हजारसम्म राख्ने तयारी छ, यसलाई हामीले दरबन्दी कटौती होइन, ‘राइट साइजिङ’ भनेका छौं,’ उनले भने, ‘त्यसैअनुसार संघीय सरकारअन्तर्गतका निकायमा दरबन्दी कायम गरिनेछ ।’

पछिल्लो तथ्यांकअनुसार संघ, प्रदेश र सथानीय तहमा निजामती कर्मचारीअन्तर्गत कार्यालय सहयोगी र त्यसमाथि १ लाख ३७ हजार ५ सय ७४ दरबन्दी छ । २०७५ चैतमा संघमा ४८ हजार ४ सय ९ कर्मचारी दरबन्दी राखेर ७ प्रदेशमा २२ हजार २ सय ५७ र ७ सय ५३, स्थानीय तहमा ६६ हजार ९ सय ८ कर्मचारी दरबन्दी कायम गरिएको थियो ।

त्यसमध्ये संघमा ३९ हजार ९ सय ६०, प्रदेशमा १३ हजार ८ सय २१ र स्थानीय तहमा ५१ हजार ४ सय ५७ को समायोजन भइसकेको छ । करिब ९ हजार कर्मचारी लोकसेवाको भर्ना प्रक्रियामा छन् ।

प्रकाशित : भाद्र ३०, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्

जसले चिनाए नेपाली फुटबल

हिमेशरत्न वज्राचार्य

काठमाडौँ — सन् ८० को दशकसम्म नेपाली फुटबल टिमलाई देश बाहिर खेल्दा के कस्तो हुन्छ भन्ने पटक्कै थाहा थिएन । ‘कुवामा भ्यागुतो’ जस्तो अवस्थाको नेपाली फुटबललाई आधुनिकतातर्फ डोर्‍याउने श्रेय जान्छ, जर्मन प्रशिक्षक रुडी गुटनडर्फलाई । 

आधुनिक नेपाली फुटबलका पिता यिनै गुटनडर्फको आइतबार ९३ वर्षको उमेरमा निधन भयो । नेपाली फुटबल जगत्ले उनको गुन कहिले बिर्सन सक्ने छैन ।

सन् १९८२ मा भारतको नयाँदिल्लीले एसियाली खेलकुदको आयोजना गरेको थियो । त्यो नै नेपाल सहभागी पहिलो औपचारिक प्रतियोगिता हो । त्यसैका लागि भित्रिए गुटनडर्फ पनि । यसअघि नेपाली खेलाडीले त्यसरी नै फुटबल खेलेका थिए, जसरी उनीहरूले जानेका थिए र त्यो फुटबल पनि थिएन । जतिबेला उनी पहिलोपल्ट नेपाल आए र नेपालका कुनै पनि खेलाडीले थाहा नपाउने गरेर खेल हेरे ।

उनको प्रतिक्रिया थियो, ‘नेपालीलाई फुटबल नै खेल्न आउँदैन रहेछ ।’ ‘आधुनिक फुटबल कसरी खेलिन्छ भन्ने हामीले गुटनडर्फबाटै सिक्यौं । हामीले पहिलोपल्ट उहाँकै मुखबाट सुनेका थियौं, ओभरल्याप,’ त्यो समयका नाम कहलिएका खेलाडी धीरेन्द्र प्रधान भन्छन्, ‘त्यो अगाडिसम्म डिफेन्डरको काम पेनाल्टी एरियाकै वरिपरि मात्र रहनु हुन्थ्यो ।’

त्यही ओभरल्यापअन्तर्गत डिफेन्सको मानबहादुर मल्ल अगाडि बढ्थे र आक्रमण बुन्थे । पास मिलाउने काम गर्थे, उनै धीरेन्द्र प्रधान । ‘त्यही बेला बुझ्यौं, हामीलाई त वास्तवमै फुटबल खेल्न आउँदैन थियो,’ उनी सम्झन्छन् ।

निकै कडा स्वभावका थिए, गुटनडर्फ । सबैभन्दा पहिले उनले नेपाली खेलाडीलाई कडाभन्दा कडा अनुशासनमा ल्याए । अनि टिमलाई कायापलट गरे । डिफेन्डरको काम के हो, मिडफिल्डमाके हुनुपर्छ अनि फरवार्डले कसरी खेल्नुपर्छ, सबै उनैले पहिलोपल्ट नेपाली खेलाडीलाई सिकाए ।

अझै पनि उनीबारे कुराकानी गर्नुपर्छ, त्यो समयका खेलाडी खुबै मख्ख पर्छन् । संयोगले त्यो नै नेपाली फुटबलका स्वर्णिम पुस्ता थियो र अहिलेसम्म पनि त्यति बेलाका खेलाडीको नाम अधिकांश फुटबलप्रेमीको मनमा छ ।

जस्तो, एसियाली खेलकुदमा नेपालले सन् १९८२ को नोभेम्बर २० तारिखको दिन कुवेतको सामना गरेको थियो । त्यो नै नेपालको पहिलो औपचारिक अन्तर्राष्ट्रिय खेल थियो । विश्वकप खेलेर मात्रै कुवेत भारतमा ओर्लेको थियो ।

यही टिमविरुद्ध नेपालले गज्जब खेल्यो, भलै नेपाल ३–१ ले पराजित रह्यो । त्यसपछि नेपालले त्यही प्रतियोगितामा इराक र बर्माविरुद्ध पनि खेल्यो । कप्तान रूपकराज शर्मादेखि गणेश थापा, श्रीराम रञ्जितकार, भक्तराज राजकर्णिकार, सुरेश पन्थी र कृष्ण थापा उनकै चेला थिए अनि मानबहादुर मल्ल र धीरेन्द्र प्रधान पनि ।

उनी अब्बल दर्जाका रणनीतिकार पनि थिए, त्यसैले त अहिलेसम्म पनि त्यो पुस्ताले खेलेको फुटबललाई सम्झिने गरिन्छ । अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष थापा जति–जतिबेला जर्मनी पुगेका छन्, उनले त्यहाँ तिनै गुटनडर्फको नाम कोट्याउने गर्छन् र सबै अवसरमा जर्मन फुटबलसँग सम्बन्धित सबैको एउटै प्रतिक्रिया हुने गर्छ, ‘ओहो, यी गुटनडर्फ त साह्रै कडा मिजासका छन् ।’

जर्मन फुटबलमा उनको नाम खुबै सम्मानले लिने गरिन्थ्यो । भन्ने गरिन्छ, उनले जत्तिको जर्मन फुटबल शैली अरू कसैले पनि बाहिर पस्केनन् । उनी जर्मन फुटबलका सबैभन्दा प्रखर राजदूत थिए ।

आखिरमा यी गुटनडर्फको नाममा विश्व कीर्तिमान नै छ, पाँच महादेशका ३२ देशका ५५ टिमलाई प्रशिक्षण दिएको । फुटबल प्रशिक्षणकै निहुँमै उनी संसार घुमे । सन् १९५५ देखि उनले प्रशिक्षकको खेल जीवन सुरु गरेर सन् २००३ सम्म कायम राखे । उनी आधा शताब्दी लगातार प्रशिक्षकको भूमिकामा रहे ।

जर्मनको घरेलु फुटबलमा माथिल्लो डिभिजनका क्लबदेखि अस्ट्रेलिया र चीनको राष्ट्रिय टिम पनि उनले सम्हाले । सन् १९५० मा उनको पहिलो क्लब थियो, स्वीस ब्लु स्टार अनि सन् २००३ मा अन्तिमपटक समाओको जिम्मेवारी उठाए । यति धेरै टिम सम्हालेपछि त उनीबारे धेरैभन्दा धेरै किस्सा तयार हुने नै भए ।

उनी एक प्रकारले विश्व आधुनिक फुटबलको दन्त्य कथाका पात्र जस्तै थिए । उनी नेपालको प्रसंग पनि खुबै मीठो मानेर सुनाउने गर्थे । यति धेरै टिमलाई प्रशिक्षण दिए पनि उनको मनमा नेपाल विशेष थियो । सन् १९८२ को एसियाली खेलकुदपछि उनी स्वदेश फर्के ।

लगत्तै नेपालले अर्का जर्मन प्रशिक्षक जोन फिगीको नेतृत्वमा काठमाडौंमै भएको पहिलो दक्षिण एसियाली खेलकुदमा सहभागिता जनायो र फुटबलमा स्वर्ण पदक जित्यो । त्यस पछाडि अप्रत्यक्ष कुनै न कुनै रूपमा गुटनडर्फको पनि योगदान थियो । सन् १९८६ मा उनी नेपाल आए र टिमले सन् १९८६ को एसिया कप छनोट खेल्यो ।

यसरी गुटनडर्फले दुई अवसरमा नेपाली टिम सम्हाले । यतिबेला भने टिमका कप्तान थिए, गणेश थापा । उक्त प्रतियोगितामा भने नेपालको प्रदर्शन निकै खराब रह्यो । उनी आफैं पनि यी नतिजाबाट स्तब्ध रहे । त्यो वर्षको एसियाली खेलकुद दक्षिण कोरियाली राजधानी सोलले आयोजना गरेको थियो ।

फुटबलका खेल देजोन सहरमा भएका थिए । नेपालको समूहमा थिए, इरान, जापान, कुवेत र बंगलादेश । नेपाल सबै चारै खेलमा पराजित रह्यो, त्यो पनि ठूलो अन्तरले । जस्तो, नेपाल जापानसँग ६–० ले पराजित रह्यो भने इरान र कुवेतसँग समान ५–० ले । नेपालको अन्तिम खेल बंगलादेशविरुद्ध थियो र त्यो पनि नेपालले १–० ले गुमायो ।

वाईबी घलेले पनि प्रायः भन्ने गर्छन्, त्यो नतिजापछि उनी साह्रै चिन्तित भए । खुबै नमज्जा माने । पछि उनले सबै नेपाली खेलाडीलाई भेला गरेर भनेका रहेछन्, ‘म वास्तवमै यति धेरै गोल खाने टिमको प्रशिक्षक होइन, तिमीहरूले मलाई निराश पार्‍यौ ।’

प्रकाशित : भाद्र ३०, २०७६ ०७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्